नेपाल भलिबल लिग विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्सलाई दमौलीमा भव्य स्वागत

‘गौरवको यात्रा’मार्फत बाजागाजासहित बजार परिक्रमा, तनहुँमै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने लक्ष्य

दमौली । नेपाल भलिबल लिगको पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्स टोलीलाई शनिबार तनहुँको दमौलीमा भव्य स्वागत गरिएको छ।

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा लिग विजेता टोलीलाई विजयी ट्रफीसहित बाजागाजाका साथ स्वागत गरिएको हो। ‘गौरवको यात्रा’ नाम दिइएको स्वागत कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई दमौली बजार परिक्रमा गराइएको थियो।

विजेता ट्रफीसहित खेलाडीहरू बजार परिक्रमा गर्दा खेलप्रेमी, युवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो। टोलीको स्वागतमा स्थानीयमा उत्साह र खुसीको माहोल बनेको थियो।

स्वागतपछि आयोजित कार्यक्रममा नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष उपाध्यायले नेपालमा भलिबल खेलको विकास र निरन्तरताका लागि खेलप्रेमी सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए।

नेपाली भलिबल खेलाडीलाई राष्ट्रिय सीमाभन्दा माथि उठाउँदै विश्वस्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल भलिबल लिगको सुरुवात गरिएको उनले बताए। लिगले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्नुका साथै व्यावसायिक रूपमा अघि बढ्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न आफूलाई तयार गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले तनहुँमा भलिबल खेलप्रति आकर्षण बढ्दै गएको बताए। जिल्लाका विभिन्न स्थानमा युवाहरूको भलिबलप्रतिको रुचि बढिरहेको भन्दै उनले खेलको विकासका लागि थप प्रोत्साहन र अवसर आवश्यक रहेको बताए।

अध्यक्ष पाण्डेले तनहुँमै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको समेत बताए। स्थानीयस्तरमा खेलाडी उत्पादन र खेलप्रतिको आकर्षण बढाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker