व्यासले अत्यावश्यक परिस्थितिमा नगरपालिकाकै सवारी सञ्चालन गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले कोभिड संकटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपालिकाका सवारी साधन परिचालन गर्ने भएको छ । कतिपय जिल्लामा कोभिडका बिरामीले एम्बुलेन्स लगायत सवारी साधन नपाएको विषय सार्वजनिक भइरहेको समयमा नगरपालिकाले यो निर्णय गरेको हो । नगर क्षेत्रमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई ख्याल गर्दै नगरपालिकाले हाल आवश्यक सेवाका लागि उद्योग वाणिज्य संघ दमौली बजार एकाइबाट नगरपालिकालाई हस्तान्तरण भएको एम्बुलेन्स सञ्चालन गरेको छ र अवस्था जटिल बन्दै गएको अत्यावश्यक परिस्थितिमा नगरपालिकाकै सवारी साधान सञ्चालन ल्याउने नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् ।

नगरपालिकाले आफ्नै एम्बुलेन्स खरीदका लागि यसअघि नै प्रक्रिया अगाडि बढाए पनि ढिलाइ भएको छ । नगरपालिकाले सिप्रदीसँग १२ लाख ९५ हजार रुपैयाँको सम्झौता गरी गत फागुन १३ गते रकम दाखिला गरिसकेको छ । चैत मसान्तसम्म एम्बुलेन्स हस्तान्तरण गर्ने भनिए पनि हालसम्म एम्बुलेन्स नआएको नगरप्रमुख न्यौपानेले बताएका छन् ।

नगरपालिकाको वडा नं. ९, १० र १४ मा थप एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढिरहेको न्यौपानेले बताए । अक्सिजनको अभाव रहेको, कोभिड-१९ का कारण जनप्रतिनिधिसमेत आम नागरिकको दिनानुदिन मृत्यु भइरहेको, अधिकांश अस्पताल बिरामीले भरिएका, उपचार अभावमा नागरिकले अकालमै ज्यान गुमाउनु परेकाले यो जोखिमपूर्ण अवस्थामा उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।

यस्तै, नगरपालिकाले हप्ताको दुइ दिन सोमबार र बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलनको व्यवस्था मिलाउँदै आएको छ । १५ जनाभन्दा बढी भएमा तत्कालै स्वाब संकलनको व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले सोमबार मात्रै स्वाब संकलन गर्ने गरे पनि संक्रमणको दर बढ्दै गएपछि हप्ताको दुइ दिन बनाएको थियो ।

हाल सो नगरपालिकामा ४९ सक्रिय संक्रमित छन् भने आठजना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितलाई बारम्बार सम्बन्धित वडाका लागि फोकल पर्सनका रूपमा जिम्मेवारी तोकिएका स्वास्थ्य सेवाका कर्मचारीले निग्रानी गर्ने व्यवस्था मिलाइने नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिए । जटिल प्रकृतिका बिरामीलाई निःशुल्क रूपमा अस्पतालसम्म लैजाने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ ।

नगरपालिकाले प्रत्येक वडाका लागि फोकल पर्सन तोकेको छ । वडाका सक्रिय संक्रमितको सुविधाका लागि नगरपालिकाले १४ वटै वडामा फोकल पर्सन तोकेको हो । वडा नं. १ मा उषा हड्खले, २ मा सुनिल अधिकारी, ३ मा रक्षा काफ्ले, ४ मा सरोज मिश्र, ५ मा उज्ज्वल न्यौपाने, ६ मा रामबहादुर गुरुङ, ७ मा मीना लौडारी, ८ मा पूजा सोती, ९ मा देवीन्द्र कार्की, १० मा सरिता बोटे, ११ मा मिलन सुर्खाली, १२ मा हरिशचन्द्र न्यौपाने, १३ मा सागर तिवारी र १४ मा पप्पु पंकज यादवलाई फोकल पर्सन तोकिएको छ ।

यस्तै, विद्यालयका स्थगित परीक्षाहरुको सञ्चालन सम्बन्धमा कोभिड-१९ को विषम् परिस्थितिलाई मध्येनजर गरी जेठ २ गते पछि आवश्यक निर्णय गरिने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई सोही अनुसार सुचना संप्रेषण गरी अभिभावक एवं शिक्षकहरुको प्रत्यक्ष परोक्ष निग्रानीमा सुरक्षीत तवरबाट घरघरमै बस्ने मिलाउने नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका क्षेत्र अन्तरगत सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु आ-आफ्नो केन्द्रीय नीति एवं कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार वैंकिङ गतिविधिहरु सञ्चालन गर्न अनुरोध गरिएको छ ।

यस्तै, निर्माण व्यवसायीहरुबाट प्रदान गरिने निर्माण कार्यहरु सम्बन्धी सेवाहरुलाई सावधानिपूर्वक कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समितिको निर्णयानुसार सञ्चालन गर्नु नगरपालिकाले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker