जिसस तनहुँ निर्वाचन : प्रमुख सहित ६ पद कांग्रेस र उपप्रमुख सहित ३ पद माओवादीको उम्मेदवार
भञ्ज्याङ न्यूज

जिल्ला समन्वय समिति तनहुँको सोमबार हुने निर्वाचनका लागि गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ-आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुने भएपछि कांग्रेसले प्रमुख सहित छ र माओवादी केन्द्रले उपप्रमुख सहित तीन जना उम्मेदवारको टुंगो लगाएका हुन् ।
कांग्रेस तनहुँको आइतबार बसेको संसदीय दलको बैठकले जिसस प्रमुखमा शान्तिरमण वाग्लेलाई दोहोराउने निर्णय गरेको हो । २०७४ सालमा सम्पन्न जिससको निर्वाचनबाट प्रमुखको जिम्मेवारी पाएका वाग्ले पुनः प्रमुख पदमा अगाडि बढाइएको छ ।
कांग्रेसले सदस्यमा भानु-१३ का चिरन्जीवी ढकाल, आबुँखरैनी-४ का नेत्र गुरुङ, ऋषिङ-२ की पानकुमारी खाँण, शुक्लागण्डकी-१० की तिलादेवि राना र म्याग्दे-४ का डोलबहादुर सुनारलाई उम्मेदवार बनाउने भएको नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
त्यस्तै, नेकपा माओवादी केन्द्र तनहुँले जिल्ला समन्वय समितिको उपप्रमुखमा आबुँखरैनी-२ का वडा सदस्य बासुदेब थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रबाट सदस्यमा शुक्लागण्डकी-११ का खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुर-५ की लक्ष्मी गुरुङको नाम टुंगाएको नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् ।
दुबै पार्टीका नेताहरुबीच शनिवार भएको बैठकले गठबन्धन गर्ने सहमति गरेको थियो । यस पटक कुनै एक दलको मात्र बहुमत नभएकाले कांग्रेस र माओवादीबीच गठबन्धन गर्दा बहुमत पुग्ने देखिएपछि गठबन्धनको सहमति भएको कोइरालाले बताइन् ।
तनहुँमा २० मत मध्ये नेपाली कांग्रेसको १० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ मत र नेकपा एमालेको ६ मत रहेको छ ।
२०७४ सालको समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको थियो । २० मत मध्ये १२ मत ल्याएर नेपाली कांग्रेसबाट शान्तिरमण वाग्ले प्रमुखमा निर्वाचित भएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशित गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनय पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।










