तनहुँमा मतदानको नमूना अभ्यास : ८८ मतदाता, ७ बदर र २ वटा मतपत्र गायव
भञ्ज्याङ न्यूज

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले तनहुँको दमौलीमा बुधबार मतदानको नमूना अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा व्यास नगरपालिकाले दिउँसो १ बजे अनसन चौतारास्थित खुल्ला मेदानमा मतदानको नमूना अभ्यास गराएको थियो ।

अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढंगको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए ।
उनका अनुसार जिल्लाका १० वटै पालिकामा नमुना मतदान गरिने छ । मंगलबार म्याग्दे, बन्दिपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेको छ ।

‘हामीले नमुना मतदान सँगसँगै मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखि अगाडि बढेका छौं,’ उनले भने, ‘जिल्लाका ८५ वटै वडामा १ जना महिला स्वयंसेविकालाई परिचालन गरी वडास्तरबाटै मतदाता शिक्षा पनि दिइरहेका छौं ।’
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालयका प्रमुख, कर्मचारी, सञ्चारकर्मी तथा र्सवसाधारण गरी ८८ जना मतदानको नमूना अभ्यासमा सहभागि भएका थिए ।

८८ जनाले मतदान गरेकामा ७ मत बदर भएको र २ वटा मतपत्र गायब भएको मतदानको नमूना अभ्यास कार्यक्रमका व्यवस्थापक एवं व्यास नगरपालिकाका शिक्षा अधिकारी नवीन पराजुलीले बताए ।











