जनताको जीवनस्तरलाई विकास र समृद्धिसंग मापनगर्ने लक्ष्य अनुरुप अगाडि बढेका छौं : भिमाद नगरपालिका

नारायण खड्का/तनहुँ

जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर छ । साविक अरुणोदय, किहुँ, भानुमती, भिमाद, माझकोट (१-५, ७-९), रिसिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गा.वि.स समावेश गरी जम्मा ९ वडा कायम गरिएको छ ।
यो सुन्दर नगरपालिकाको नामांकन महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले भिमबाँध शब्दको अपभ्रंस भई भिमाद भन्ने शब्द जनजिब्रो र प्रचलित भाषामा लोकप्रिय भएकाले यस ऐतिहासिक स्थलको महिमालाई झल्काउने गरी भिमाद नगरपालिकाको रुपमा नामाकरण गरिएको हो । पर्यटकीय, धार्मिक, जैविक विविधतायुक्त वन जंगल, नदीनाला, कृषि उर्वरभुमी र व्यापार व्यवसाययुक्त भएको अनुपम भूमिका रुपमा यस नगरपालिकालाई लिन सकिन्छ ।
२०७८ सालको जनगणना अनुसार यो नगरपालिकाको कुल जनसंख्या पुरुष १३३८४ र महिला १५८६४ गरी कुल २९२४८ रहेको छ । नगरवासीको मुख्य पेशामा कृषि र व्यापार रहेता पनि आम्दानीका श्रोतहरुमा वैदेशिक रोजगारको महत्वपूर्ण योगदान छ । उत्तर तर्फ शुक्लागण्डकी नगरपालिका, दक्षिण घिरिङ गाउँपालिका, पश्चिम स्याङजा जिल्ला तथा पूर्वमा म्याग्दे गाउँपालिका यस नगरपालिकाको सिमाना कायम गरिएको छ ।
तनहुँको भिमाद नगरपालिका स्थित धन्दुर सिद्धगुफा । तस्विर : नारायण खड्का/भञ्ज्याङ
यस नगरपालिका-६ भिमादबजारमा रहेको झण्डै २०० वर्ष भन्दा पुरानो स्थानीय फलाम खानीबाट उत्खनन् गरिएको फलामबाट स्थानीय कालीगढहरुले साङ्लोबाट निर्माण गरेको झोलुङ्गे पुल तथा सो पुलसंग जोडिएको त्यतिकै पुरानो शिवालय मन्दिर छ । शिवपाञ्चायन मन्दिर, कोटबाराही मन्दिर, सतीकोट मन्दिर, लाटी बाराही मन्दिर, विभिन्न थुम्काहरुमा रहेका कोट, भिमाद बजारमा महाभारत कालिन भिमसेनले सेतीनदीमा बाँध बाँधेको अवसशेष लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् ।

दधिराज सुवेदी : नगरप्रमुख

‘भिमाद नगरपालिकाको आधार : पर्यटन, कृषिमा यान्त्रिकरण आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ नगरपालिकाले आफ्नो नीति, कार्यक्रम र बजेट निर्माण गरी विकास समृद्धिको लक्ष्य प्राप्तिमा लागि परेको छ ।
विकास भन्नाले नारामा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात छ, तर जनताहरुको लागि नारा भन्दा बाहेकको एजेण्डामा यातायात आएको नगरप्रमुख दधिराज सेवदी बताउँछन् । ‘अहिले विकासको नाममा कति काम भएको छ भनेर बाटोलाई मात्र नाप दिएको र जति सेवाग्राहीहरु आउँछन विकास यती भयो भनेर भनिरहदा कति किलोमिटर बाटो बन्यो भनेर प्रश्न आउँछन’, उनले भने, ‘जनतामा रहेको विकासको अवधारणहरु परिवर्तन गर्नुपर्छ । विकास भनेको भौतिक संरचनाको थुप्रो मात्रै हैन, विकास भनेको जनताको जीवनसंग जोडिएर समृद्धीको मापन, विकासको मापन हो भन्ने लक्ष्य अनुरुप नगरपालिकाले योजनाहरु बनाएको छ ।’
‘अहिले ठुला योजनाहरुमा हाम्रो बाटो नै परेको छ, अहिले वडा नं. ५ मा करिब ५ करोड, वडा नं. १ र २ को मार्गमा २ करोड, वडा नं. ९ को पाथर्दी होमस्टे जाने बाटो २ करोड, वडा नं. ८ प्रवेश गर्ने भिमाद-सिम्ले भागरमोटरमार्ग २ करोड बजेटमा बाटो पिच गर्दै छौ । भिमकाली मोटरमार्गको भोमाखण्ड, भिमभैरव मोटरमार्गको राङरुङखण्ड यी ठुलो खण्ड यस वर्ष पिच भएको हो ।
त्यसैले पहिलो नम्बरमा समृद्धीको आधार बाटो र यातायात नै हो’, नगरप्रमुख सुवेदीले भने, ‘भिमादका जनताका लागि ‘समृद्धिको आधार कृषि उपजको वृद्धि र व्यापार’ मुल नाराका साथ जनता सामु प्रस्ताव राख्यौ तर यहाँका ग्रामीण भेगमा बसोबास गर्ने जनताले जे जति उत्पादन गरे पनि बिक्री नै हुँदैन । गाउँमा उत्पादन भएका कोदो, मकै बिक्री नभएको तर बजारको चामल बोराका बोरा लागि हरेक घरमा खाना पाकिरहेको पाइन्छ । यसले उर्वर जमिनहरु सबै बाँझिदा गरिबी थपिदै गएको र पौष्टिक आहार नखाइ बजारका विषादीयुक्त खानाले जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ ।’
नगरपालिकाले हरेक टोलमा समुह दर्ता गरी सदस्य बनाएर प्रशीक्षणमा कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने हिसाबमा आ-आफ्नो ठाउँ हेरेर उत्पादनको क्षेत्रमा अनिवार्य सम्लग्न गराउने लक्ष्यका साथ नगरपालिका लागि परेको छ । स्थानीयको सक्रिय संलग्न रहेर सहकारी संस्थाबाट ऋण, उन्नत बीउ, उपयुक्त मल, उपयुक्त प्रविधि प्रयोग गर्नको लागि नगरपालिकाले सुविधा दिने र सहयोग गर्ने कार्यक्रम अगाडि ल्याएको नगरप्रमुख सुवेदीले बताए ।
‘प्राविधिक रुपमा उत्पादन गर्न लगाइ उनीहरुकै सहकारीको समन्वयमा उत्पादन भएका वस्तु सहज रुपमा बजारीकरण गरी कृषकलाई उत्पादन गरे बिक्री हुन्छ भन्ने भावना जागृत गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘सरकारले तोके बमोजिमका नीति नियमहरु समावेश गरेर आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारीमा छौ ।
स्वास्थ्य केन्द्रमा निःशुल्क औषधी, उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्था गरी जनतालाई प्रेरित गर्दै अघि बढेका छौ । यसैले २/३ वटा वडाहरुमा परीक्षणको लागि सुत्केरी जाँच, बच्चालाई खोप लगाए नलगाएको, बच्चाको स्वास्थ्य बारे ध्यान नदिने भएको हुनाले चरण अनुसार यसको लागि प्रोत्साहन स्वरुप पुरस्कार राखि प्रेरित गरेका छौ । शिक्षा देश भरिको समस्या हो तर हामीले जतिसम्म सक्छौ, त्यती समाधानका लागि प्रयास गरेका छौं ।’
‘सिमित श्रोत साधनको आधारमा जनतासंग काम गर्नुपर्ने हुन्छ, श्रोत साधन थोरै र जनताको अपेक्षा धेरै छन् । सरकारले अहिले पनि कृषि अनुदान, स्वास्थ्य उपचार आदिमा बजेट लगानी गरेका छ, तथ्याङ्क अनुसार किसानको लागि वार्षिक रुपमा करिब २ करोड बजेट कृषि औजार र सुविधाहरु वितरण गरिएको छ’, उनले भने, ‘गत वर्ष ट्रयाक्टर वितरण, अन्य सामाग्री वितरण गरियो तर ती औजार अहिले किसानहरुसंग देखिदैनन् र सिमान्तकृत वर्ग, कृषिमा आधारित र गरिब वर्गले यस्ता सामाग्री पाएका छैनन् । जो कृषि शाखा, नगरपालिकासंग निकट छ, उनीहरुले मात्र अनुदान पाएको देखिन्छ  यस्तो कार्यक्रम लक्षित वर्गसम्म पुग्नका लागि हाम्रा नीति नियमलाई सरलिकरण गर्न आवश्यक देखिएको छ ।’
भिमाद बजार
‘सरकारले बनाइदिएको कार्यविधि अन्तर्गत आलुको विउ उत्पादन जस्ता अन्य अनुदानको लागि आएको बजेट हाम्रा किसान वर्गले काम गर्न नसकेको कारण बजेट फिर्ता गयो । यसैले ठुला ठुला फार्म सञ्चालन गर्न चाहनेलाई अनुदान दिन सक्दैनौ, सानो खेतबारीमा कृषि, थोरै मात्रामा पशुपालन गर्न चाहने किसानलाई अनुदान दिन सक्छौ’ उनले भने । कुनै किसान आफ्नो २ वर्षदेखिको बाँझो जमिनमा खेती गर्छु भने उनीहरुलाई प्रतिरोपनी २ हजार रुपैयाँका दरले ३ वर्षम्म अनुदान दिने व्यवस्था नगरपालिकाले गरेको छ ।
यस्तै आफ्नो जग्गामा खेती नहुँदा अरुको जग्गामा खेती गर्छु भनि माग गर्न आएको खण्डमा भूमि बैंक स्थापना गरी सम्बन्धित व्यक्तिलाई दिने व्यवस्था गरिएको नगरप्रमुख सुवेदीले बताए । नगरपालिकाले त्यसवापत किसानले प्रतिरोपनी ३ हजारको दरले ३ वर्षसम्म अनुदान पाउने र सहुलियत दरमा जोत्ने औजारहरु पनि उपलब्ध गराउने व्यवस्था नगरपालिकाले बनाएको छ । कुनाकाप्चामा रहेका गरिब किसानहरुको घरघरमा गई उनीहरुले पाउनुपर्ने सेवा सुविधा न्यायोचित वितरण गर्ने योजना नगरपालिकाले बनाएको छ ।

शारदा खनाल : उपप्रमुख

भिमाद नगपालिकाले विशेष गरी गरिब वर्ग र किसानलाई उकास्न विभिन्न ठाउँबाट लागि परेको उपप्रमुख शारदा खनालले बताइन् । कृषिबाट किसानहरुको जीवनलाई समृद्धीतर्फ उकास्ने हामी लक्ष्य लिएका छौं र सोही अनुसार नीति, कार्यक्रम बनाएर आवश्यक बजेटको व्यवस्थापन पनि गर्दै आएको उनले बताइन् ।
नगरपालिकामा न्यायीक समितिको संयोजकको भूमिका निर्वाह गरिहदा दर्ता हुन आएका मुद्दाहरुलाई सम्भव भएसम्म दुबै पक्षलाई जितजितको अनुभूति हुने गरी मिलापत्र गराउने गरेका छन् । न्यायीक समितिमा प्राय जसो जग्गा जमिन साँधकिलो विवावद, झैझगडा र घर झगडाका मुद्दाहरु आउने गरेको हुँदै दुबपक्ष बीच छलफल गरी न्यायनिरुपण गर्ने गरेको उपप्रमुख खनालले बताइन् ।
यस्तै, नगरपालिकाबाट विनियोजित बजेटबाट निर्माण गरिएका विकास निर्माणका कामको पनि नियमित अनुगमन गर्ने गरिएको छ । कामको गुणस्तर, परिणाम हेरेर मात्र भुक्तानी दिने गरिएको उनले बताइन् । संघ प्रदेशबाट सिधै आएका योजनाहरुको काम नगरपालिकासंग समन्वय नगरी काम गरिदिंदा अनुगमनका क्रममा विभिन्न समस्याहरु झेल्नुपरेको पनि उपप्रमुख खनालले बताइन् ।

टेकनाथ दाहाल : प्रमुख प्रशासकीय अधिकृत

भिमाद नगरपालिकाले विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि मुख्यत कृषि, पूर्वाधार र शिक्षालाई बढि प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल बताउँछन् । संघीय सरकारबाट आउने केही बजेटहरु टेण्डर प्रक्रियाबाट काम गरिएपनि समयमा बजेट निकासा नहुँदा भुक्तानी तथा काम सम्पादनमा समस्या पर्ने गरेको उनले बताए।
‘भिमादमा संघीय सरबारबाट प्राप्त बजेटबा १५ शय्या क्षमताको अस्पताल भवन टेण्डर प्रक्रिया भएको छ, स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयबाट समयमै बजेट नआउँदा कामदारहरुले पाउने पारिश्रमिक नपाएर काम छोडेर हिड्नुपर्ने स्थिति सिर्जना भएको छ’, उनले भने, ‘यससंगै संघबाट कार्यक्रम बजेट हेर्न र प्रदेशबाट समन्वय गर्न समस्या देखिएको छ। कतिपय योजनाको हकमा पालिकासंग प्रत्यक्ष समन्वय नहुँदा र जनशक्तिको कारण समस्या झेल्नुपरेको छ ।’
यस्तै, प्रदेश लोकसेवाबाट कर्मचारीहरु आउँछन, हामीले सम्बन्धित कार्यालयमा पठाउछौ । तर केही समय पश्चात ती कर्मचारीहरु प्रदेश लोकसेवा तथा संघको लोकसेवा पास गरी घरपायक पारेर अन्यत्र सुरुवा हुँदा कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिने गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । नगरपालिकाले विशेष गरी वडास्तरमा ५औं तहसम्मको कर्मचारी समस्या झेल्दै आएको छ । आन्तरिक आय वृद्धिको श्रोत नभएका कारण संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान तथा बजेटबाट काम गर्नुपर्दा अपेक्षित ढंगबाट काम हुन सकेका छैनन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker