व्यास नगरपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनवाइ
नदी दोहोन, काममा ढिलासुस्ती, फोहोरमैला, बजेट बाँडफाँड लगायतका विषयमा नागरिकको जिज्ञासा

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादन भएका सेवा तथा योजनाहरुको सार्वजनिकिकरण गरेको छ । कार्यालय प्राङ्गणमा मंगलबार ‘जनतासंग स्थानीय तह’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी सम्पादन भएका कार्यक्रम सार्वजनिक तथा नागरिकका जिज्ञासाको सहजिकरण गरिएको छ ।
व्यास नगरपालिकाको आयोजना तथा महिला शसक्तिकरण सञ्चार समाजको सहजीकरणमा गरिएका सार्वजनिक सुनवाई कार्यक्रममा सहभागि नगरवासीहरूले मादी नदी माथिको दोहन, पुलको संरक्षण, काममा ढिलासुस्ती, फोहोरमैलाको व्यवस्थापन, पहुँचका आधारमा काम तथा विकास निर्माण लगायतका विषयमा जिज्ञासा गरेका थिए । सहभागिहरुले सहकारीको अनियमितता, डाङ्ग्रेखोल्सी हराएको विषय, अव्यवस्थित नाङ्गो तार लगायतका विषयमा समेत प्रश्न गरेका थिए ।
कार्यक्रममा सहभागि व्यास-६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गरेका थिए । अनुदन दिने व्यवस्था न्यायोचित नभएको, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरबासीलाई सूचना प्रवाह नगरिएको उनले गुनासो गरेका थिए ।
नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिदा पनि नगरपालिका चुप लागेर बसेको समेत आरोप लागेको छ । नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको, वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहदा वडाध्यक्षहरुले अनुगमन नगरेको समेत नगरबासिले गुनासो गरेका छन् ।
यस्तै व्यास-१ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट वितरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिदा न्यायोचित नभएको गुनासो गरे । जनसंख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हुचुवाका भरमा बजेट विनियोजन गर्नु न्यायोचित नभएको उनले बताए । सहभागिहरुले घर नक्सा बनाउने क्रममा एउटै बाटोको दुरीमा पनि फरक फरक मापदण्ड कायम गरेर स्वीकृति दिएको समेत गुनासो गरेका छन् ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूवर्ाधार तथा प्राविधिक शाखा प्रमुख डा. राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्द गुरुङले चालु आर्थिक वर्षो पहिलो चौमासिकमा सम्पादन भएका योजना विवरण सार्वजनिक गरेका थिए ।
यस्तै, नगरबासिले उठाएको जिज्ञासाका विषयमा जवाफ दिँदै नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिका भित्र छिटोछरितो सेवासुविधा दिन नगरपालिका प्रतिवद्ध रहेको बताएका थिए । उनले मादी नदीको दोहन सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै व्यक्तिको क्रियाकलाप बन्द गराइ नगरबासीको हितमा अगाडि बढाइएको काम कसरी अनुपयुक्त हुन्छ भन्दै प्रतिप्रश्न गरेका थिए । नगर भित्रको र्सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले प्रत्येक वडादेखि नै काम अगाडि बढाउँदै गएको नगरप्रमुख न्यौपानेले बताए ।