धर्म र अधर्मका कुरा
देव वस्न्यात

मन स्थिर छैन । मन दौडी रहेको छ । मन दौडी रहेको छ । दैडीरहेको मन कन्ट्रोल गर्न पर्दछ । मनलाई एकाग्र बनाउन जान्नु पर्दछ । एक पटक शरिरका महारथीहरु मन बुद्धि र इन्द्रियहरु बीच शरिरका लागि कुन ठूलो भन्ने बिषयमा बहस चलेछ । बहस हुँदा हुँदै इन्द्रियहरुको बीच ठूलो झगडा भयो रे। झगडियाहरुको झगडा समाधान गर्न आत्मा अगाडी सरेछ । मध्यस्थता गर्ने नाममा आत्माले सबैले एक/एक हप्ता शरिर छोडेर परीक्षण गर्ने प्रस्ताव राखेछ । सबैको मन्जुर भयो।
सबै भन्दा पहिले आँखाले शरिर छोडेर एक हप्तापछि शरिरमा प्रवेश गरेर सोधेछ । बिना आँखाको शरिरको कस्तो हालत हुँदो रहेछ थाहा पायौ भनेर प्रति प्रश्न गरेछ । सबैले एउटै उत्तर दिएछन । अन्धाले जस्तो व्यवहार गर्छ त्यही गरेर बस्यौं भनेछन् । यसै गरी क्रमशः कानको पालो आएछ- बहिराले जस्तो व्यवहार गर्छ त्यही गरेर बस्यौं भनेछन्। हातपाउको पालो आएछ- लङडा पंगुजस्तो व्यवहार गर्छ त्यही गरेर बस्यौं भनेछन् । बुद्धिको पालो आएछ- पागलले जस्तो व्यवहार गर्छ त्यही गरेर बस्यौं भनेछन् । मनको पालो आएछ- बालक जस्तो व्यवहार गर्छ त्यही गरेर बस्यौं भनेछन् । अन्त्यमा आत्माको पालो आएछ । शरिर छोडेर आत्मा एकान्त बासमा गएछ । बिना आत्माको शरिर किंकर्तव्यमूढ बनेछ । शरिरका सबै अङ्गहरु सिथिल भएछन् । सिथिल शरिरमा क्रमशः सबै इन्द्रियहरुले काम गर्न छोडेछन्। अन्ततः शरिरको मृत्यु भएछ। एक हप्तापछि आत्मा आएछ र सोधे छ को ठूलो रहेछ- सबैले एक साथ भनेछन्- सबै भन्दा ठूलो म नै भनेर हामी गर्व गर्दथ्यौं तर होइन रहेछ र हामी भ्रममा रहेछौं भनेर सबैले गल्ती महसुस गरेछन्।
विश्वमा कहिं नबनेको संविधान नेपालमा बनेको छ । हरेक संविधान र ऐनहरु बनाउँदा जारी साल पनि उल्लेख गरिन्छ तर नेपालको पछिल्लो संविधान जारी गर्दा इश्वीसम्वत राख्न नपाएको झोकमा विक्रम सम्वतको आवश्यकता नै परेन । यसैले संविधान जारी गर्नेबेलामा सन २०१५ उल्लेख नलेखिंदा बाबुरामजीको मन खुम्चिन पुग्यो । हिसिला यमी त देश खारेज गर्नपर्छ भनेर नारा पनि लगाउन पनि भ्याइन। अन्ततः त्यही संविधानमा नेपाल धर्मनिरपेक्ष राष्ट्र भनेर उल्लेख गरियो। नेपालमा धार्मिक भडकाव नआहोस भनेर वि.सं. २०७२ असोज ३ गते प्रकाशित गरिएको तथाकथित राजपत्रमा नेपालको संविधानको धारा ४ मा नेपाली शब्दकोषमा हुँदै नभएको गलत वाक्यांश उल्लेख गरेको पाइन्छ । सो धारा को स्पष्टिकरणमा यस धारा प्रयोजनको लागि धर्म निरपेक्ष भन्नले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । वास्तवमा सबैले आफना शरिर भित्र रहेका काम, क्रोध, लोभ, मोह र अहंकारनै आफ्ना महान दुष्मन रहेको पत्ता लगाएका छन् । थाहा पाएर पनि पश्चिमा हुण्डी खाएकाहरु मालिकका अगाडि नतमस्तक बनेका छन् ।
धेरैले पत्ता लगाइसकेको गल्तीलाई सच्च्याउन पर्नेमा गल्ती माथि गल्ती गर्दै राज्य भित्रकै सदियौंदेखि बस्दै आएका खस, मगर, नागर -नेवार, तमाङ), किराँत मैथिल नेपालीत्वको मूलकारक तत्वहरु हुन् । यसका अतिरिक्त गुरुङ, थकाली लिम्बु, हायु, थारु, दरै, कुमाल, राउटे, यादव र मुसलमानहरु यहाँका रैथाने हुन । खस समुदायका मूलहस्ती श्रीपाली, खप्तडी, सिञ्जापति, खुलाल र कालीकोटे र माथि उल्लेखित जातजाति समेतलाई विदेशवाट बसाइसरी आएका आप्रवासीमा दर्ज गरेर शरणार्थी बनाउने हिम्मत गरेका छन् । मधेशको मुद्दा सम्बोधन गर्ने क्रममा नेपाली खसत्व र आर्यत्वको घांटी निमोठिएको छ । विदेशी हुण्डीका रसमा डुबेकाहरुले आफ्ना गोडामा आफै बञ्चरा हान्दैछन् । जो राज्यको धर्म हुँदैन भनेर राज्यलाई सेक्युलर राष्ट्र बनाउन दवाव दिन्छन् त्यही देशमा बाइबल छोएर राज्य प्रमुख बन्दा सपथ गर्न लगाउँछ । क्रिश्चियन मध्येमै प्रेटेष्टेण्ट सम्प्रादय छोडर क्याथोलिक बनेमा राज्य प्रमुखको पदवी खोसेर अर्कालाई राज्याभिषेक गर्दछ त्यही देश धार्मिक स्वतन्त्रताको आवाज उठाउन लाज मान्दैन।
हिमाल, पहाड, तराइ सबै स्थानमा बस्ने नेपालीहरु प्राकृत धर्म मनाउँछन् । बाबा आमालाई देवता मानेर बाजेबज्यै पूजा गर्छन्। प्रकृति भित्रका १२ सूर्य, आठबशु एकादश रुद्र, प्रजापति (राजा=रा-राष्ट्रको, ज-जनक अर्थात पिता) र आफ्नै शरिरको मनसमेत गरेर ३३ प्रकारका (कोटी) देवता मान्छन् । अर्काको मुतको न्यानोमा रमाएकाहरुलाई राजा राम र गने भण्डारी एउटै भएको छ । धर्म त राज्यका नागरिकहरुले मान्ने चिज हो भनेर धर्म सापेक्ष नेपाल बनाउन हिम्मत गर्दैनन् । हिरण्यकसिपु, महिषासुर, तारकासुर, रावण, अहिरावण, कंश र चण्डमुण्डहरुले पनि देवत्व शक्तिलाई पराजित गर्दै अधर्मका राज्य चलाएका थिए । सायद तिनै शक्तिले अहिले नेपालमा हाली-मुहाली गरेका पाइन्छ । कलौ ब्राहृमण राक्षसा भनेको सही रहेछ भन्ने उक्ती नेपालका तथा कथित राजनेताहरुले देखाएका छन् । नेपालबाट म्लेच्छ धर्म छिटै व्याक होस यही हाम्रो सदिच्छा छ । त्यसैले हामी भन्ने गर्दछौं असत्यको सदैव पराजय र सत्यको सदैव विजय होस । त्यसैले अब आउने साउने संक्रान्तिमा लुतो फाल्ने अवसरमा राक्षस र राक्षसका मती रुपी सेक्युलर जस्ता अगुल्टाहरु पनि फालौं ।
हतार हतारमा मोहन शमशेर ज.व.रा.ले नेपालको बैधानिक कानुन २००४ ल्याए । नेपालको अन्तरिम शासन संविधान २००७ आयो । २००७ लाई निमोठेर नेपाल अधिराज्यको संविधान २०१५ आयो । नेपालमा बहुदलीय शासन व्यवस्था अफाप भन्दै नेपालको संविधान २०१९ पनि आयो । २०१९ लाई खारेज गरेर नेपालको संविधान २०४७ ल्याइयो। जनयुद्धको भूमरीले नेपालको अन्तरिम संविधान २०६३ लाई निम्तायो र आयो पनि। अन्त्यमा जारसाल उल्लेख नगरी नेपालको संविधान नामले आयो। सबै संविधानको जमघट हुना साथ एकै स्वरमा बोलेछन् विश्वकै सर्वोत्कृष्ट संविधान नेपालको हो भनेछन् । आधादर्जन भन्दा बढी सविधानले एक आपसमा ए त कहाँ ठूलो होस र म पो ठूलो हुँ भनि अहंकार गर्न पुगेछन् । संविधानहरुको बैठकमा संविधानहरुकै झगडा भएछ । संविधानहरुको झगडामा मध्यस्थता गर्न कोही गएन छन् । त्यही बेला पश्चिमबाट हुण्डी बोकेर थेमसनदी अमेरिकाबाट नेपालमा आइपुगेछ । थेम्स नदीले बगाएर ल्याएको युरो र डलर रुपि वालुवा संविधान सभाका सदस्यहरुका पोल्टामा पारेछ । ३३ कोटी देवीदेवताले समेत वयान गर्न नसकेको नागमणिको कथा ७ वर्षा भेटिकनसिटीबाट प्रेषित युरो र डलरका नशामा झुम पर्दा नेपालको संविधान जारी गर्दा वि.सं. २०७२ सालमा नेपालको एक मात्र पहिचान सनातन हिन्दु राष्ट्र नेपाल नाम नराख्ने नियत बनाएकै रहेछन् भन्ने प्रमाणित हुन पुगेको छ । धर्म माथि अधर्मको विजय भएछ । प्रकृतिमा धर्मले बास गर्दा हावा मन्द गतिमा बग्छ । अधर्म बढ्दै जाँदा हावा अली जोडसंग बग्दछ। हावा अझ बेजोडसंग बग्यो भने आँधी आउँछ। हुरी आउँछ । तुफान आँउछ । हावा हुरी, आँधी बेहरी तथा तुफानले वरपरका मात्र होइन सातसमुन्द्र पारका गन्धकी समेत बोकेर आँउछ ।
ललितानिवास काण्ड, सुनकाण्ड, धमिजाकाण्ड, गाइगोरु काण्ड, कार्यकर्ता भरणपोषण काण्ड, क्यान्टोन्मेन काण्ड जस्ता सैयौं गन्धकी बोकेर आएको छ । आँधी-बेहेरी र तुफानले ल्याउने गन्धकी सुस्त तथा मन्द गतीमा बग्ने हावाले थेग्न सक्दैन । चैते हुरीले धुलोमैलो स्याउला, बालुवा जस्ता गन्धकी ल्याउन नसकोस भनेर हावाको तेज गतीलाइ कन्ट्रोल गर्नु पर्दछ । उड्ने पंखाहरु काटी दिनु पर्छ। बढ्दो हावाको तेज घटायो भने हावासुस्त संग बग्दछ। भनिन्छ आँधी र तुफान भन्दा बेगमा मन दौडिन्छ । वेगमा दौडने हाम्रो मनलाई शुद्ध र पवित्र बनाउनै पर्छ । हाम्रो मन शुद्ध र पवित्र बनाउन तीब्रगतीमा दौडेको मनको गतीलाई पनि ब्रेक लगाउनु पर्दछ ।
सात सात वर्षसम्म चीर निन्द्रामा सुतेको संविधान सभा बेजेड गतीमा काम गर्दा तराइ बलेको थियो । पहाड जलेको थियो । वि.सं. १९०३ मा जंगबहादुर राणा र ब्रिटिस इष्ट इण्डिया कम्पनीले चलाएको कोतपर्व र भण्डारखाल पर्वले स्वतन्त्र राष्ट्र-नेपाललाई अर्धऔपनीबेसिक राष्ट्रमा लगेको थियो भने वि.सं. २०५१ देखि वि.सं. २०६३ सम्म चलेको तथाकथित १२ बर्षे जनयुद्धनामको धर्मयुद्धले वि.सं. २०७२ मा असोज ३ गतेमा आएर नेपाललाई अमेरिकी तथा भेटिगन सिटी सहितको पुरा युरोपियनको पूर्णऔपनीवेसिक राष्ट्रमा परिणत गरेको छ । यही मेसोमा नेपालमा एम.सि.सि. भित्रिएको छ । विदेशी सैनिकहरुका बुट नेपाली धरतीमा बज्रिन सुरु भइसकेको छ। सरकारका कृयाकलापहरु आतङ्ककारी शैलीले बढि रहेको छ । हामी सबैलाई स्वतन्त्र पूर्वक बाँच्न प्रेरणा दिनुको सट्टामा पराधीन हुन सिकाएको छ । यस्तो प्रवृत्तिलाई बेलैमा सच्च्याउन जरुरी छ । नेपालीत्वको मेटिएको पहिचान कायम गर्न र मेटिएको स्वतन्त्र सनातन हिन्दुराष्ट्र नेपाल कायम गर्न नेपालको संविधान २०७२ लाई खारेज गरेर नयां शिराबाट संविधान बनाउनु पर्दछ। खस, आर्य, तंगणका पञ्चमुहानीहरुका भावानामा खेलबाड गरेको वर्तमान संविधान नेपालको माटो सुहाउँदौ छैन । नजन्मदै संशोधनको भ्रुण सहित बोकेर आएको संविधानले नेपाल र नेपालीको हित गर्दै गर्दैन भनेर ठोकुवा गर्न सकिन्छ।
एक पटक एउटा मान्छेलाई कमिलाले टोकेछ । त्यो मानिसलाई रिस उठेछ। कमिला नचलामलाओस भनेर कमिला बाँध्न हात्ती बाँध्ने दाम्लो ल्याएछ । कमिलालाई सो दाम्लोले बाँधेछ पनि । कमिला त सानो थियो। कमिला दाम्लोबाट फुस्किएर गएछ। त्यो दाम्लोले केही काम गरेनछ । मेरो गोरुका बारै टक्का भनेर काम गर्दैगर्दा जमिन्दारले बाँधेको कमिला फुस्केको देख्दा हिस्स बूढी खिस्स दाँत भएछ। हात्ती बांध्नपो हात्ती बांध्ने दाम्लोले बांध्ने हो कमिलालाई बाँध्न कमिलाकै साइजको दाम्लो चाहिन्छ होइन र- अब श्वेत र लाल राक्षसहरुको आतङ्कबाट बच्न नेपाली जनता फलामे सिक्री पनि तोड्ने रणकौशल तयार गरी सकेका छन् । नेपालका बौद्ध, वोन, प्राकृतिक (मष्ट), मुस्लिम, किराँत, शिख, जैन र हिन्दु धर्मालम्बीहरुलाई थेमस नदीमा चोपलेर क्रिश्चियन धर्ममा धर्मान्तरण गर्ने अभियानमा लागेका शैतानहरुबाट सदैव सचेत रहन आबस्यक छ । अब नेपाल आमालाई धर्म निरपेक्ष राष्ट्र बनाइनु सोह्रै आना गलत छ भन्ने उद्घोष गर्दै नयाँ जनआन्दोलन गर्नु पर्ने समय आइ सक्यो भनेर किटान किन नगर्ने होइन र – स्व-धर्मको बिरुद्ध जेहाद छाड्ने र परधर्म अंगाल्ने महिषासुर जस्ता मसिहाहरुलाई आर्यघाट पुर्याउने बेला आइसकेको छ । सम्पूर्ण नेपाली दाजुभाइहरु मिलेर पर्रधर्मका हिमायतीहरुलाई भोट र वुलेटले पराजित गरी नेपालमा आफ्नै मौलिक समाजबादी व्यवस्था स्थापना गर्नमा अग्रसर हुने बेला आइसकेको छ ।
अन्त्यमा वि.सं. २०६५ सालमा दमौलीमा भाइरल ज्वरो फैलियो । उपचारको नाममा दमौलीको करोडौं रुपैया पोखराका अस्पतालहरुमा भित्रिन पुग्यो । दमौलीमा स्तरीय अस्पताल सोच आउन सकेन । सन २०१९ मा विश्वभर फैलिएको कोरोना वि.सं. २०७६ सालमा दमौली पनि फैलियो । मानिसहरुले खेतबारी बेचेर पोखरा र काठमाडौं गएर उपचार गरे । तनहुँको करोडौं रुपैयाँ फेरी बाहिरियो । नेपालमा कोरोना महामारी सिद्धियो । दमौलीमा व्यास नगरपालिकाले ट्रेडमल बनाउने एक सुत्रीय अभियान अघिसार्यो भवनहरु पनि बने । मानवीय स्वास्थ्यसंग सरोकार राख्ने दमौली अस्पतालको स्तरीकरण गर्ने कुरा उठेन । संघीय सरकार, प्रदेश सकार र स्थानीय सरकारले पनि चासो देखाएनन्। नेताहरुले जनता माथि नराम्रोसंग खेलबाड गरे ।
दमौली औल प्रभावित क्षेत्र हो । औल भन्दा खतरा डेङ्गु महानरोग हो । दमौली स्तरीय सरुवा अस्पताल हुनु पथ्र्यो । त्यो त परै जाओस अस्पतालको पूर्वाधार आजसम्म बन्न सकेको छैन । अहिले आएर दमौली पुनः डेङगुले संक्रमित बन्न पुगेको छ । उपचार गर्ने विशेषज्ञहरु र स्तरीय अस्पतालको अभावले जनताले उपचार पाउन सकेका छैनन् । तर दमौलीमा करोडौ खर्च लगाएर नेताहरुले भाषण गर्ने सभाभवनहरु सम्पन गरेर उद्घाटन समेत गरिएका छन्। सभाभवनहरु बनाउनमा सरकार र नीजि व्यवसायीहरुको होडबाजी नै चलेको छ । सरकारले खर्च गर्नै पर्ने थलो कुन हो- पहिचान नगर्दा दमौली निवासीहरु उपचार नपाएर जीवन उर्त्र्सग गर्दै गइरहेका छन् । स्थानीय निकायहरुको धर्म नागरिकहरुको कल्याण गर्नुमा आधारित विकास हो। हाम्रोमा अस्पताल बनाउन -लोककल्याणकारी काम गर्न) छोडेर ट्रेडमल जस्ता अधर्मकर्ममै व्यस्त रहनाले नागरिकहरु दिन प्रतिदिन मर्कामा पर्दै गएका छन् । केन्द्रीयदेखि स्थानीय नेताहरुमा सदबुद्धि पलाओस यही शुभकामना छ ।










