कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

कृष्ण न्यौपाने

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो ।

विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिनुभयो ।

“कोरोना कहरका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन”, उहाँले भन्नुभयो, “अब आगामी वर्षको फागुन १ गतेदेखि केबलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएका छौँ ।” कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन सञ्चालनमा ल्याउने भएको छ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफआवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ ।

परियोजनाको कूल लागत रु दुई अर्ब १० करोड पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डालामार्फत प्रतिघण्टा ३०० यात्री बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ गोण्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा ५०० यात्रु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ ।

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

माथिल्लो स्टेशनमा नौतले चारतारे होटल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि १०० सम्ममा स्तरोन्नति गरिनेछ । होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो ।

रु एक अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी रु ७५ करोड र चुक्ता पूँजी रु २० करोड रहेकामा त्यसलाई बढाएर रु ९० करोड पु¥याउने लक्ष्य लिइएको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता छन् ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

स्थानीयवासीलाई टिकटमा सहुलियत

कम्पनीले स्थानीयवासीलाई केबलकारको टिकटमा सहुलियत दिने भएको छ । स्थानीयवासीका लागि केबलकारमा सवार गरेवापत जीवनभरका लागि सुरुआतमा १० वर्षको अवधि रहने गरी लाइफटाइम फेयर घोषणा गरिएको छ । सो टिकटको मूल्य रु १० हजार तोकिएकामा परिवारका सबै सदस्यले टिकट बाहकका रूपमा पालैपालो प्रयोग गर्न सक्नेछन् । “यस्तो टिकट बिक्री गर्नका लागि कम्पनीले आगामी कात्तिक ५ गतेदेखि पुस मसान्तसम्म खुला गर्ने निर्णय गरेको छ”, उपाध्यायले भन्नुभयो, “प्रत्येक वडालाई १५÷१५ दिनको समयसीमा दिएर टिकट किन्ने सुविधा दिएको छ ।”

यसैगरी वन समूहका सदस्यलाई २५ प्रतिशत, जग्गादातालाई ५० प्रतिशत र दृष्टिविहीन तथा ह्विलचियर प्रयोगकर्तालाई साधारण टिकटमा ५० प्रतिशत छुट दिइनेछ । अन्य अपाङ्गता भएका व्यक्तिलाई २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker