नारेश्वरताल जलाशय योजना निर्माणमा एक प्राबिधिकको अनुभव

इन्जिनियरहरूको प्राविधिक साहस, संघर्ष र पहिलो गौरवशाली जलाशयको सफल गाथा

गण्डकी प्रदेश सरकारको पहिलो जलाशय योजना निर्माण कार्य र परीक्षण सफलता पुर्बक सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तनहुँले उक्त निर्माण कार्य सम्पन्न गरेको हो । आफ्नो कार्य क्षेत्रमा पर्ने कार्यहरुलाई सम्पन्न गर्न आयोजनालाई दुई चरणमा बिभाजन गरिएको थियो । पहिलो चरण अन्तर्गत ब्यास-१०, दुम्सिचौरमा जलाशय निर्माणका लागि पक्कि बाध निर्माण गरि जलाशय तयार गर्ने र दोस्रो चरणमा जलाशयमा सङ्कलित पानीलाई विधुतीय लिफ्ट प्रविधिको प्रयोग गरी दुम्सिचौरमा रहेको सुक्खा करिब १५ हे जमिनमा बाह्रैमास सिचाई सुबिधा पुर्याउन अवास्यक संरचना निर्माण सम्पन्न गर्ने रहेको थियो ।

तत्कालिन डिभिजन प्रमुख सि.डी.इ. हरि दत्त पौडेलको शब्द सापटी लिएर उल्लेख गर्दा यस योजनाको बिजारोपण यसरी सुरुवात भएको बताउनुहुन्छ :

“प्रकाश थापा मगर तनहुँको दुम्सिचौरको सुख्खा, खरवारी जस्तो तर समथर जग्गा १० वर्षको लागि भाढामा लिएर वार्षिक १ करोड दाना गोलभेंडा उत्पादन गरेर १ करोड नै आम्दानी गर्ने सोच र तयारीकासाथ एक कृषि फर्म खोलेर महान कार्यमा लागेका थिए । उनको पृष्ठभूमि- पोखराको एक ब्रिटिश लाहुरेको छोरा, सन् २००९ को तेकन्दो विश्व चायाम्पीयन पदक, सन् २००८ को एसियाडमा नेपाललाई तेकन्दोमै रजत पदक, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक, ४९ देश घुमेको अनुभव र अमेरिकाको भिषा सबै बिर्सेर यहाँ बसेका थिए । उनी आफै पसिना काढेर दिन रात हस्यांग फस्यांग गर्दै १५-२० जना कामदारको साथमा माटोसंग जुधिरहेका हुन्थे । तर त्यहाँ पानीको दिगो स्रोत थिएन | यति धेरै राष्ट्रिय परिचय बनाएको एक सम्मानित युवाको यस प्रकारको कृषि उद्यमशीलताको नयाँ खालको खुव चर्चा सुनेर तत्कालीन कृषि विकास अधिकृत चेतनाथ अधिकारी, स्थानीय विकास अधिकारी अन्जन न्यौपाने, महिला विकास अधिकारी रमा पौडेल, पत्रकार उज्ज्वल पौडेल सहित हामीहरू पटक पटक उनको फर्म हेर्न दुम्सिचौर गयौ ।

उनको व्यापक लगानी सहितको अभियान देखेर हाम्रो मन छोयो । पानीको मूल भाढामा लिएर पम्पले पानी तानेर सिंचाई गर्दै थिए | पानीको मुलको भाढा ७ बाट १४ र त्यसपछि २१ हजार हुँदै बढ्दै गयो | सिंचाइको जिम्मा स्वाभाविक रूपमा सिंचाई डिभिजनमा आईहाल्यो । स्थानीय वडा अध्यक्ष तुलसीराम सापकोटा, स्थानीय शिक्षक प्रेम बहादुर दरै, समाजसेवी विष्णु बहादुर थापा लगायतका स्थानीयहरू सहित हामीले दुम्सिचौरको ९० हेक्टर समथर जग्गामा सिंचाइका लागि उपयुक्त पानीको स्रोतको बिभिन्न विकल्पका बारेमा छलफल थाल्यौ । यत्तिकैमा मेरो आँखा नारेस्वर खोल्सामा पर्यो । मैले २०६८ सालमा गुल्मीमा जम्मा ५ मिटर गहिराईको जलाशय बनाएपछि अर्को एउटा जलाशय बनाउने अवसर पनि देखे ।

यसको धेरै प्राबिधिक विकल्प मध्येबाट करिब ११ मिटर अग्लो Concrete Gravity Dam र त्यसको प्रारम्भिक डिजाइन, नक्शा र लागत अनुमान कार्यालयले तयार पारे पछि अवकाश प्राप्त सि डि ई वशन्त पौडेलले त्यसको additional escape लाई DI pipe wash out ले replace गर्न सुझाव दिनुभयो, जुन कार्यालयको टिमलाई चित्त बुझ्यो । त्यतिबेलै, ३ पटकसम्म परेको असिनापानीबाट टमाटरको टनेलको सारा ट्रस भाचिएर भएको लाखौको क्षतिबाट र पानीको समस्याले हार नखाईकन प्रकाश जी त्यसपछि नजिककैको मुलपानीमा करिब १०० रोपनी जति जग्गा भाडामा लिएर पुनः आधुनिक रूपले तरकारी खेती गर्न अघि बढे । तर आफैले संचालन गरेको सहकारी र कृषि फाराम दुबैले आर्थिक समस्या भोगेर सफल हुन नसकेपछि करिव ६/७ वर्ष देखि प्रकाश जी बेखवर रहेका छन् । कसैले भन्छन- लेबनानमा छन्, कसैले भन्छन- जापानमा छन् तर आफ्नै व्यवसायिक खेतीमै छन् रे !”

“२०७५/७६ सालतिर प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री मा. विकास लम्सालबाट यस जलाशयको शिलान्यास पनि भयो । जग्गा व्यवस्थापन र Beautification को सम्पूर्ण काम र खर्च स्थानीय व्यास नगर पालिकाबाट गर्ने र बाध निर्माण तथा सिचाई प्रणालीको विकास प्रदेश सरकारको डिभिजन कार्यालयले गर्ने सहमति भयो । स्थानीय निकायको ब्यास नगरपालिकाको मेयर वैकुण्ठ न्यौपानेले यसमा निरन्तर अग्रसरता लिनुभयो र हालसम्म केही पर्खाल, तालको जमिन खरिद घेरबार, तालको केही माटो फाल्ने र foot-trail को ट्राक खोल्ने कार्य ब्यास नगरपालिकाबाट भयो । सिन्चाइ डिभिजन र नगर पालिकाका ई/कर्मचारी साथीहरू पनि धेरै खट्नुभयो । स्थानीय जनप्रतिनी र रा.यो.आ. का पूर्व उपाध्यक्ष डा. जगदिस चन्द्र पोखरेलले पनि सधै चासो राखेर हामीलाई झक्झक्याईरहनु भयो ।

तर अहिले दुम्सिचौरमा जलाशय सहितको लिफ्ट सिंचाई आयोजना जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, तनहुँले निर्माण गरिसकेको छ र स्थानीय रूपमा यसको व्यापक चर्चा शुरू भएको छ तालको अनालोकनका लागि सयौ मानिसहरु जाने गरेको देखिन्छ । तर त्यहाँ प्रकाश जी देखिएका छैनन् । यदि उनी त्यहिको कृषि फारममा रहिरहन सकेको भए अहिले दुम्सिचौरका सारा बासिन्दाहरूले उनीबाट नवीनतम कृषि प्रबिधि सिकेर व्यापक कृषि अभियान स्थापित भईसकेको हुने थियो। प्रकाशजीको अनुपश्थितिमा गोपाल योन्जन, कर्म योन्जन र दिलमाया खातीको गीतले भने झैँ भयो !

पातले ढाक्यो पिपलुलाई, छायाँमा बस्ने आएन |

वादल बिलाई फेरि झर्यो, भिजेर हिड्ने आएन ||”

नारेश्रवरताल जलाशय लिफ्ट सिचाई योजना : गण्डकी प्रदेश सरकारले आफ्नो बजेट र प्राबिधिकबाट निर्माण गर्न खोजेको पहिलो जलाशययुक्त बहुउद्देश्यीय परियोजना हो । जसको पहिलो चरण अन्तर्गत दुम्शिचौरमा बाध बाधी जलाशय निर्माण गरि पानि संकलन गर्ने कार्य का लागि ठेक्का मार्फत जि.एस. इन्जिनियरिंग एण्ड बिल्डर्स,पोखरा-५, कास्कीसंग रु १,९४,११,८६८.३६ (भ्याट सहित) रकममा सम्झौता भै निर्माण सम्पन्न गरि करिव ३०,००० घन मिटर पानी संकलन भएको छ र दोस्रो चरण अन्तर्गत जलाशयमा संकलन भएको पानी बिजुलीको माध्यमबाट लिफ्ट गरि दुम्शिचौरमा रहेको करिब १५ हे जमिनमा सिचाई सुबिधा पुर्याउने कार्यका लागि करिब रु.७० लाख लागतमा करिब १,८६,००० लिटर पानी संचय गर्ने आरसिसि टंकी, बिधुतीकरण, २ लि. प्र से क्षमताको लिफ्ट प्रणाली एब मिटर जडान, मूल लाइन सहित ३ वटा शाखा प्रणालीको बिकास उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तनहुका प्रमुख सी डी ई मोहन राज आचार्य र उहाको प्राबिधिक टिमले अहोरात्र खटिई उक्त निर्माण कार्य सम्पन्न गर्नु भएको हो । उपभोक्ता सस्थाका पदाधिकारी र कृषकहरुको माग बमोजिम अन्य भूभागमा समेत सिचाई सुबिधा विस्तार गर्ने, कृषक क्षमता बृद्दि, सिचाई सेवा शुल्क संकलन, मर्मत सम्भार कोष गठन, कृषि कार्यक्रममा ग्रामिण पर्यटकीयको पाटो जोडदै स्थानीय उत्पादनबाट रोजगार र विकास गर्ने लक्ष्य योजनाले राखेको छ ।

  • योजनाको प्राबिधिक विवरण यस प्रकार छ .

  1. बाँधको लम्बाइ = माथिल्लो भागमा २६ मिटर र तल्लो भागमा ५.० मिटर
  2. बाँधको उचाइ = आधारबाट ११.५ मिटर
  3. जलाशयमा पानीको गहिराइ = ५.५ मिटर देखि १.५ मिटर
  4. पूर्ण जलाशय सतह (FSL) मा तालको क्षेत्रफल = १.४ हेक्टर
  5. स्पिलवे सतहमा जलाशयको पानीको आयतन = ३०,००० घन मिटर (m³)
  6. अधिकतम बाढी सतह (HFL) = बाँधको माथिल्लो भाग (Crest level) भन्दा १.२ मिटर माथि
  7. स्लुइस पाइपको निकास क्षमता = ८ घण्टामा जलाशय खाली गर्न सक्ने
  8. सवारी आवागमन मार्गको लम्बाइ र चौडाइ = २६ मिटर र ३ मिटर
  9. सिँचाइका लागि पानी उचाल्ने उचाइ (Lift height) = ३५ मिटर
  10. अप्रिल महिनामा जलाशयमा आउने पानीको बहाव = ३.५ लिटर/सेकेन्ड

२०७५/७६ सालतिर प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री मा. विकास लम्सालबाट यस जलाशयको शिलान्यास पनि भयो । तर आवश्यक पुर्ब तयारी र अध्ययन पुरा नगरी ठेक्का सम्झौता भएको यस आयोजनाको भौतिक रुपमा काम भने करिब २ बर्षसम्म अगाडी बढ्न सकेन यसका कारणहरु मध्ये पहिलो तत्कालिन समयमा डिभिजन कायालयमा यस प्रकारको संरचना निर्माण गरेका प्राविधिकको कमि हुनु. र बिज्ञ परामर्शदाता समेत चयन नगरिनु र निर्माण व्यवसायी समेत यस प्रकारको काममा नयाँ वा अनुभब नभएको पर्नु हुन् भने दोस्रो, ठेक्का प्राबधानमा केहि अध्ययन जस्तो Soil Test, Concrete Mix Design, Foundation and other treatmanent if any, Design review and alternation in construction, Seepage analysis, etc काम सम्झौताका प्राबधानमा राखियो यसरी हेर्दा यो ठेक्का employer’s design or design built mixed type हुन जादा कार्यालय र निर्माण व्यवसायी बीच निर्माण कार्यको अन्योल रहयो. जसका कारण निर्माण कार्य संचालन गर्ने जिम्मेवारी बहन गरेको सि डी.ई. मोहन राज आचार्यको टिमले बिज्ञ परामर्श दाता समेतको सहयोगमा संरचनमा र ठेक्का परिमार्जन सहित निर्माण कार्य आगाडी बढाउनु परेको थियो । तेस्रो कारण उलेखित प्राबिधिक कठिनाईलाई सामना गरि उचित दिशानिर्देश गर्न अवास्यकता पर्ने प्रयोगशाला डिभिजन कार्यालयमा नहुदा र निर्माण व्यवसायीले समेत स्थापना गर्न नसक्दा निजि प्रयोगशालामा भर पर्नु पर्दा समेत ढिलो हुन पुग्यो ।यति हुदा हुदै पनि यस प्रकारको बाध निर्माणमा केहि चुनौती हरु थिए जस लाई यस प्रकार समाधान गरिएको थियो ।

नारेश्वरताल जलाशयमा कंक्रिट ग्राभिटी बाँध निर्माणका चुनौती तथा समाधान

  • भौगोलिक तथा फाउन्डेसन सम्बन्धी समस्या

बाँध निर्माणस्थलमा कमजोर सतह, चट्टानमा दरार, पानी चुहावट तथा फाउन्डेसनको भार वहन क्षमतासम्बन्धी जोखिम हुन सक्ने अवस्था चुनौतीका रूपमा रहेको थियो।

समाधान: निर्माणपूर्व स्थल तथा फाउन्डेसनको अवस्था परीक्षण गरी कमजोर तथा खुकुलो सामग्री हटाउने, आवश्यक स्थानमा चट्टान सतह सफा तथा तयार गर्ने, उपयुक्त कंक्रिट सम्पर्क कायम गर्ने र आवश्यक ग्राउटिङ/चुहावट नियन्त्रणका उपाय अपनाई फाउन्डेसनलाई बाँधको भार वहन गर्न सक्ने अवस्थामा तयार गरिएको।

  • बाँधको स्थायित्व तथा सुरक्षा

कंक्रिट ग्राभिटी बाँधमा पानीको दाबका कारण Sliding, Overturning तथा अन्य संरचनात्मक जोखिम उत्पन्न हुन सक्ने भएकाले सुरक्षित डिजाइन तथा निर्माण चुनौतीपूर्ण थियो।

समाधान: बाँधको ज्यामिति, पानीको दाब, आफ्नै तौल तथा अन्य लागू हुने भारलाई आधार मानी Sliding, Overturning र आवश्यक संरचनात्मक स्थायित्व परीक्षण गरी डिजाइन अनुसार निर्माण तथा गुणस्तर नियन्त्रण गरिएको।खास गरि बाधको जग Anti-Slope र punching Effect (ठेडो घुसाए जेस्तो) आकारमा डिजाइन गरिएको थियो ।

  • निर्माण अवधिमा पानी व्यवस्थापन

नारेश्वर खोला, मूल तथा जरुवाबाट आउने पानीलाई व्यवस्थापन गरी बाँध निर्माण क्षेत्र सुरक्षित राख्नु चुनौतीपूर्ण थियो। परियोजनामा स्थानीय खोला, मूल तथा जरुवाको पानी संकलन गरी ताल निर्माण गर्ने योजना रहेको उल्लेख छ।

 समाधान: निर्माण चरणमा पानीको बहावलाई आवश्यकतानुसार नियन्त्रण/डाइभर्ट गरी निर्माणस्थललाई सुरक्षित अवस्थामा राख्ने तथा बाँध निर्माणपछि पानीलाई नियन्त्रित रूपमा जलाशयमा संकलन गर्ने व्यवस्था मिलाइएको जसका लागि Foundation Level मा Dewatering Motor-Pump को सहयोगमा, बाधको जग भन्दा माथि utility समेत पठाउन मिल्ने DI Sluice Pipe(Permanent) बाधको जग भन्दा माथि Bed Level मा र सो भन्दा बढी उचाइको पानिको लागी HDEP Pipe Conduict(Temporary) बाट गरिएको थियो ।

