हलेसी पर्यटन र प्राकृतिक सौन्दर्य

के.बी. मसाल

पर्यटन भनेकै नयाँ ठाउमा घुम्नु, रमाउनु र नयाँ कुराको खोज अनुसन्धान गर्नु हो । घुमफिर गर्ने कस्लाई इच्छा हुदैन र – नपुगेको ठाउमा पुग्नु र त्यहाँको प्राकृतिक सौन्दर्य अनि महत्वको बारेमा अरुलाई सुनाउदाको मज्जा छुट्टै हुन्छ । अहिले पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन खोज्दछन । सुनेको तर नदेखेको गाउँठाउँमा पुग्दा पर्यटकहरु रमाउने मात्र होइन सुनेको कुरा आखाँले देख्न पाउदा छुट्टै अनुभूति गर्दछन । गाउँठाउमा पुग्न पर्यटनको लागि मुख्य पूर्वाधार भनेकै सडक हो । आजभोली मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्लाको धेरै ठाउमा सडक सञ्जाल बिस्तार भएको छ । सडक यातायातको सुबिधाले पर्यटकहरु पूर्वी पहाडी जिल्लाहरुमा घुम्न जानेहरुको सख्या बढन थालेको छ ।

नेपालमा धेरै पर्यटकियस्थल धार्मीक मठमन्दिरसंग जोडिएको छ । कोशी प्रदेशको खोटाङ जिल्लामा पर्ने हलेसी महादेव पर्यटनको लागि प्रख्यात तीर्थस्थल हो । हलेसी समुद्री सतहदेखि ४ हजार ७३६ फिटको उचाईमा पर्दछ । त्रिधार्मिक तपोःभूमि हलेसी खोटाङ जिल्लाको सदरमुकामबाट दिक्तेल देखि पश्चिमी तुवाचुङ नगरपालिकामा पर्दछ । काठमाण्डौबाट विपी राजमार्ग भएर खुर्कोट, घुर्मी, जयराघाट हुदै हलेसीको दूरी २ सय २२ किलोमिटर पर्दछ । तीर्थाटन पर्यटनको लागि हलेसी महादेव हिन्दू, किराँत र बौद्धहरुको साझा आस्थाको केन्द्र हो । हलेसी महादेवलाई हिन्दूहरुले पूर्वको पशुपतिनाथ भनेर मान्दछन भने बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनी भनेर मान्दछन । किराँतहरुले आदिम भूमि मानेर पुज्ने गर्दछन । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ हलेसी । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौं वाहृय तीर्थाटनका पर्यटकहरु हलेसी पुग्दछन । हलेसीमा नेपाललका मात्र होइन भारत, चीन, भुटान, जापान, अमेरिका लगायत विभिन्न मुलुकबाट तीर्थाटन एवं अवलोकन गर्न पर्यटकहरु पुग्दछन ।

पहिलो पटक हलेसी पुग्ने पर्यटक त्यहाँको संरचना देख्दैमा दगं पर्दछ । हलेसी महादेवको मन्दिर गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रुपाकोट डाँडाको काखमा पर्दछ । हलेसीमा घना जगलले ढाकिएको थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यहि गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरेपछि करीब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ । जहाँ १ हजार भन्दा धेरै मानिस अटाउँछन् । गुफा भित्र सुन्दर र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण आर्श्चर्य लाग्दा प्राकृतिक चट्टानले सजिएको छ । हलेसीमा विशेषत महादेवको बसाह र भैरवका ३ वटा महत्वपूर्ण गुफा छन् । गुफा भित्र पसेपछि पर्यटकहरुले गुफा भित्रको समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँमा देख्दछन । गुफाको दक्षिणतर्फको भित्तामा पार्वतीस्थान पर्दछ । त्यहि ठाउँमा पार्वतीले गणेशका लागि दूध ल्याइरहेको जस्तो आकृति देख्न सकिन्छ । जहाँ निःसन्तानहरुले सन्तान माग्ने प्रचलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार पनि छ । त्यस द्वारबाट धर्मात्माहरु छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने भनाइ रहेको छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्ववका प्राकृतिक चट्टानमा मूर्तिसमेत पर्यटकहरुले गुफाभित्र देख्न सक्दछन ।

