पराशर माविले मनायो ३१औं वार्षिकोत्सव
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयले ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शनिबार वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा खेलेको भूमिकाको प्रशंसा गरे ।
विद्यालय अनुशासन तथा शैक्षिक गुणस्तरमा व्यास नगरपालिकाकै नमुना विद्यालय बन्ने विश्वास व्यक्त गर्दै विद्यालयमा समयअनुकुल प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि थप प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयमा झण्डै २५ वर्ष प्रधानाध्यापकको रुपमा कार्यरत विद्यालयका निवर्तमान एवं संस्थापक प्रधानाध्यापक हेम पौडेललाई सम्मान गरिएको थियो ।

विद्यालयलाई छात्रवृत्ति लगायत अन्य कार्यमा सहयोग गरेको भन्दै पोखरा नगरपालिका चाउथे निवासी हाल ब्रिटिस सेनामा कार्यरत विनोद श्रेष्ठ, १ लाख ७ हजार ७७८ रुपैयाँको अक्षयकोष स्थापना गर्ने हेम उषा गरिब तथा जेहन्दार छात्रवृत्ति अक्षयकोषका र संस्थापक हेम पौडेल तथा उषा क्षेत्री, उस्मान फाउन्डेसनका प्रतिनिधि सलीम मिया, खेमबहादुर अक्षयकोष संस्थापक खेम बहादुर रानाभाट, सरस्वती पुस्तक पसल दमौलीका संस्थापक प्रोपाइटर रामभक्त रानाभाट, विद्यालयका पूर्व शिक्षक परशुराम गिरी लगायतलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले ६२ लाख बराबरको आय व्यय तथा करिब तीन करोड ३५ लाखको अनुमानित आयव्ययको विवरण प्रस्तुत गरेका थिए ।










