जीतप्रकाश आले : बन्दिपुर क्याम्पसको स्ववियु सचिव हुँदै प्रदेशको अर्थमन्त्रालयको यात्रामा
भञ्ज्याङ समाचारदाता/तनहुँ

वि.सं. २०१८ पुस २४ गते साविक माझकोट-९, मिर्छुलुङ (हालको भिमाद-५) मा जन्मिएका जीनप्रकाश आलेको राजनीतिक यात्रा सफलतापूर्व अगाडि बढ्को छ ।
२०३५/०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी उनी २०३७ सालमा बन्दिपुर क्याम्पसको स्ववियु सचिव बनेका थिए। २०३९ मा नेविसंघ तनहुँको सचिव बनेका आले २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनमा एक वर्षभन्दा बढी जेल र पटक पटक पक्राउ परेका थिए ।
अर्थशास्त्रमा एम.ए. गरेका आले २०३५ सालमा बीपी कोइरालाको पोखरा आगमनमा स्वागतार्थ सहभागी भएका थिए । २०४६ को जनआन्दोलनमा इलाकास्तरीय संयुक्त संघर्ष समितिको संयोजक बनेका आले २०४९ मा नेपाली कांग्रेस जिल्ला सदस्य, २०५३ मा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति बनेका थिए । २०५९ मा नेपाली कांग्रेसको सचिव बनेका उनी २०५८ देखि निरन्तर महाधिवेशन एवं महासमिति सदस्य छन् । नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले शुक्रबार दिउँसो गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री बन्न सफल भएका छन् । आलेले विगत दुइ वर्षको बीचमा पार्टीको सभापति, प्रदेश सांसद र मन्त्रीको जिम्मेवारी प्राप्त गरी लगातार महत्वपूर्ण तीन वटा पदमा हृयाटि्रक गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट निर्वाचित जीतप्रकाश आले गण्डकी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएपनि शुक्रबार शपथग्रहण गरेका छन् । नेकपा -एकीकृत समाजवादी)का सांसद राजिव गुरुङलाई मन्त्री नबनाएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा. टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए । ७ सदस्यीय मन्त्रिपरिषद्रुमा मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुइ मन्त्रालय पाउँदा धेरैले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निर्क्योल निकालेका थिए ।
जीतप्रकाशको नाम मन्त्री बन्ने चर्चामा कतै सुनिएको थिएन । जीतप्रकाशको नाम न सञ्चार माध्यमले नै उल्लेख गरे न कांग्रेस सांसदले नै । जसै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए, त्यहाँ जीतप्रकाश पनि समेटिए । त्यो पनि शक्तिशाली अर्थ मन्त्रालयको बागडोर उनको जिम्मामा पर्यो ।
आले नियुक्त भएर सपथ लिन प्रदेश प्रमुख निवास पुग्दासम्म उनी मन्त्री बन्ने सुइँको अधिकतम सांसदले पाएनन् । तर, मुख्यमन्त्रीनिकट स्रोत भने उनी पहिलेदेखि नै मन्त्रीको लाइनमा भएको बताउँछ । ‘अरु मन्त्रीजस्तो उहाँ पनि मन्त्रीको दौडमै हुनुहुन्थ्यो, अन्तिममा उहाँले अलि बल लगाउनुभयो अनि उहाँले जित्नुभो र मन्त्री हुनुभो,’ उनले भने ।
नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा चल्दा आलेको नाम कसैले लिएनन् । कांग्रेसबाट दुइ मन्त्री बन्दा भूगोलको हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र धौलागिरी क्षेत्रको बागलुङका दीपेन्द्रबहादुर थापाको नाम आउँथ्यो । बीचमा कांग्रेसले थप दुइ मन्त्रालय लिने करिब ‘कन्फर्म’ भइसकेको थियो ।
सोही समयमा आलेमगर मन्त्रीको लाइनबाट बाहिरिएको जस्तो थियो । उनी गृहजिल्ला तनहुँ फर्किसकेका थिए । तर, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको जोडबलपछि उनी पुनः मन्त्री बन्ने दौडमा फर्किए । त्यसो त राष्ट्रपति रामचन्द्र पौडेलका विश्वासपात्र पनि हुन् आले ।
गठबन्धनकै कारण एकीकृत समाजवादीबाट मन्त्री बनाउनुपरे बरु गैरसांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत कांग्रेसभित्र बलियो भयो । मुख्यमन्त्री पाण्डे पनि मनाङेलाई मन्त्री बनाउनै नपरे हुन्थ्यो भन्नेमै थिए । उनी सोही विषय लिएर काठमाडौं पनि पुगे । र, केन्द्रीय नेतृत्वलाई ‘कन्भिन्स’ गराए, त्यसपछि गण्डकीमा कांग्रेसले थप तीन मन्त्रालय लिने अवस्था आयो, त्यसमा सबैलाई पन्छाउँदै जितप्रकाशले जित हात पारे । ‘जब मुख्यमन्त्री काठमाडौं जानुभो, कांग्रेसले थप तीन मन्त्रालय लिने सहमति भयो, त्यसपछि अस्ति बेलुका (बिहीबार) मात्रै जितप्रकाश मन्त्री बन्ने निश्चित भएको हो’, मुख्यमन्त्री स्रोतले भन्यो ।
कांग्रेसका भागमा ५ मन्त्रालय पाउँदा भाग्य खुलेका जितप्रकाश मन्त्री मात्रै बनेनन्, शक्तिशाली अर्थ मन्त्रालयको तालाचाबी नै पाए । शंकर भण्डारीको जोडबल र संसदीय दलको नेता बन्न पाण्डेलाई समर्थन गरेका कारण जितप्रकाशलाई गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने स्वर्णिम अवसर जुट्यो । ‘जितप्रकाशको सोझोपना देखेर आफैको प्रभाव बढी जमाउन सकिन्छ अर्थमन्त्री नियुक्त गरेको हुन पनि सक्छ’, स्रोतले भन्यो ।
जितप्रकाश राष्ट्रपति रामचन्द्र पौडेल कित्ताका थिए । तर, नेपाली कांग्रेसको चौथौं महाधिवेशनमा रामचन्द्र बैकुन्ठ न्यौपानेलाई जिल्ला सभापतिमा उठाएपछि जितप्रकाश पार्टी सभापति शेरबहादुर देउवा कित्तामा गएर सभापति लडे र जिते । कित्ता परिवर्तन गरेर जित्नु उनको सरप्राइज थियो । पछि रामचन्द्र पौडेल कित्तामै फर्किएका थिए ।
यस्तै, गण्डकीमा नवनियुक्त अर्थमन्त्री जितप्रकाश आलेमगरले प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्न आफ्नो विशेष ध्यान दिने बताएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ’, उनले भने ।
पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।’










