मनोपरामर्श लिन आउनेको संख्या बढ्दै
भञ्ज्याङ समाचारदाता/दमौली

गत असार १४ गते एक महिलालाई दमौली अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारको लागि ल्याइयो । करिव १८ वर्षकी देखिने महिला घरेलुहिंसा र श्रीमान्को व्यवहारबाट पीडित भएर आत्महत्या गर्ने अवस्थामा पुगेपछि प्रहरीले उद्धार गरी केन्द्रमा ल्याएको थियो । मानसिक तनावबाट गुज्रिएकी उक्त महिला श्रीमान्बाट पीडित भएर आत्महत्या गर्ने स्थितिमा पुगेकी केन्द्रकी फोकलपर्सन हममाया पुनले बताइन् । ‘सानै उमेरमा प्रेम विवाह गरेकी उनले विवाहको २ वर्षपछि श्रीमानको माया, हेरचाह नपाएका कारण आफु तनावमा रहेको सुनाइन्’, उनले भनिन्, ‘आफुले दैनिक रुपमा भोग्नुपरेको पीडा सुनिदिने कोही नभएपछि डिप्रेसनमा परि आत्महत्या गर्ने स्थितिमा पुगेकी रहेछिन् ।’
यस्तै, गत असार ६ गते ५ वर्षीय बालिकालाई उनकै १५ वर्षीय धर्मदाइले गरेको यौनजन्य दुरव्यवहारको घटना पनि केन्द्रमा परामर्श तथा उपचार सेवा लिनका लागि प्रहरीद्वारा पठाइएको उनले बताइन् । उनले भनिन्, ‘औलाले चलाइएको हुँदा बालिकाको यौनअंगमा घाउहरु देखिएका कारण उनको पिसावमा संक्रमणको समस्य देखिएको थियो । २/३ पटक फलोअपका लागि पनि आउनुभयो विस्तारै निको हुँदै गएको छ ।’
यी दुइ घटनामात्र होइन् जिल्लाभित्र घट्ने लैङकि हिंसा, बलात्कार, यौजन्य घटना, बोक्सीको अरोप, अत्माहत्या, कुटपिटका घटनाहरु जिल्ला प्रहरी, आफै, आफन्त, स्थानीय निकाय, बालकल्याण, गैरसरकारी संघसंस्थाबाट उपचार तथा मनोपरामर्शका लागि केन्द्रमा आउने गरेको उनले बताइन् । आर्थिक वर्ष ०७७/०७८ को असार २० गतेसम्म प्रहरीमार्फत ४५, आफै ५, आफन्तबाट २९, गैर सरकारी संघसंस्थाबाट ३ जना गरी ८२ जनाले केन्द्रमा आई सेवा लिएका छन् । जसमा ७२ जना महिला र १० जना पुरुष छन् ।
यस्तै, आर्थिक वर्ष ०७५/०७६ मा ७१ जना, आर्थिक वर्ष ०७६/०७७ मा ४९ जनाले केन्द्रमा सेवा लिएका छन् । ‘प्रत्यक वर्ष हिंसामा पर्नेको संख्या बढेको देखिन्छ’, पुनले भनिन्, ‘तर, समाजमा यस्ता हिंसा पहिले देखिनै थियो । पछिल्लो समय यस्ता हिंसा र मानसिक तनावको पनि उपचार हुन्छ भनेर जनसमुदायमा सचेतना फैलिन थालेपछि मलाई यस्तो समस्या देखिएको छ भनेर स्वायम् पनि उपचारको दायरामा आउनुहुन्छ ।’
केन्द्रमा आउनेमध्ये २१ जना १४ वर्ष सम्मका, १३ जना १५-१८ वर्षका, ४२ जना १९-४९ वर्षका, १ जना ५०-६० वर्षका र ५ जना ६० वर्ष उमेर समूहका रहेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष ०७७/०७८ को असार २० गतेसम्म ५० जनाले शारीरिक परीक्षण, २८ जनाले मेडिको लिगल परीक्षण, १९ जनाले गर्भ परीक्षण, १४ जनाले घाउ चोटपटक उपचार, ४ जनालाई आकस्मिक गर्भ निरोधक दिएको, १२ जनाको यौन रोगको उपचार, २ जनाको सुरक्षित गर्भपतन, १ जना मानसिक रोगको उपचार र ६२ जनालाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।
‘१४ वर्ष मुनि र १९ देखि ४९ उमेर समूहका बढि उपचार तथा परामर्शका लागि आएको देखिन्छ’, उनले भनिन्, ‘कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मानिसहरु आफ्नो दैनिक क्रियाकलापबाट अलग भै घरमै बस्नुपरेका कारण धेरैमा मानसिक तनाव उत्पन्न भएको देखिन्छ । कतिपय घरमै बस्दा हिंसाजन्य क्रियाकलापबाट पीडित बनेको पाइएको छ ।’
यस्तै, अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसापीडित महिला, पुरुष तथा बालबालिकालाई उपलब्ध गराएको निशुल्क मनोसामाजिक परामर्श तथा उपचार सेवा निकै प्रभावकारी रुपमा अगाडि बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्यालले बताए । उनले भने, ‘टाढाटाढाबाट केन्द्रमा सेवा लिन आउने सेवाग्राहीलाई उहाूहरुको अवस्था हेरेर एक हजार ५ सय देखि ८ हजारसम्म यातायात खर्चपनि व्यवस्थापन गराउने गरेका छौं ।’ केन्द्रले आर्थिक वर्ष ०७७/०७८ मा ८८ हजार रुपैयाँ उपचार खर्च सेवाग्राहीहरुलाई उपलब्ध गराएको अस्पतालले जनाएको छ।










