बाटोको असुविधाले गलेखामकोट ओझेलमा

गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिका लगायतका स्थान सहजै देख्न सकिन्छ ।
सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ। आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन् । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिनुभएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछिन् ।
गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास–२ का सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताए। उनले भने, ‘गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ ।” यसको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उनले बताए ।
कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवद्र्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, “धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।”
गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ । गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । यहाँ रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको छ। यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताइन् । रासस










