भानु नगरपालिकाको नगर शिक्षा योजना पारित
भञ्ज्याङ समाचारदाता/भानु

तहुँको भानु नगरपालिकाले नगर शिक्षा योजना पारित गरेको छ । नगरकार्यपालिकाको बिहीबार आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा बसेको दशौं बैठकले पञ्चवर्षीय नगर शिक्षा योजना पारित गरेको हो ।
बैठकले भानु नगरपालिकाको पञ्चवर्षीय नगर शिक्षा योजना २०७९/०८०-२०८३/०८४ सर्वसम्मतिले पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
गत वर्ष साउन ७ गते भानु नगर शिक्षा समितिले उपप्रमुख संयोजकत्वमा ९ सदस्सीय नगर शिक्षा योजना निर्माण कार्यदल गठन सरोकारवालाहरुसँग विभिन्न समयमा अन्तरक्रिया एवं छलफल गर्दै योजनामा समेटिनुपर्ने विविध विषयका सम्बन्धमा राय सुझाव समेत संकलन गरेको थियो ।
कार्यदलले तयार गरेको योजनाको मस्यौदा नगर शिक्षा समितिमा पेश भई नगर शिक्षा समितिबाट अनुमोदन गरी स्वीकृतिका लागि भानु नगर कार्यपालिकाको सातौं बैठकमा पेश भई योजना निर्माण प्रक्रिया लक्ष्य उद्देश्य रणनीतिहरु प्राथमिकताहरु तथा बजेटका बारेमा नगर शिक्षा अधिकारी पौडेलले कार्यपालिकाको बैठकमा पेश गरेका थिए ।
सामाजिक विकास समितिका सदस्यहरु लगायत कार्यपालिकाका अन्य पदाधिकारीहरु बीचमा छलफल र विचार विमर्श पश्चात प्राप्त राय सुझावहरुलाई समेत समेटी योजनालाई अन्तिम रुप दिए १०औं कार्यपालिका बैठकबाट पारित गरिएको हो ।
‘आगामी पाँच वर्षमा भानु नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि तयार गरेको एक महत्वपूर्ण मार्गदर्शक दस्तावेज तयार भएको छ’, शिक्षा अधिकारी पौडेलले भने, ‘अब यसले परिलक्षीत गरेका कार्यक्रमहरु क्रमशः कार्यान्वयन हुँदै जानेछन् ।
यस कार्यमा निवर्तमान नगरप्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा लगायत नगर शिक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संस्थाका प्रमुखहरु, वर्तमान नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत, योजना निर्माण कार्यदलका सदस्य, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती लगायत पदाधिकारीहरु, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका प्रधानाध्यापकहरु लगायतको महत्वपूर्ण योग्दान रहेको छ ।’
आगामी दिनमा यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार भानु नगरपालिकाको सिंगो टिम लगायत सबैको सकारात्मक सहयोगको खाँचो रहेको उनले बताए ।










