भानुको नेपालडाँडा सिद्धबाबा सामुदायिक वनमा मानव कंकाल भेटियो

भानु : तनहुँको भानु नगरपालिका–५ स्थित नेपालडाँडा सिद्धबाबा सामुदायिक वनको कालीमाटी खोल्सामा मानव कंकाल भेटिएको छ । शव निकै सडेगलेको अवस्थामा गत आईतवार भेटिएको बताइएको छ ।
शरीरको मासु सडी गलेको अवस्थामा मानव कंकाल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कंकालको अवस्था हेर्दा करिब उचाई ५ फुट ४ ईन्च भएको, टाउको, अनुहार, तथा कम्मर भन्दा माथिको शरीरको छाला तथा मासुको भाग सडी गलेको, हड्डी मात्र देखिएको, शरीरको माथिको भागमा रातो रंगको फुल बाउला भएको टिसर्ट लगाएको, तलको भागमा कालो पाईन्ट, पहेंलो बक्कल सहितको कालो बेल्ट लगाएको, दाहिने खुट्टाको तिघ्रामा हरियो ट्याटु खोपेको जस्तो देखिने यकिन नामथर वतन उमेर र महिला पुरूष छुट्याउन नसकिने अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी गराए ।
महिला पुरूष छुट्याउन नसकिने अवस्थामा भेटिएको कंकाल तत्काल स्थानीय जनप्रतिनिधि समेतको रोहवरमा घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागि दमौली अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।










