निषेधाज्ञा खुकुलो, कोभिड संक्रमण बढ्दो : तनहुँका कुन पालिकामा कति संक्रमित ? (विवरण सहित)
नारायण खड्का/भञ्ज्याङ
तनहुँमा पछिल्लो दिन फेरी संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । गत मंगलबार सून्यमा झरेको संक्रमण बुधबार ४५ जनामा संक्रमण देखिएको थियो भने विहीबार ९७ जनामा संक्रमण पुष्टि हुनुका साथै शुक्लागण्डकी नगरपालिका-६ को ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले असार ७ गते यता निषेधाज्ञालाई केही खुकुलो बनाएको छ भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसमा आज विहीबारदेखि लागु हुने गरी असार २४ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला भर नै खाद्यान्न, तरकारी, फलफूल, दुध र दुधजन्य पदार्थ, माछामासु, अण्डा, दाना, पशुपंक्षीको उत्पादन र बिक्री वितरणका लागि बिहान ५ देखि १० बजेसम्म समय तोकिएको छ भने निषेध गरिएका कार्य र सेवा बाहेक अन्य कार्य र सेवा सञ्चालन बिहान ८ देखि दिउँसो १ बजेसम्मलाई खुल्ला गर्न अनुमति दिइएको छ ।
निषेधाज्ञालाई खुकुलो बनाउँदै गर्दा व्यापारी व्यवसायी तथा नागरिकस्तरबाट लापरवाही पनि बढ्दै गएको छ । अहिले खेतीपातीको समय भएकाले कृषकहरुले खेतीपातीमा व्यस्त हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा लापरवाही भइरहेको छ। विशेष गरी बजार क्षेत्र भन्दा अहिले जिल्लाका ग्रामीण क्षेत्रमा बढि संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकुरबाबु अधिकारी बताउँछन् ।
# लापरवाही बढ्यो
# जहाँ परीक्षण त्यही संक्रमित भेटिन थाले
# आजबाट व्यवसाय सञ्चालन गर्ने समयसिमा बढ्यो
‘लापरवाही बढ्दै जाँदा पुनः कोरोना संक्रमण जोखिम बढेको छ’, उनले भने, ‘मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रि सहि रुपमा प्रयोग नगर्ने, भिडभाडजन्य गतिविधिमा सहभागि हुने जस्ता गतिविधि बढेको छ । अहिले जहाँ परीक्षण गर्यो त्यही संक्रमित देखिन थालेको छ ।’
कार्यालयको तथ्याङ्क अनुसार बैशाख महिना यता ५ हजार ५९ जनाको पिसिआर र २ हजार ९४४ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ३ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ हजार ५९६ जना निको भएका छन् भने संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । ६१९ जना सक्रिय संक्रमित मध्ये ३ जनाको एचडियूमा, ३ जनाको आइसियुमा र १८ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ भने ५९६ जना होम आइसोलेसनमा बसेका छन्। पछिल्लो दिन कोरोना संक्रमित निको हुने भन्दा संक्रमित हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कुन पालिकामा कति संक्रमित छन् ?
तनहुँका १० पालिका मध्ये सबै भन्दा बढि ९९४ जनामा संक्रमण देखिएकोमा ८४४ जना निको भई अहिले १३३ जना सक्रिय संक्रमित छन भने १७ जनाको मृत्यु भएको छ। भानु नगरपालिकामा २२२ जना संक्रमित भएकोमा १८८ जना निको भएका छन भने ६ जनाको मृत्यु भएको छ । अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, अहिले सबै भन्दा बढि सक्रिय संक्रमित शुक्लागण्डकी नगरपालिकामा रहेका छन् । ८६९ जनामा संक्रमण देखिएकोमा ६०५ जना निको भएका छन भने २३० जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट शुक्लागण्डकीका ३४ जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकामा ४२६ जना संक्रमित भएकोमा ३६८ जना निको भएका र ४५ जना सक्रिय संक्रमित रहेका छन् भने १३ जनाको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिकाका २७८ जनामा संक्रमण देखिएकोमा १६० जना निको भएका छन् भने ११४ जना सक्रिय संक्रमित छन् । म्याग्देका ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए । घिरिङका १२३ संक्रमित भएकोमा १०९ जना निको भएका छन् भने ११ जना सक्रिय संक्रमित छन् । संक्रमणबाट घिरिङका ३ जनाको मृत्यु भएको छ ।
ऋषिङ गाउँपालिकाका ६३ जनामा संक्रमण देखिएकोमा ४९ जना निको भएका छन भने १४ जना सक्रिय संक्रमित रहेका छन्। देवघाट गाउँपालिकामा ४० जनामा संक्रमण देखिएकोमा ३८ जना संक्रमण मुक्त भएका छन् भने १ जना सक्रिय संक्रमित छन् । गाउँपालिकामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
बन्दिपुर गाउँपालिकामा २०८ जना संक्रमित मध्ये १७४ जना निको हुँदा ३२ जना सक्रिय संक्रमित छन भने २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आँवुखैरेनी गाउँपालिकाका ७३ जनामा संक्रमण देखिएकोमा ६१ जना निको हुँदा ११ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ ।










