बन्दीपुर र भानुको सीमाना चुँदीखोलामा सरसफाई

तनहुँको बन्दीपुर गाउँपालिका-१ र भानु नगरपालिका-१ को सीमाना चुँदीखोलामा सरसफाई गरिएको छ । भानु नगरपालिकाको चुँदीबाट बगेर आउने उक्त खोला पछिल्लो समय प्रदूषित बन्दै गएपछि वृहत रुपमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।
बढ्दो शहरीकरणसँगै चुँदीखोला अतिक्रमणको चपेटामा त परेको छ नै फोहरबाट पनि उत्तिकै दुर्गन्धित भएको छ । भानु नगरपालिका-१ भन्सार र बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा रहेका खोलाछेउमा रहेका बस्तिबाट जथाभाबी फोहर फालिँदिँदा चुँदीखोला खोला जस्तो छैन । चुँदीखोला डम्पिङ साइडको रुपमा परिणत भएको छ । चुँदीखोलाको पुलमुनि फोहरको डङ्गुर देखिने गर्छ ।

चुँदीखोला प्रदूषित बन्दै गएपछि यसलाई सफा र स्वच्छ राख्ने उद्देश्यसहित शनिबार वृहत सरसफाइ अभियान गरिएको छ । दमौलीका युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा भानु र बन्दीपुरका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यवसायी र र्सवसाधारणको सहभागितामा चुँदीखोलामा वृहत सरसफाइ गरिएको छ ।
चुँदीखोलालाई सफा बनाउन र फोहर फाल्न हुँदैन भन्ने सचेतना जगाउन सबैको सहभागितामा वृहत सरसफाइ गरिएको युवा अभियान्ता गफ्फारले बताए । उनले भने, ‘खोलालाई खोलाकै रुपमा बग्न दिनुपर्दछ । तर खोला दिनप्रतिदिन डम्पिङ साइडको रुपमा परिणत हुन थालेको छ । यस्तो देख्दा मन दुख्छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चुँदीखोला सरसफाइ अभियानले राम्रो सन्देश दिएको बताउँदै सामाजिक काममा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
गत शनिबार व्यास नगरपालिका-२ दमौलीस्थित बुल्दीखोलामा पनि वृहत सरसफाइ अभियान गरिएको थियो । त्यसक्रममा सात हजार तीन सय किलो फोहर संकलन भएको थियो ।