नारेश्वर ताल निर्माणस्थल
  • कंक्रिटमा Hydration Heat तथा Thermal Cracking को जोखिम

बाँधमा ठूलो मात्रामा कंक्रिट प्रयोग हुँदा Hydration Heat उत्पन्न भई तापीय तनाव तथा चिरा पर्न सक्ने जोखिम थियो।

समाधान: कंक्रिट ढलानको चरणबद्ध व्यवस्थापन अन्तर्गत एक तहको ढलान देखि अर्कोसम्म समय कम्तिमा ७२ घन्टाको फरक पारिएको, ढलान तयार गर्दा चिसो पानीको प्रयोग गरिएको, OPC सट्टा PPC-Slow Setting मा उपयुक्त मिश्रण डिजाइन, ढलानको समय  तापक्रम निगरानी, जाडो मौसम र रातीको समयमा ढलान गर्ने तथा उचित Curing विधि अपनाई तापक्रमजन्य चिराको जोखिम नियन्त्रण गरिएको।

  • कंक्रिटको गुणस्तर तथा तहगत निर्माण

कंक्रिटको Mixing, Batching, Transportation, Placement, Compaction र Curing मा सामान्य कमजोरी भएमा बाँधको गुणस्तर प्रभावित हुन सक्ने चुनौती थियो।

समाधान: स्वीकृत Mix Design अनुसार कंक्रिट तयार गर्ने, प्रत्येक तहमा उचित Compaction गर्ने, ढलानको क्रममा गुणस्तर परीक्षण गर्ने र आवश्यक Curing अवधि कायम गरी कंक्रिटको निर्धारित शक्ति प्राप्त हुने सुनिश्चित गरिएको जसका लागि Plant Production Concrete मात्र प्रयोग गर्ने हेतुले दमौलीमा उपलब्ध तिन वटा Ready-Mixed Concrete Plant को तुलनात्मक अध्ययन (Plant, Truck, Pump. Vibrator, Manpower, Tools, Lead Time, Success histry completed Projects), कम्पनिबाट सिधै सिमेन्ट ल्याउने र प्ररिक्षण गरे पछी मात्र प्रयोग गर्ने, Segreegation लाई निषेध गर्न Chute को बैज्ञानिक तबरले निर्माण (Slope & Length), चिसो र सफा पानीबाट Dam Concrete Curing गर्ने व्यवस्था मिलाइएको थियो।

  • Construction Joint तथा सतह तयारी

विभिन्न चरणमा कंक्रिट ढलान गर्दा पुरानो र नयाँ कंक्रिटबीच पर्याप्त बन्धन कायम गर्नु महत्वपूर्ण थियो।

समाधान: Inintial Setting Time व्यतित भएपछि प्रत्येक तहको Joint Surface स्टिल ब्रस र पानीको जेटले सफा गर्ने, कमजोर/ढिलो कंक्रिट हटाउने, आवश्यक Roughening तथा Surface Preparation गर्ने र त्यसपछि मात्र नयाँ कंक्रिट ढलान गर्ने व्यवस्था अपनाइएको । Alternative position मा Concrete Key(0.5mX0.5mx0.6m) बनाई ढलान फरक फरक उचाई गर्दै लैजाने व्यवस्था अपनाइएको।

  • पानी चुहावट तथा जलाशय संरक्षण

जलाशयमा जम्मा भएको पानी बाँधको शरीर वा Wetted Perimeter बाट चुहिन गएमा जलस्रोतको क्षति तथा बाँधको दीर्घकालीन सुरक्षामा असर पर्न सक्ने चुनौती थियो।

समाधान: बाँध–फाउन्डेसन सम्पर्क, Joint तथा सम्भावित Seepage Zone लाई विशेष ध्यान दिई आवश्यक Waterproofing/Seepage Control उपाय अपनाउने तथा सञ्चालनपछि चुहावटको नियमित निरीक्षण गर्ने व्यवस्था गरिएको।

