भानुश्री, जरनल अफ आदिकवि र शैक्षिक क्यालेन्डर सार्वजनिक
भञ्ज्याङ समाचारदाता (दमौली)

आदिकवि भानुभक्त क्याम्पसद्वारा प्रकाशित भानुश्री वार्षिक प्रतिवेदन २०७७, जरनल अफ आदिकवि र शैक्षिक क्यालेन्डर बुधबार सार्वजनिक गरिएको छ । पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष एवं जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले उक्त प्रकाशनहरुको विमोचन गरेका हुन् ।
सार्वजनिक समारोहमा अध्यक्ष सञ्जेलले आगामी चैत्र २७ गते शनिबारको दिन आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको नेपाल पब्लिक क्याम्पस संघको राष्ट्रिय परिषद बैठक सफल बनाउन तनहुँ र यसको छिमेकी जिल्ला एवं गण्डकी प्रदेशका सामुदायिक क्याम्पसहरुका तर्फबाट यथासक्य योगदान हुने विश्वास ब्याक्त गरे ।
उक्त अवसरमा बोल्दै व्यास नगरपालिकाका प्रमुख एवं संघका पूर्व केन्द्रीय अध्यक्ष वैकुण्ठ न्यौपानेले क्याम्पसले नियमित रुपमा प्रकाशन गर्दै आएको क्याम्पसको प्रकाशनले जवाफदेहिता सिर्जनशिलता र योजनाबद्ध कार्यकलाप झल्कने बताए ।
क्याम्पसको शोध तथा अनुसन्धान समितिका संयोजक जनक काफ्लेको आयोजित कार्यक्रममा मिस तनहुँ प्रतियोगितामा प्रथम सुमिना गुरुङ्ग र द्वितीय सन्ध्या धिताललाई क्याम्पसका तर्फबाट प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख न्यौपानेले क्याम्पस को जीवन सेवा अभियानबाट क्याम्पसमा शिक्षाशास्त्र संकाय तर्फ स्नातक तह प्रथममा भर्ना भई अध्यन गर्न लागेकी विद्यार्थी विविजी मियालाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, स्वबियुका उपाध्यक्ष सुदर्शन पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