हलेसी पुगेपछि पर्यटकहरुले हलेसीको इतिहास र महत्वको बारेमा जान्न चाहन्छन। हलेसीमा एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा रहेको छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा पनि छ। यसलाई बसाहाथान भन्ने गरिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखि महादेव आकाशमा निस्केको भन्ने गरिन्छ। त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा रहेको ठूलो चट्टानलाई बसाहा भनी पूजा गरिन्छ। हलेसी गुफाको प्राकृतिक भूबनोटको संरचना विश्वमै अनौठो मानिन्छ । नेपाल एकीकरण हुनुअघि हलेसीको भूमिमा किराती राजा होलैसुङले शासन गरेका थिए । होलैसुङ शब्द अपभ्रंश भई हलेसीको नाम रहन गएको हो भन्ने भनाइ पाइन्छ । हलेसीमा शैवका तपस्वी, बौद्ध र अन्य धेरै तपस्वीहरुले मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ । बौद्धहरुले हलेसीलाई इश्वरीय स्थानको रुपमा पूजा गर्छन । जहाँ बौद्धहरुका महान गुरु रिम्पोचे, पद्मसम्भवले ध्यान गरे र अमरत्व हासिल गरेका थिए । त्यसैले लामो आयु र मोक्ष प्राप्त हुने विश्वासका साथ बौद्धधर्मका अनुयायी, पूजारीहरु हलेसीको पूजाआजा गर्न पुग्दछन ।

हलेसीमा किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले साझा रुपमा पूजार्-अर्चना र श्रद्धा गर्छन । एउटै ठाउँमा तीनवटै धर्मका पितृ, भगवान र गुरुको सदभाव प्राप्त गर्दछन । पर्यटकहरुले हलेसी पुगेपछि पितृ पुर्खाको आशीर्वाद पाइने, विद्या, धन, आयु बढनुका साथै आध्यात्मिक शान्ति पाइन्छ भन्ने विश्वास राख्दछन । हलेसीमा नित्यपूजाका लागि १४ वर्षभन्दा कम उमेरका गिरी परिवारका कुमार चाहिन्छ । चाड विशेषमा शंख, घण्ट, पञ्चेबाजा र डमरु बजाउँदै पूजारी समूह हलेसी गुफामा प्रवेश गर्छन । यो दृष्य देख्दा पर्यटकहरु भावनात्मक रुपमा रमाउछन । बिशेष चार्डपर्वमा हलेसी महादेवलाई गहना पहिर्‍याउने प्रचलन छ । हलेसीमा सालिन्दा रामनवमी, शिवरात्रि, बालाचतुदर्शी र तीजमा ठूलो मेला लाग्ने गर्दछ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट अर्थात दूधकोसीमा मोटरेबल पुल बनेपछि हलेसी जान पर्यटकहरुलाई सुबिधा भएको छ । विपी राजमार्ग अथवा उदयपुरको चतरा भएर हलेसी जादा घुर्मी बजार पुग्नै पर्दछ । खोटाङ, सिन्धुली, ओखलढुंगा र उदयपुरको सिमाना सुनकोसी नदीले छुट्टाएको छ । सुनकोशि नदी किनारमा घर्ुर्मी र हर्कपुर बजार पर्दछ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई राजधानी र तराइसँग जोडने हर्कपुर र घुर्मी बजार हो । उदयपुरको कटारी नगरपालिका १४ नम्बर वडामा घुर्मी बजार पर्दछ भने ओखलढुंगाको मानेभन्याभज्याङ गाउँपालिका ७ मा हर्कपुर बजार पर्दछ । सिरहाको मिर्चैयाबाट उदयपुरको कटारी हुँदै घुर्मी भएर ओखलढुंगा जोडने सिद्धिचरण लोकमार्गलाई मध्यपहाडी लोकमार्गले जोडेको छ । लोकमार्गले हलेसीलाई छोएको छ । घुर्मीदेखि जयरामघाट अर्थात दुधकोशी नदी ५ किमिको दुरीमा पर्दछ । घुर्मीबाट जयरामघाट हुँदै हलेसी महादेवको मन्दिर पुग्न ४० किलोमिटरको यात्रा गर्नु पर्दछ । सडक कालोपत्रे भै सकेको छ । यात्रामा नागवेली आकारका डाडाकाडाका दृष्य अवलोकन गर्न पाउँदा पर्यटकहरु रमाउछन ।

हलेसी जादा पर्यटकहरुले आफ्नो घुमफिरको समय लम्बाउन चाहेमा खोटाङमा घुम्ने ठाउँ धेरै छन । हलेसीमा पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी जान पर्यटन सूचना केन्द्र रहेको छ । सूचना केन्द्रमा दिक्तेल बजार, बुधेश्वर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दूधकुण्ड, महुरेगढी आँखापोखरी, साप्सुढाप, सीतादेवी मन्दिर, बगेर भञ्ज्याङ, पञ्चेदोबाटो, सहदेवगढी, रुवालुङ झरना लगायतको फोटो सहितको हाते ब्रुसर राखिएको छ । खोटाङको भोजपुरसँग जोडिएको पूर्वी सिमाक्षेत्र टेम्के, मेरुङ, मैयूङ जस्ता अग्ला डाँडाहरुको श्रृंखला रमणिय छ । घुमफिर गर्न प्रकृति प्रेमी पर्यटकहरुको लागि खोटाङ राम्रो मानिन्छ ।

खोटाङ जिल्लाका प्राकृतिक ताल, बराहापोखरी, टयाम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा, मलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी जस्ता प्राकृतिक संम्पदा प्रकृति प्रेमी पर्यटनका लागि पुग्न पर्ने हुन्छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अहिले चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी र सिलिचुङ डाँडालगायतका रमणिय पर्यटकीयस्थललाई जोडन पदमार्ग निर्माण भएको छ । पदयात्रामा रमाउने पर्यटकहरुले पदयात्रामा खोटाङ, सोलुखुम्बु, भोजपुर र सखुवासभाका धेरै ठाउको बारेमा अध्ययन अवलोकन गर्न सक्दछन ।

खोटाङ जिल्लाको सिमानामा पर्ने साल्पा पोखरीको महत्व पनि छुट्टै रहेको छ । पहिलोपटक सगरमाथा चढन जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले हिँडेको मार्ग हो, साल्पा पोखरी । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रुपमा रहेको साल्पा पोखरी प्राकृतिक सौन्दर्यले मनमोहक मानिन्छ । खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँुदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रुपाकोट, सुङदेल हुँदै तीन दिनको पैदल यात्रामा साल्पा पोखरी पुग्न सकिन्छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले ताँबुटार, चौकीडाँडा, दोभानेको बाटो पनि साल्पा पोखरी जाने गर्दछन । भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा पर्दछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरुले साल्पा पोखरी नजिक शिलिचुङ डाँडाको चुचुरो चढने गर्दछन । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमश्रृखला र तराइको समतल फाँट नदी, वनजंगल र बस्ती अवलोकन गर्न सकिन्छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने मैयुङ डाँडा हलेसी जादा पुग्न सके राम्रो हुन्छ । स्थानीय बोलिचालीमा मैयुङ डाँडालाई साउने डाँडा पनि भन्दछन् । मैयुङ डाँडा मुन्धुम ट्रेल पदमार्गमा पर्दछ । मैयुङबाट ८ हजार मिटर अग्ला ६ वटा हिमालहरु सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयु, ल्होत्सेसार लगायतका अवलोकन गर्न सकिन्छ । मैयुङ डाँडाको माथिल्लो भागमा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ । मैयुङ डाँडा गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ । मैयुङ डाँडाको काखमा रहेको प्रसिद्ध हाँस पोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरु पर्यटकहरुले देख्न सक्दछन ।

पर्यटकहरु पुग्नै पर्ने ठाउँ हो टेम्के-चखेवा क्षेत्र । टेम्के-चखेवा क्षेत्र मध्यपहाडी राजमार्गमा पर्ने चखेवा भञ्ज्याङको जिरोप्वाइन्टबाट जान सकिन्छ। भोजपुर र खोटाङको सिमानामा पर्ने टेम्के-चखेवा क्षेत्र हुँदै मध्यपहाडी राजमार्गबाट जोडिएको छ। टेम्के-चखेवा क्षेत्र पर्यटकहरुलाई आकर्षण गन्तब्य मानिन्छ । घुमफिर, मनोरञ्जन, दृश्यावलोकनका लागि आन्तरिक तथा बाहय पर्यटकहरु टेम्के र चखेवा क्षेत्रमा पुग्दछन । टेम्के डाँडासम्म पुग्ने मोटरमार्ग बनेको छ । टेम्के डाडाबाट दार्जीलिङ, सिलिगुढी, पूर्वी नेपालका १६ वटै जिल्लाको भूगोल मौसम खुला भएको बेला सूर्योदय, सूर्यास्त, हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

पर्यटकहरुका लागि मध्यपहाडी राजमार्ग अर्थात पुष्पलाल लोकमार्गमा यात्रा गर्दा नयाँ अनुभूती हुन्छ । लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक जिल्लालाई जोडेको छ । मध्यपहाडी राजमार्गमा यात्रा गर्दा पर्यटकहरुलाई नयाँ उर्जा र उत्साहको अनुभूती दिन्छ । आजभोली मध्यपहाडी राजमार्गमा नेपालको भूगोलमा जिज्ञासा राख्ने विद्यार्थीहरु अध्ययन अवलोकन गर्न थालेका छन् ।

मध्यपहाडी राजमार्गले पर्यटन प्रवर्द्धनसँगै स्थानीयहरुको आर्थिक उपार्जनमा समेत सहयोगी बन्न थालेको छ । लोकमार्ग विस्तार भएसंँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुरा र पर्यटकहरुलाई लक्षित गरी होमस्टे सञ्चालन भएका छन् । होटेल तथा रेस्टुराले पर्यटकहरुलाई खाना बस्नको लागि सुबिधा भएको छ । पूर्वमा नेपाल-भारत सीमाना पाँचथरको चियाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल-भारत सीमाना बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।

कसरी पुग्ने ?

हलेसी पुग्न काठमाडौंबाट हवाई मार्ग पनि छ । खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन । दिक्तेल नजिक खानीडाँडा विमानस्थल पर्दछ भने लामिडाँडा र थामखर्कमा पनि विमानस्थल छ। हलेसी जान सबैभन्दा नजिकको हवाई मार्ग लामिडाँडा हो। काठमाडौंदेखि करिब ३५ मिनेटको हवाई उडानमा लामिडाडा पुगिन्छ । तर लामिडाडामा हवाइसेवा नियमित भने छैन । त्यसैले पर्यटकहरु हलेसी जानको लागि सडक मार्गनै प्रयोग गर्नु राम्रो हुन्छ ।

काठमाडौंबाट हलेसी जाने दुइ वटा बाटो छन । तराइ तिरबाट जादा मिर्चैया-कटारी-घुर्मी-हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ । यो अलि लामो बाटो पर्छ । काठमाडौंबाट बीपी राजमार्ग हुँदै नेपालथोक-खुर्कोट हुँदै घुर्मीबाट पनि हलेसी पुग्न सकिन्छ । पश्चिम तराइको जिल्लाबाट हलेसी जानको लागि नारायणघाट-हेटौडा भएर मदनभण्डारी राजमार्ग हुँदै सिन्धुली भएर खुर्कोट-घुर्मी अथवा उदयपुर जिल्लाको कटारी भएरपनि घुर्मी हँुदै हलेसी पुग्न सकिन्छ । घुर्मीमा सुनकोशी नदीको पुल तरेपछि करिव १० किलोमिटरको यात्रामा दुधकोशी अर्थात जयरामघाट पुगिन्छ । जयरामघाटदेखि ३० किलोमिटरको यात्रामा हलेसी महादेवको मन्दिरमा पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker