घिरिङमा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता (घिरिङ)

तनहुँको घिरिङ गाउँपालिकामा चौथो घिरिङ अध्यक्ष कप भलिवल प्रतियोगिता आज आइतबारबाट सञ्चालन गरिने भएको छ । घिरिङ गाउँपालिकामा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति समृद्व घिरिङका लागि स्वास्थ जनशक्ति’ भने नाराका साथ खेलको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाको खेलकुद बिकास समितिले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका भित्रका दश वटा टिम पुरूष, दस टिम महिला सहभागि हुनेछन् भने एउटा वार्डबाट दुइ टिम मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार रुपैया, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ । यस्तै प्रतियोगितामा विधागत पुरस्कार समेत व्यवस्था गरिएको छ । बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, वेस्ट डिफेन्स, अनुशासित खेलाडीलाई सम्मान गरिने भएको छ । खेलकुद प्रतियोगितासंगै रसि तनाइ तथा छेलो हाने प्रतियोगिता समेत सञ्चालन गरिने भएको छ ।