  • गाद तथा Debris नियन्त्रण

वर्षायाममा आउने माटो, ढुंगा, गाद तथा अन्य बहावजन्य पदार्थ जलाशयमा प्रवेश गर्दा Storage Capacity घट्ने जोखिम थियो।

समाधान: जलाधार क्षेत्रबाट आउने Sediment तथा Debris नियन्त्रण गर्न Gabion Box को Check Dam हरेक Inflow को US side मा निर्माण गरिएको, निर्माण को क्रममा निस्केको माटो ताल बाहिर लागि बेबस्थापन गरिएको र केहि नगरपालिका बाट गर्ने तयारी रहेको, आवश्यक निकास, संरक्षण तथा सफाइका उपाय अपनाउने र जलाशयमा जम्मा हुने गादको नियमित अनुगमन/व्यवस्थापन गर्ने व्यवस्था गरिएको।

नारेश्वर ताल निर्माणस्थल
  • जलाशयको क्षमता तथा पानीको उचित व्यवस्थापन

जलाशयको सीमित क्षमतालाई सिँचाइ, मत्स्य पालन, डुंगा संचालन, पौडी, आगलागी नियन्त्रण, घरयासी उपयोग र पर्यटन/मनोरञ्जनजस्ता बहुउद्देश्यीय प्रयोगबीच सन्तुलनमा राख्नु चुनौतीपूर्ण थियो। उपलब्ध विवरणअनुसार जलाशयको क्षमता करिब २५,०००–३०,००० घनमिटरको लक्ष्य राखिएको छ।

 समाधान: जलाशयको उपलब्ध पानीलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्दै सिँचाइका लागि पानी वितरण र मनोरञ्जनात्मक उपयोगबीच समन्वय गर्ने तथा आवश्यक Water Level कायम गर्ने, थप गहिराईका लागि ताल क्षेत्रको माटो फाल्ने (Dreagging) व्यवस्था गरिएको हालको न्यूनतम श्रोत ३.५ लि. प्र. से. लाई सन्तुलित बाडफाडबाट सबै आवस्यकता पुग्ने गरि प्रणालीको विकास गरिएको ।

  • बाढी तथा आकस्मिक पानी निकास व्यवस्थापन

अत्यधिक वर्षाका समयमा जलाशयमा आउने पानी सुरक्षित रूपमा निकास गर्न नसकिएमा बाँध तथा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने चुनौती थियो।

समाधान: सुरक्षित Spill/Overflow तथा निकास व्यवस्थाको डिजाइन अनुसार निर्माण गरी अत्यधिक पानीलाई सुरक्षित रूपमा तलतर्फ पठाउने कार्यका लागि Ogee Type Auto Sillway with cascate drops, 300 mm diameter DI Pipe with Sluice Valve, DI Pipe (utility Purpose) र सम्भावित Inundation Area पहिचान गरी जोखिम न्यूनीकरण गर्ने व्यवस्था गरिएको।

  • निर्माण लागत, समय तथा स्रोत व्यवस्थापन

कंक्रिट, सिमेन्ट, Aggregate, निर्माण उपकरण तथा दक्ष जनशक्तिको निरन्तर व्यवस्थापन गर्दै तोकिएको लागत र समयभित्र काम सम्पन्न गर्नु चुनौतीपूर्ण थियो।

समाधान: निर्माण कार्यलाई चरणबद्ध रूपमा सञ्चालन गर्ने, सामग्री तथा उपकरणको पूर्वयोजना गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र निर्माणको नियमित अनुगमन तथा प्रगति समीक्षा गर्ने व्यवस्था अपनाइएको।

  • बहुउद्देश्यीय उपयोग तथा दीर्घकालीन सञ्चालन

नारेश्वरताललाई केवल पानी सञ्चय गर्ने संरचनामा सीमित नराखी सिँचाइ, कृषि, मत्स्यपालन, मनोरञ्जन, पर्यटन तथा वातावरणीय संरक्षणमा उपयोग गर्नु परियोजनाको अर्को चुनौती थियो। परियोजनाको उद्देश्यमा कृषि, पर्यटन र वातावरणीय लाभलाई जोडिएको देखिन्छ।

 समाधान: तालमा सञ्चित पानीलाई स्थानीय कृषिका लागि सिँचाइमा उपयोग गर्ने तथा डुङ्गा सयर, पिकनिक, बर्ड वाचिंग, जलचरको संरक्षण, आगलागी नियन्त्रणमा पानीको प्रयोग, होमस्टे, दरै समुदायको सस्कृति र रहनसहनको प्रबर्धन अन्य पर्यटन पूर्वाधार विकाससँग जोड्ने अवधारणा अघि बढाइएको छ। उलेखित प्रयोगको लागि आवस्यक कार्य गर्न ब्यास नगरपालिकाले आफ्नो गौरबको आयोजनाको रुपमा राखी स्रोत, साधन र जनशक्तिको व्यवस्था गर्ने सहमति जनाएको छ ।

नेपालको संबिधानले परिकल्पना गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहको सहकार्य, समन्वय र सहकारितामा सफलता पुर्बक योजनाहरु संचालन हुनसके बहु-आयामिक फाइदा र दिगो व्यवस्थापन हुन् सक्छ भन्ने उदारणीय योजना नारेश्वरताल जलाशय लिफ्ट सिचाई योजना बन्न सक्ने छ ।   संघ सरकारले जग्गा अधिकरण, मुआब्जा निधारण तथा वितरणमा; प्रदेश सरकारले बाध लगायत सिचाई, पर्यटन पुर्बाधार निर्माण गर्ने र स्थानीय निकायबाट निर्मित संरचनको यथोचित मर्मत सम्भार एबम संचालन कला सस्कृतिको प्रबर्धन, साना उधोग, ग्रामिण पर्यटन-होम स्टे, होटेल, रेस्टुरेन्ट ,मत्स्य पालन,व्यवसायिक कृषि उत्पादन, पौडी, डुंगा संचालन लगायतका क्रियाकलापहरु निश्चित कार्यविधिको निर्माण गरि गर्न सकिने रैछ भन्ने नमुनाको रुपमा यो योजना रहने छ ।

निष्कर्ष

समग्रमा, गण्डकी प्रदेश सरकारले परीक्षणको रुपमा निर्माण गर्न खोजेको पहिलो जलाशययुक्त परियोजनाको रुपमा नारेश्वरताल कंक्रिट ग्राभिटी बाँध निर्माणका क्रममा फाउन्डेसनको स्थायित्व, पानीको व्यवस्थापन, कंक्रिटको तापक्रम तथा गुणस्तर नियन्त्रण, Joint तथा Curing, Seepage नियन्त्रण, Sediment व्यवस्थापन, बाढी निकास तथा जलाशयको बहुउद्देश्यीय सञ्चालन प्रमुख चुनौतीका रूपमा रहेका थिए । यी चुनौतीलाई प्राविधिक डिजाइन, चरणबद्ध निर्माण, गुणस्तर नियन्त्रण, पानी तथा वातावरण व्यवस्थापन र नियमित अनुगमन मार्फत सम्बोधन गर्दै बाँध तथा जलाशयलाई सिँचाइ, पर्यटन र वातावरणीय संरक्षणसँग जोडिएको बहुउद्देश्यीय संरचनाका रूपमा विकास गरिएको छ ।

यसको भरपुर उपयोगबाट यस क्षेत्रका आम-जनताको जिबन स्तरमा वृद्धि हुनुका साथै बहु-आयामिक फाइदा हुन जानेछ । यस प्रकारका योजनाको सफल सिकाइबाट गण्डकी प्रदेश सरकारले एक जिल्ला एक जलाशय पहिचान निर्माण कार्यक्रम शुरु गरेको छ, जुन अन्तर्गत बन्दीपुर-३ मा रहेको सिमलताल जलाशय लिफ्ट सिचाई परियोजनाको अध्ययन सुरु येही आ. व. बाट गरिएको छ । जसबाट देश बिकासमा प्रदेश सकारको भूमिकालाई थप उचाईमा पुर्याउने र सिचाई क्षेत्रमा संलग्न प्राबिधिकहरुको क्षमता विस्तार समेत हुने देखिन्छ ।

(लेखक जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख हुन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker