तेश्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २४ गते महिलाहरु बीच खुल्ला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । धार्मिक स्थल व्यास पराशर क्षेत्र र ऐतिहासिक स्थल तनहुँसुरलाई म्याराथनको माध्यमबाट जोड्ने उद्देश्यका साथ नगरपालिकाले तेश्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन गर्न लागेको हो ।
व्यास गुफादेखि तनहुँसुरसम्मको २१ किलोमिटर दुरीमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगितालाई सम्पन्न गर्न नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उद्देश्यले धार्मिक क्षेत्र व्यास गुफादेखि ऐतिहासिक ठाउँ व्यास-११ को तनहुँसुरसम्म पुगेर टुंगिनेछ । प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार ७९, दितिय हुनेले रु ३१ हजार ७९ र तृतीय हुने धावकले रु २१ हजार ७९ रुपैयाँ सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा सान्तवना पुरस्कार तीन जनालाई रु. ११ हजार ७९ रुपैयाँका दरले पुरस्कार प्रदान गरिने व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले बताए ।
व्यास गुफादेखि सफासडक हुँदै तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानीहुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको सम्पन्न हुनेछ । बिगतमा गर्दै आएको महिला हाफ म्याराथन प्रतियोगितालाई यसबर्षपनि निरन्तरता दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले यस अघि शहीद दिवसको अवसरमा मानहुँकोटबाट पुलिमराङसम्म पुरुष म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ ।










