दगामको डाँडाबाट पर्यटनको नयाँ सम्भावना : गाउँ, संस्कृति र प्रकृतिलाई जोड्दै घरबास

दुलेगौंडा : शहरको कोलाहलबाट केही पर, शुक्लागण्डकी नगरपालिका–२ को दगाम पुग्दा प्रकृतिसँग नजिकिएको अनुभूति हुन्छ । डाँडाबाट देखिने हिमश्रृंखला, हरियाली वन, गाउँको मौलिक परिवेश र स्थानीय समुदायको आतिथ्यताले दगामलाई ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा उभ्याएको छ ।
दगामको यही प्राकृतिक सौन्दर्य, स्थानीय कला–संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्ने प्रयासस्वरूप मंगलबार घरबास (होमस्टे) प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति र वातावरण संरक्षण गर्दै ग्रामीण पर्यटनलाई प्रविधि तथा आधुनिक पर्यटन बजारसँग जोड्ने विषयमा छलफल गरिएको हो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको आयोजनामा भएको कार्यक्रममा दगामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना, घरबासको विस्तार, स्थानीय उत्पादनको बजारीकरण र पर्यटन पूर्वाधारका विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।
भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालका अनुसार दगामलाई यस वर्ष देशभरका उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यको सूचीमा समेट्न सिफारिस गरिएको छ । प्राकृतिक सौन्दर्य, घरबास कार्यक्रमको अवस्था तथा पर्यटकका लागि पहुँचलगायतका आधारमा दगाम छनोट गरिएको उनले बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगामलाई नगरपालिकाको प्रमुख पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजनालाई प्राथमिकतामा राखिएको बताए । उनले पर्यटक आकर्षित गर्न सडक तथा अन्य आवश्यक पूर्वाधार विकाससँगै स्थानीय मौलिकता जोगाउनुपर्नेमा जोड दिए ।
‘ग्रामीण पर्यटनलाई प्रविधिसँग जोड्दै दगामको पहिचानलाई विश्वमा पुर्याउने’ उद्देश्यका साथ अघि बढ्नुपर्ने बताउँदै नगरप्रमुख पण्डितले दगामको रैथाने कला, संस्कृति, स्थानीय उत्पादन र आतिथ्यतालाई पर्यटनको आधार बनाउनुपर्ने धारणा राखे ।
प्रकृति र संस्कृतिको संगम
दगामसँगै जोडिएको भुजिकोट क्षेत्रबाट कास्कीका तालतलैया तथा धौलागिरिदेखि गणेश हिमालसम्मका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्यसँगै ग्रामीण परिवेश नियाल्न सकिने भएकाले भुजिकोट–दगाम क्षेत्रलाई प्रकृति र ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि आकर्षक क्षेत्रका रूपमा नगरपालिकाले समेत प्रस्तुत गरेको छ ।
मगर र गुरुङ समुदायको बसोबास रहेको यस क्षेत्रमा स्थानीय भेषभूषा, भाषा, कला, संस्कार, परम्परा र खानाका परिकारलाई पर्यटनसँग जोड्न सकिने सम्भावना छ । स्थानीय कृषिउपज, मह, कोदो तथा अन्य रैथाने उत्पादनलाई पर्यटकसँग जोडेर गाउँको अर्थतन्त्र चलायमान बनाउन सकिने स्थानीयको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिकाले भुजिकोट, दगामलगायतका क्षेत्रलाई नगरका पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गर्दै आएको छ । नगरपालिकाका अनुसार यहाँको आकर्षण प्राकृतिक दृश्यसँगै स्थानीय समुदायको संस्कृति र होमस्टे पनि हो ।
पर्यटनसँगै गाउँ जोगाउने चुनौती
दगाममा पर्यटनको सम्भावना बढ्दै गए पनि गाउँबाट हुने बसाइँसराइ चुनौतीका रूपमा देखिएको नगरप्रमुख पण्डितले बताए । पर्यटक गाउँसम्म ल्याउने मात्र नभई उनीहरूको बसाइ लम्ब्याउने, स्थानीय उत्पादनको खपत बढाउने र पर्यटनबाट स्थानीय परिवारले आम्दानी गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । पर्यटन पूर्वाधार निर्माणसँगै गाउँको मौलिकता जोगाउनु अहिलेको अर्को महत्वपूर्ण पक्ष हो।
कंक्रिटका संरचना बढाउँदै लैजाँदा ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्य नै कमजोर हुने भएकाले विकासका नाममा गाउँको मौलिक स्वरूप नबिगार्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीयको जोड छ । स्थानीयवासीका अनुसार सडक, खानेपानी, सरसफाइ, सञ्चार, पदमार्ग तथा पर्यटकमैत्री आधारभूत पूर्वाधार सुधारसँगै घरबासलाई व्यवस्थित गर्न सके दगाममा पर्यटकको बसाइ बढाउन सकिन्छ । त्यसका लागि स्थानीय उत्पादनलाई पर्यटन बजारसँग जोड्नु आवश्यक छ ।

भ्यूटावरदेखि घरबाससम्म
दगामसँग जोडिएको भुजिकोटमा निर्माण गरिएको भ्यूटावरले यस क्षेत्रको पर्यटकीय पहिचान थप स्थापित गर्न सहयोग पु¥याएको छ । भुजिकोटबाट आसपासका पहाडी भूभाग, हिमश्रृंखला र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । नगरपालिकाले समेत भुजिकोटलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा उल्लेख गरेको छ ।
दुलेगौंडा–कोत्रे क्षेत्रबाट नजिकै रहेको उच्च भूभागमा अवस्थित दगाम–भुजिकोट क्षेत्रमा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै आएको छ । तर पर्यटनको सम्भावनालाई नियमित आम्दानीमा बदल्न भने अझै धेरै काम गर्नुपर्ने देखिन्छ । भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत रामहरि ढुंगाना, पोखरा महानगरपालिकाका कृषि तथा आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरिराम अधिकारी तथा भिटोफका उपाध्यक्ष विश्व अधिकारीलगायतले दगामलाई स्थानीय कला, संस्कृति, खानाका परिकार र प्राकृतिक दृश्यका कारण सम्भावनायुक्त ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे ।

गाउँमै रोजगारी र आम्दानी
ग्रामीण पर्यटनको वास्तविक उद्देश्य गाउँमा पर्यटक पु¥याउनु मात्र होइन, पर्यटनबाट गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नु हो । त्यसका लागि घरबासमा स्थानीय उत्पादन प्रयोग गर्ने, स्थानीय युवालाई पर्यटनसम्बन्धी सीप दिने, मौलिक खाना र संस्कृतिलाई पर्यटन प्याकेजमा समेट्ने तथा स्थानीय उत्पादनको बिक्रीको व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
दगामको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने स्थानीयको भनाइ छ । पूर्वाधार निर्माणमा सरकारको लगानीसँगै स्थानीयले आफ्नो मौलिकता, उत्पादन र आतिथ्यतालाई पर्यटनसँग जोड्न सके पर्यटन गाउँको आर्थिक आधार बन्न सक्ने सम्भावना छ । दगामको पहिचान प्रकृतिले दिएको सौन्दर्यमा मात्र सीमित छैन ।

यहाँको गाउँले जीवन, स्थानीय संस्कृति, रैथाने खाना, कृषि, मौरीपालन, हरियाली र मानवीय आतिथ्यता नै यसको मौलिक पर्यटकीय सम्पदा हुन् । त्यसैले दगामको पर्यटन विकासको बाटो प्रकृति जोगाउँदै, संस्कृति बचाउँदै र गाउँमै आम्दानी सिर्जना गर्दै अघि बढ्नुपर्ने देखिन्छ । ग्रामीण पर्यटनको यही अवधारणालाई व्यवहारमा उतार्न सके दगाम केवल घुम्ने ठाउँ मात्र नभई गाउँको मौलिक जीवनशैली अनुभव गर्ने गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।









