छाब्दीलाई नमूना पर्यटकीय क्षेत्र बनाइन्छ : नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमूना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताए ।
व्यास नगरपालिका-१४ छाब्दीमा मंगलबार आयोजित सभामा नेता पौडेलले भने, ‘निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्’, उनले भने, ‘शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको हो ।’
पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कहीकतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक छ ।’
अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु’, पौडेलले भने, ‘सत्तामा जान र पदका लागि मात्रै गठबन्धन होइन्, लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरिएको हो ।’
विकास गरी नमूना जिल्लाको रुपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताए । बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु अहिले भोट माग्दै मतदाताको घरदैलोमा पुगेका छन् ।










