बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

सुशील दर्नाल/रासस

काठमाडौँ : चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान शिव गिरीले सोमबार धान काट्ने बेला चरक्क घाम लागेको थियो । तर, मङ्गलबाट घाम देख्नै पाइएन । धान सुक्नै पाएन । बरु बुधबारदेखि निरन्तर झरी परिरहेको छ । गिरीलाई घाममा सुक्न नपाएको धानमा निरन्तर पानी पर्दा धान टुसा लाग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

उहाँले भन्नुभयो, “दुई बिघाभन्दा बढी धान काटेको तीन÷चार दिन भयो, धान काटेदेखि घाम लागेकै छैन, हिजो बिहानदेखि झन् पानी परिरहेको छ, अब धान खेतमै टुसा लाग्छ होला, वर्षभरि खेती ग¥यो स्याहार्ने बेलामा यस्तै हुन्छ ।”

गिरीलाई एकातिर काटेको धान सुकाउन नपाई उम्रिने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर ठूला पानी वा असिना परेर काट्न बाँकी धान पनि झार्दिने हो कि भन्ने छ । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ । तर वर्षा नरोकिँदा पाक्दै गरेको र काटेर सुकाएका धानमा असर गर्छ ।

गिरीले भन्नुभयो, “धान काटेर झार्नका लागि मुठा बाँध्ने काम हुँदै थियो, एक्कासि पानी प¥यो, पानीले कामै गर्न दिएन, अहिले बाँधेको मुठा र नबाँधेको धान सबै भिजेको छ ।”

गिरीले घाम लाग्ने प्रतीक्षामा मौसमसम्बन्धी समाचार पनि सुनिरहनुभएको छ । तर, जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’का कारण बिहीबारदेखि शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखाएको छ ।

गिरीलाई जस्तै भक्तपुरकै सूर्य विनायक नगरपालिका–७ गुण्डुकी मीना नगरकोटी र अनिता बस्नेतलाई पनि काटिसकेको धान घर भित्र्याउन नपाउँदा तथा काट्न बाँकी धानमा निरन्तर पानी पर्दा काट्नै नपाई झर्छ कि भन्ने चिन्ता लागेको छ । गिरी र नगरकोटीले जस्तै भक्तपुरका किसानले असिना पानीको डरले तिहारलगत्तै धान काट्न थालेका थिए । तर मौसम प्रभावित भएर घाम नलाग्दा र पानी पर्दा त्यहाँका किसानले धान काट्दा काट्दै बीचमै छोड्नु परेको छ ।

त्यसैगरी ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेका किसान नुच्छेराज महर्जनले मङ्गलबार मात्रै दुई रोपनीको धान काट्नुभयो । तर, विहीबारदेखि घाममा सुक्नुपर्ने धानलाई पानीले पिटिरहेको छ । उहाँलाई पनि धान भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता छ ।

महर्जनले भन्नुभयो, “खेती लगाउने बेला जहिल्यै मल र बीउको अभाव, बल्लतल्ल खेती लगायो, जब स्यार्ने बेला असिना र पानीको डर हुने, दुई वर्षअघि पनि यस्तै भएको थियो, घाम लागेको देखेर धान काटेपछि झटार्न नपाउँदै लगातार पानीले धान खेतमै उम्रेको थियो, अहिले तीन दिनदेखि निरन्तर पानी परिरहेको छ, पानीले कुटेर सबै धानले टुसा हालेर घरभित्र हाल्न पाइएन, अब अहिले त्यसै हुने त होला ।” काटेको धान भित्र्याउन नपाउँदा यो वर्ष धानको उत्पादन घट्ने उहाँको अनुमान छ ।

धान काटेपछि घाम नलाग्दा र निरन्तर पानी पर्दा ललितपुर तथा भक्तपुरका किसान जस्तै धादिङ, गोर्खा, लमजुङ, तनहुँ, रुपन्देहीलगायत देशैभरिका किसान पिरमा छन् । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि किसान चिन्तित छन् । यो यामको मुख्य बाली धान हो । धान स्याहार्ने अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई चोट परेको छ । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा मङ्गलबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजेको छ ।

अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । काट्न बाँकी धानको पनि पानीले बाला झारेको छ । बेमौसमी बर्सातका कारण वर्षभरिको मेहनत खेर जाने आम किसानको चिन्ता छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ का कारण आजदेखि शनिबार बिहानसम्म कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी, मधेस प्रदेशअन्तर्गत बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी, बागमती प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली मौसम प्रभावित हुने छ ।

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार सूचना जारी गरी बिहीबारदेखि शनिबारसम्म धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउन अनुरोध गरेको छ । बेमौसमी बर्सातका कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने कृषि विभागको भनाइ छ । विभागका सूचना अधिकारी तिलकराज चौलागार्इंका अनुसार यस वर्ष भदौ ८ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ९८.५४ प्रतिशत भूभागमा धान रोपिएको थियो । कोशी प्रदेशमा ८७.२४ प्रतिशत, मधेस प्रदेशमा ८६.३५, बाग्मती प्रदेशमा ९७.२७ प्रतिशत र गण्डकी प्रदेशमा ९६.६३ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत, कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९४.९ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत भूभागमा रोपाइँ गरिएको थियो । जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्दै धान बालीमा जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा विकास एवं उपलब्ध प्रविधिको प्रचारप्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेती (बर्खे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नेगरी सरकारले यस वर्षको धान दिवसको नाराको ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ तय गरेको थियो ।

कृषि विभागका उपनिर्देशक जगन्नाथ तिवारीले भने मौसमबारे बेलैमा पूर्वसूचना भएका कारण पनि किसानह धेरै धान काटिनसकेको अवस्थामा क्षति पनि कम हुन सक्ने बताउनुभयो । यो वर्ष पानी ढिला परेको र रोपाइँ पनि ढिलै भएका कारण धेरै धान काट्न बाँकी भएकाले क्षति पनि कम हुने उहाँको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा बर्खे र चैते दुवै गरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको र औसत उत्पादकत्व ४.१९ मेट्रिक टनप्रति हेक्टर रहेको थियो ।

विशेषगरी चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा बासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्थालगायत कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान/चामलको आयात अपेक्षाकृत कम हुन सकिरहेको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाइ आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय समावेश गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker