दमौलीमा भिषण आगलागि, विपद व्यवस्थापनको पाटो कमजोर हुँदा बढी क्षति (भिडियोसहित)
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको सदरमुकाम दमौलीमा आइतबार बिहान भिषण आगोलागि भएको छ । व्यास नगरपालिका-४ दमौलीको मेनचोक पृथ्वीराजमार्गसंगै रहेको भूपाल हार्डवेयरमा बिहान करिब १०:१० बजेको समयबाट भएको आगलागि दिउँसो करिब ३ बजेपछि पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागि भएको करिव आधा घण्टापछि व्यास नगरपालिकाको दमकल आगलागिस्थलमा पुगेको थियो । एउटा दमकलको प्रयोगले मात्र आगो नियन्त्रणमा लिन कठिन भएपछि करिव २ घण्टापछि कास्कीको पोखरा महानगरपालिकाको दुइ वटा, लमजुङको बेसीशहर नगरपालिकाको एउटा, नेपाल आयल निगम पोखराको एउटा गरी ४ वटा दमकल तथा हेलिकप्टरको प्रयोग गरिएको थियो ।

यस्तै, आगो नियन्त्रणका लागि पृथ्वीराजमार्गको आँवुखैरेनी-पोखरा सडक खण्ड विस्तार आयोजना, तनहुँ जलविद्युत आयोजना, स्थानीय पानी व्यवसायीहरुका गरी १२ ट्यांकरको समेत प्रयोग गरिएको थियो । आगलागिबाट के कती मात्रमा क्षति भयो भन्ने एकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भएको भीषण आगलागीबाट करोडौ मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताएका छन् । ‘क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ’, उनले भने, ‘केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।’
जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको र विवरण लिने काम भइरहेको बताए ।

प्रहरीका अनुसार आगलागीबाट हार्डवेयरको गोदाम पूर्ण रूपमा क्षति भएको छ । उक्त वरपरका अन्य नौ वटा घर आंशिक रूपमा क्षति भएको र तनहुँसुर मिनी मार्केटको दुइ वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणका क्रममा स्काभेटरले तीन वटा टहराहरू भत्काएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा एक सय जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पुर्याएका थिए ।

दमौलीको मेनचोकमा आगलागि हुँदा समयमै नियन्त्रणमा लिने कार्यमा ढिलासुस्तिहुँदा क्षति बढि हुन पुगेको स्थानीय व्यापारी मंगलप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘आगलागि नियन्त्रणका लागि करिब दुइ सय मिटरको दुरीमा रहेको व्यास नगरपालिकाको दमकललाई समयमै खबर गरिएपनि दमकल आगलागि स्थलमा आधाघण्टा ढिलो आइपुगेको थियो ।’
व्यवसायीहरुले सामाग्रीहरु व्यवस्थित गर्न लापरवाही र आवश्यक सावधानी नअप्नाउदा आगलागि जस्ता विपदका घटनाहरु हुने गरेका छन् । जिल्लामा रहेको विपद व्यवस्थापन प्रतिकार्य कार्यक्रम पनि चुस्त दुरुस्त नहुँदा ठूलो मात्रमा क्षति हुने गरेको श्रेष्ठले बताए ।

‘नगरपालिकाको एउटा मात्र दमकलले नधान्ने भएपछि छिमेकी जिल्लासंग समन्वय गरी समयमै थप दमकलको व्यवस्थापन गर्नुपर्ने थियो’, उनले भने, ‘विपद व्यवस्थापनको पाटो आजको घटनाले जिल्ला कमजोर अवस्थामा रहेको देखियो ।’
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो । आगलागि भएको स्थान साँघुरो भएकाले भित्रसम्म दमकल पुर्याउन नसक्दा हेलिकप्टरको प्रयोग गरिएको थियो ।

साँघुरो सडक, अव्यवस्थित रुपमा टांगिएका विद्युत, केवल, इन्टरनेट लगायतका तारका कारण पनि आगलागि नियन्त्रणमा समस्या देखिएको थियो ।
यस्तै, दमौली मेनचोकमा भएको आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । आगलागी भएको करिव ३ घण्टापछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुगेका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गरेका हुन् । मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारको तर्फाट उचित राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शंकर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना प्रति दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताएका छन् ।
आगलागिको क्रममा देखिएको दृश्य ।
https://www.youtube.com/watch?v=-mGTHl3xvoY
राहत उपलब्ध गराउन माग
तनहुँ उद्योग वाणिज्य संघले व्यास नगरपालिका-४ स्थित मुख्यचोकमा आइतबार बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।
भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो ।
संघको आइतबार बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ सभापति एवं भूपाल हार्डवेयरसका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य संघका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशमकुमार श्रेष्ठ लगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।

भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकारलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी विपद्को घटनाबाट थप क्षति हुन नदिन आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याएकामा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तहलगायत सबैमा आभार व्यक्त गरेका छन् ।
यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले आगलागी मौसमलाई समेत ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।










