तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटक

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड-१९ को संक्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् ।

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ पर्यटक बन्दीपुर भित्रिएको जानकारी दिनुभयो । “कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आएका थिएनन्, कोरोनाभन्दा पहिला बन्दीपुरमा विदेशीमध्ये चिनियाँ पर्यटक बढी हुन्थे”, गुरुङले भन्नुभयो, “कोरोनाले सुस्ताएको बन्दीपुरको पर्यटन अब विस्तारै लयमा फर्किदैछ ।”

काठमाडौँ ओर्लिएपछि पोखरा जाने क्रममा एकरात बिताउन भए पनि पर्यटक बन्दीपुर आउने गरेको उहाँले जानकारी दिनुभयो । “बन्दीपुरमा आएकामध्ये आधाजसो पर्यटक पोखरा र काठमाडौँ जाने तयारीमा छन्”, गुरुङले भन्नुभयो । बन्दीपुरमा यतिबेला अन्य देशका विदेशी पाहुनाको भने चहलपहल भइरहेको छ ।

चीनले फागुन १ गतेदेखि पर्यटकका रूपमा घुम्न जान पाइने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको थियो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसन प्रधानले बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किदै गरेको बताउनुभयो ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker