प्रथम व्यास नगर महिला हाफ म्याराथनमा ५६ जनाको नाम दर्ता
भञ्ज्याङ समाचारदाता (दमौली)

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला हाफ म्याराथन दौड प्रतियोगितामा ५६ जना सहभागी हुने भएका छन् । धार्मिक पर्यटकीय स्थल व्यास-३ व्यासगुफादेखि ऐतिहासिक स्थल व्यास-११ को तनहुँसुरसम्मको २१ किलोमिटर म्याराथनमा आइतबार साँझसम्म ५६ जनाले नाम दर्ता गराएको नगरपालिकाकी उपप्रमुख तथा प्रतियोगिताकी संयोजक मिरा जोशीले बताइन् । उनले भनिन्, ‘नाम दर्ता गरेकामध्ये ५३ जना हाम्रो सम्पर्कमा आइसक्नु भएको छ र अन्य सहभागी भोली ७ बजेसम्म सम्पर्कमा आइसक्ने बताउनुभएको छ ।’ बिगत चार वर्षेखि अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फागुन २४ गते दमौलीबाट तनहुँसुरसम्म महिला हाफ म्याराथन आयोजना गरेको हो ।
नगरपालिकाले शहिद दिवसका अवसरमा मानुङकोटदेखि पुलिमर्याङको शहिद पार्कसम्मको ४४ किलोमिटर दुरीको खुल्ला अल्ट्रा म्याराथन गर्दै आएको छ । व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई समेत महशुस गरी हाफ म्याराथन गर्न लागिएको संयोजक जोसीले बताइन् ।
दौड प्रतियोगिताका कारण मानुङमा पर्यटकको आकर्षण देखिएको हुँदा ऐतिहासिक स्थल तनहुँसुरको पनि प्रचारप्रसार गर्न महिलाको दौड आयोजना गरिएको र यसलाई निरन्तरता दिने योजना रहेको नगरपालिकाको रहेको छ । गत वर्ष तय गरिएको महिला म्याराथन कोभिड-१९ का कारण स्थगित भएको नगर उपप्रमुख जोशीले बताइन । खुल्ला हाफ म्याराथनका विजेताहरुलाई कारबाहेक प्रथम पुरस्कार ४१ हजार ७७, द्धितीय पुरस्कार ३१ हजार ७७, तृतीय पुरस्कार २१ हजार ७७ रुपैयाँ र पाँच जनालाई सान्त्वना पुरस्कार स्वरुप ११ हजार ७७ रुपैयाँ प्रदान गरिने छ।
व्यास गुफादेखि सुरु हुने हाफ म्याराथन सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गनिेछ । म्याराथन रुटमा खेलाडीको निग्रानीका लागि दौड विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकहरुको दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानी, चकलेट साथसाथै स्वास्थ्यसंग सम्बन्धित आवश्यक सम्पूर्ण सामाग्रिहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने संयोजक जोशीले बताइन्।










