तनहुँमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा
भञ्ज्याङ न्यूज

तनहुँमा स्थानीय तह सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा गरिएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्नका लागि १३६ मतदान स्थलमा कायम गरिएको २९७ मतदान केन्द्रहरु मतदानका लागि सम्पूर्ण तयारी पुरा गरिएको छ ।
मतदान केन्द्रको तयारीसंगै मतदान पश्चात मतगणनाका लागि मतगणनास्थल समेत तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि तनहुँका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेका छन् ।

निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ । सबै निर्वाचन अधिकृतको कार्यालयमा सबैलाई चित्तबुझदो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले बताए ।

यस्तै, देवघाट गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले वडा नं. ५ स्थित सभाहलमा मतगणनास्थल तयार गरेको छ । दुइ ठाउँमा मत गन्नका लागि गणनास्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी गराए । घिरिङ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणनास्थल तयार गरेको छ । दुइ ठाउँमा मत गन्नका लागि गणनास्थल बनाइएको निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए । आँबुखैरेनी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणनास्थल बनाएको छ ।

जिल्लाका सबै निर्वाचन अधिकृतका कार्यालयहरुले पालिकाका प्रशासकीय भवनमा स्थानीय स्तरमा पाइने बाँस तथा फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणनास्थल बनाइएका छन् ।
यस्तै, निर्वाचनका लागि मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्प लगायत ६१ प्रकारका सामग्री निर्वाचन कार्यालयबाट र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र लिएर सबै मतदान अधिकृत तथा कर्मचारीहरु मतदान केन्द्रमा खट्टएिका छन् । मतदान केन्द्रमा मतदान स्थल निर्माण, मतदाना परिचयपत्र वितरण, मतदाता शिक्षा लगायतका कामहरु सम्पन्न गरिएका छन् ।

तनहुँका चार नगरपालिका, छ गाउँपालिकाका ८५ वटा वडाका ४४५ पदमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी १ हजार ६३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला गरी २ लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । अघिल्लो निर्वाचन भन्दा अहिले ४९ हजार ८६९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हर्रि्रसाद ढकालले बताए ।
यस्तै, मतदान स्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा एकीकृत सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । स्थानीय प्रशासनले निर्वाचनलाई लक्षित गरी निर्वाचन पूर्व, निर्वाचनका दिन, मतगणना सम्पन्न र परिणाम प्राप्त भइसकेपछि हुने विजय र्यालीलाई समेत मध्यनजर गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

तनहुँमा स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरी करिब २ हजार ३७६ जनशक्ति परिचालन गरिएको छ ।










