ज्येष्ठ नागरिकलाई किट्ली वितरण
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ ले ज्येष्ठ नागरिकहरुलाई विद्युतीय किट्ली वितरण गरेको छ । जाडोलाई लक्षित गरी वडा कार्यालयले टोल टोलमा पुगेर ज्येष्ठ नागरिकहरुलाई पानी तताउने तथा चिया पकाउने किट्ली वितरण गरेको हो । वडामा रहेका १३४ जना ज्येष्ठ नागरिकलाई बुधबार किट्ली वितरण गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । चिसो मौसममा आफैले पानी तताएर पिउन सहज होस् भनेर किट्ली वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।

‘ज्येष्ठ नागरिकहरु विविध कारणले एक्लिदै जानु भएको छ’ उनले भने, ‘उहाँहरुको साहाराको लागि वडाले बर्षेनी सकेको सहयोग गरिरहेको छ । उहाँहरुमा पनि स्थानीय सरकार छ भन्ने अनुभुति होस् भनेर उहाँहरुका निम्ति सहयोगी सामाग्रीहरु वितरण गरिदै आएको छ ।’ वडाले गएको बर्षहरुमा पनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत न्यानो कपडा, झुल, भिटामिनयुक्त पोषण आहारा वितरण गर्ने लगायतका कार्यक्रमहरु गरेको थियोे । चालु आर्थिक बर्ष वडाले किट्ली वितरण कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा सचिव महेन्द्र घिमिरेले जानकारी दिए ।










