समृद्धि र विकासमा सर्वसाधारणलाई जोड्दै ताल

वासुदेव पौडेल/गण्डकी

तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका-२६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र विकासमा वरदान साबित हुँदै गएका छन् । तालले यहाँको गरिमा र महत्वलाई विश्वसामु चिनाउन योगदान गरेको छ नै यसैका माध्यमबाट यहाँका स्थानीयवासी एकताबद्ध भई समृद्धि र विकासको अभियानमा पनि जुटेका छन् । पछिल्लो समयमा ताल आसपासका क्षेत्र खरानेफाँट र यसका जलाधार क्षेत्रका स्थानीयवासी, युवा तथा व्यवसायीको संयुक्त पहलमा वातावरण संरक्षणका साथै समृद्धि र विकासका पहल बढिरहेको छ।

यसै पहलस्वरुप २०७३ माघदेखि खास्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था स्थापना भई आसपासका ७४५ र्सवसाधारण यसमा आबद्ध भइसकेका छन् । मत्स्य पालनले बिस्तारै व्यावसायिक रूप ग्रहण गर्दै जाँदा वार्षिक करिब रु आठ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ । सहकारी मार्फ गरिएको मत्स्यपालनले तालको दिगो संरक्षणमा योगदान पुग्नाका साथै र्सवसाधारणमा सचेतना अभिवृद्धिसमेत गरेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार मासिक बचतसमेत हुने गरेको सहकारीमा वाषिर्क रु दुइ करोड बराबरको कारोबार हुने गरेको छ ।

वडाभित्रका तीनवटै तालका आ-आफ्नै विशिष्टता छन् । खास्टे ताल २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तालमा पानीले ढाकेको क्षेत्रफल २०० हेक्टर रहेको छ। एक दशमलव पाँचदेखि पाँच मिटर गहिराइ रहेको यो ताल रामसार क्षेत्रमा सूचीकरण भएसँगै यसको संरक्षणमा चासो बढेको देखिन्छ । सफा पानीको तालका रूपमा रहेको यहाँ विभिन्न प्रजातिका रैथाले चराका साथै हिउँदको समयमा आउने पाहुना चरा देख्न सकिन्छ । खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यहाँको अर्को न्युरेनी ताल जम्मा १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस तालको १० हेक्टर क्षेत्रफल पानीले ढाकेको छ भने यसको गहिराइ एक दशमलव चार मिटर छ ।

त्यस्तै गुन्द्री बुन्न प्रयोग हुने एक विशेष प्रकारको गुँद नामक वनस्पति धेरै पाइने भएकाले वडाभित्रको अर्को तालको नाम गुँदे ताल रहेको छ । चराको बासस्थानका लागि उपयुक्त मानिने यो ताल ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कूल २० हेक्टर क्षेत्रफल पानीले ढाकेको यस तालको गहिराइ एक दशमलव छ मिटर रहेको छ । रामसार सूचीमा सूचीकृत भएसँगै यसको संरक्षणमा थप चासो बढ्दै गएको देखिन्छ ।

पर्यटकीय रूपमा समेत महत्वपूर्ण यी तालहरूको संरक्षणका लागि २०६६ सालदेखि खास्टे तथा न्युरेनी ताल संरक्षण समिति र गुँदे ताल संरक्षण समिति गठन गरी कामहरू अघि बढाइएको छ। संरक्षणमा विभिन्न सामाजिक संघसंस्थाको आर्थिक तथा भावनात्मक सहयोगले यिनको संरक्षण र सौन्दर्यमा प्रगति हुँदै गएको छ । जैविक विवधताले सम्पन्न यी तालमा हिउँदमा साइबेरियादेखि दुर्लभ बसाइँ सर्ने प्रजातिका विभिन्न चरा आउने भएकाले चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

ताललाई जोडेर यहाँबाट कालिकालगायतका स्थानका लागि हाइकिङको मार्ग तय गर्नाका साथै यहाँस्थित तालबाराही मन्दिर समेतका आधारमा धार्मिक पर्यटन लगायतलाई पनि सँगसँगै अघि बढाउन सकिने उहाँले बताउनुभयो । यी तालहरूको प्रवर्द्धन र विकासलाई लक्षित गरी खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको आयोजनामा गत चैत १२ देखि २२ गतेसम्म सञ्चालित १० दिवसीय लेखनाथ खास्टेताल महोत्सव, २०७७ आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवर्द्धन गरेको भण्डारीले जानकारी दिनुभयो ।

खास्टे, न्युरेनी र गुँदे तालको पर्यटकीय चिनारीका लागि महोत्सव महत्वपूर्ण बनेको महोत्सव प्रचारप्रसार समितिका संयोजक भीमपाणि बरालले बताउनुभयो । कोरोना संक्रमणका कारण महोत्सव अपेक्षितरूपमा सफल नभए पनि यसको यहाँको पर्यटकीय चिनारीमा यसले विशेष भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । “तालले यहाँको प्राकृतिक सुन्दरता त बढाएका छन् नै, स्थानीयवासीको समृद्धि र विकासका लागि पनि उत्तिकै भूमिका खेलेको छन्”, बरालले भन्नुभयो, “दिगो संरक्षण र विकासको लक्ष्यका साथ अघि बढ्न सकेमा यहाँका स्थानीयवासीले यी तालबाट अधिकतम फाइदा लिन सक्ने देखिन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker