पायल्सको अन्तिम विकल्प शल्यक्रिया हो : डा. योगेन्द्रप्रसाद सिंह

पायल्स अहिले धेरैको समस्या हो । पायल्स कसरी हुन्छ ? किन हुन्छ ? कसलाइ हुन्छ ? धेरैतिर चासो पनि छ । पायल्स कस्तो अवस्थामा जटिल हुन्छ ? यसको उपचार हुन्छ वा हुँदैन ?

पायल्स के कारणले हुन्छ ? खराब खानपान वा अरूले पनि ?

पायल्स हुने मुख्य कारण भनेको कब्जियत हो र कब्जियत हुने कारण खराब खानपान । विभिन्न रोगहरूले गर्दा पनि कब्जियत हुन्छ जस्तै कलेजोको खराबी र पोर्टल हाइपो टेन्सन आदि । खानपानको कारणले होस् या अन्य रोगको कारणले बारम्बार कब्जियत भयो भने पायल्स हुने सम्भावना बढ्छ ।

पायल्सको सुरुवाती लक्षण के हुन्छ ? कसरी थाहा पाउन सकिन्छ ?

पायल्सको सुरुवाती लक्षण दिशामा रगत जाने हो । नदुख्ने तर दिशामा वा दिशापछि रगत गयो भने त्यो पायल्सको सुरुवाती लक्षण हो ।

पायल्स भएको अवस्थामा के कस्ता जटिलता आउन सक्छ ?

पायल्स भएको अवस्थामा धेरै रगत बग्यो भने रगतको कमी हुन्छ । पायल्सलार्इ पहिलो, दोस्रो , तेस्रो र चौथो चार वटा डिग्रीमा छुट्याएको छ ।

तेस्रो डिग्रीमा पायल्स मलद्वारबाट बाहिर निस्कने हुन्छ । यसरी निस्कँदा भित्र पसाउन नै गाह्रो हुन्छ । कहिलेकाहीँ त्यसमा संक्रमण हुने र रगत जम्ने जस्ता जटिलताहरू हुन सक्छन् ।

पायल्सको उपचार के छ ? शल्यक्रिया वा औषधिबाट ?

कुन डिग्रीको पायल्स हो त्यस अनुसार यसको उपचार फरक पर्छ । पायल्सको पहिलो उपचार भनेको कब्जियतलाई कम गर्नु हो । त्यसको लागि औषधि सेवन गर्न सकिन्छ र खानपानमा ध्यान दिएर पनि कब्जियत कम गर्न सकिन्छ । ग्रेड हेरेर कुन डिग्रीको हो त्यस अनुसार उपचार गरिन्छ ।

पहिलो तथा दोस्रो डिग्री हो भने औषधी खाएर नै त्यसको उपचार गर्न सकिन्छ । तर, तेस्रो वा चौथो डिग्री हो भने इन्जेक्सन लगाएर पनि उपचार गरिन्छ । सेकेर गर्ने थेरापी ‘क्रायोथेरापी’ गरेर पनि उपचार गर्न सकिन्छ । अन्य विधिले निको भएन भने अन्तिम उपचार शल्यक्रिया हो ।

पायल्सको उपचार एलोपेथिक प्रभावकारी कि आयुर्वेदिक ?

एलोपेथिक डाक्टरलाई सोध्नुभयो भने एलोपेथिक प्रभावकारी र आयुर्वेदिकलाई सोध्नुभयो भने आयुर्वेदिक प्रभावकारी । दुइ वटै उपचार पद्धतिमा कब्जियत कम गर्ने औषधिको प्रयोग गरिन्छ ।

त्यसको लागि आयुर्वेदिक तथा एलोपेथीक जुन औषधी सेवन गरे पनि हुन्छ । आयुर्वेदिकमा छार सूत्र प्रयोग हुन्छ, शल्यक्रिया हुँदैन भने एलोपेथिकमा शल्यक्रिया हुन्छ । पायल्सको ग्रेड हेरेर दुवै उपचार पद्धति बराबर प्रभावकारी छ ।

पायल्स पूर्ण रूपमा निको हुने समस्या हो ?

पायल्स पूर्ण रूपमा निको हुन्छ । तर, पायल्स हुने कारण हटाउन सकिएन भने यो फेरि दोहोरिन पनि सक्छ । त्यसैले पायल्स हुने कारणलार्इ हटाउन सकियो भने यो पूर्ण निको हुन्छ ।

कस्तो अवस्थामा पायल्सको उपचार जटिल हुनसक्छ ?

पायल्सको पहिलो दोस्रो, डिग्रीमा उपचार सहज नै हुन्छ । तर, तेस्रो चौथो डिग्रीमा बाहिर निस्किएको पायल्स भित्र पसेन भने उपचार जटिल हुनसक्छ ।

पायल्स भएमा के कस्ता सावधानी अपनाउनुपर्छ ?

पायल्सका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको कब्जियत हुन दिनु हुँदैन । त्यसको लागि हरियो सागपात, फलफूल र झोेलीलो खानेकुरा बढी मात्रामा खानुपर्छ । माछा, मासु, चिल्लो, पिरो र बढी मसला प्रयोग भएको खानेकुरा कम गर्नु पर्छ ।

कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

पायल्स भएका व्यक्तिहरूले आफ्नो दिनचर्यामा सुधार गर्नु पर्छ । पेटको सरसफाइमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वास्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्तो जीवनशैली अपनाउनुपर्छ ।

पायल्स हुनै नदिने कुनै उपाय छ ?

पायल्स हुनै नदिने उपाय भनेको पायल्स हुन सक्ने कारण पत्ता लगाएर त्यसको उपचार गर्नु हो । कब्जियत हुन दिइएन भने पायल्स हुने सम्भावना पनि कम हुन्छ । जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिइयो भने पायल्स हुने सम्भावना कम हुन्छ । अनलाइनखबरबाट साभार

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker