बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।

लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो । शर्माले लट्ठाको भार परीक्षणको काम सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “टावर जडानको काम सकियो, अब हामीमा ढिलोमा डेढ महिनाभित्र केबुलकार सञ्चालन गर्छौं, अब केबुलकारको परीक्षण सुरु गरेका छौँ ।”

उहाँका अनुसार भार परीक्षणका लागि १५ दिन सामान बोक्ने डब्बा सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “उक्त डब्बामा ढुङ्गा पठाएर भार परीक्षणको काम भइरहेको छ, यसका लागि १०÷१५ दिन त्यसको परीक्षण हुन्छ ।” त्यसपछि मान्छे बोक्ने डब्बाको परीक्षण हुनेछ । त्यसको अवधि पनि १५ दिनको रहनेछ । लगत्तै आकर्षक क्याबिनको परीक्षण गर्ने तयारी गरिएको छ । “सबै परीक्षण सकिएर ४५ दिनपछि प्रमाणपत्र पाएर व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

तीन चरणका काम सम्पन्नपश्चात् अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्न सम्बन्धित प्रमाणपत्र प्राप्त गरिने लिमिटेडका गुणस्तर एवं प्रविधि निर्देशक सुप्रियो मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा र गुणस्तर पहिलो भन्ने कम्पनीको न्यूनतम मान्यता रहेकाले हतारमा प्रतिस्पर्धाका लागि मात्र केबुलकारलाई व्यावसायिक सञ्चालनमा ल्याउँदैनौँ ।”

प्रति घन्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबुलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबुलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो ।

विसं २०७५ साउनदेखि केबुलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआई बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको निर्देशक शिव शर्माले जानकारी दिनुभयो । पृथ्वी राजमार्गको केबुलकार चोकदेखि बन्दीपुरसम्म एक हजार सात सय मिटर लामो केबुलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट असार १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

केबुलकारसँगै पाँचतारे होटलको काम भने तीव्र गतिमा अगाडि बढेको छ । हाल दैनिक तीन सय कामदार परिचालन गरेर काम अगाडि बढाइएको छ । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको सञ्चालक उपाध्यायले जानकारी दिनुभयो । यसैगरी, वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबुलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

केबुलकारको साधारण शेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।

रु तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब १५ करोड रहेको छ । त्यसमध्ये चुक्ता पूँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पूँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणका लागि छुट्याइने लिमिटेडले जनाएको छ ।

आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker