पोखरामा रोकिएन टयाक्सीको मनोमानी

भञ्ज्याङ समाचारदाता/गण्डकी

गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उहाँ विरौटाबाट टयाक्सी चढ्नुभयो ।

नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लनुभएका प्रदेशसभा सदस्य अर्याललाई टयाक्सी चालकले रु पाँच सय भाडा मागे । टयाक्सीमा आवतजावत गर्नुपर्दा सधैँ रु चार सय तिरिरहनुभएका उहाँ टयाक्सी चालकले भनेजति भाडा दिन तयार हुनुभएन ।

प्रदेशसभा सदस्य अर्यालले आफू सधै रु चार सय तिरेर विरौटाबाट आउने गरेको बताएपछि टयाक्सी चालक त्यति नै भाडा लिन राजी हुनुभयो र नदीपुरबाट फर्कनुभयो । यसरी प्रदेशसभा सदस्य अर्याल टयाक्सी भाडामा ठगिनबाट जोगिनुभयो । प्रदेशसभाको अर्थ तथा विकास समितिले पोखरामा चल्ने टयाक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको प्रसंगमा समितिका सभापति अर्यालले आफ्नै ताजा दृष्टान्त उक्त कार्यक्रममा सुनाउनुभएको हो ।

गत भदौदेखि पोखरा उपत्यकाभित्र मिटर प्रणालीमा टयाक्सी सञ्चालन गर्ने निर्णय प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गरे पनि टयाक्सी चालकको मनलाग्दी भाडा लिने प्रवृत्ति अझै नरोकिएको उहाँले बताउनुभयो ।

“मिटर प्रणालीको कुरा गरेको भए टयाक्सी चालकसँग वादविवाद हुनसक्थ्यो, उनले रु पाँच सय मागे पनि मैले सधै तिर्ने गरेको रु चार सय तिरेर हिँडे”, सभापति अर्यालले भन्नुभयो, “पोखरामा टयाक्सी भाडाको समस्या पहिलेदेखि कै हो, यो अझै समाधान हुन सकेको छैन, टयाक्सी व्यवसायमा एकाधिकारजस्तो अवस्था छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले टयाक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले यातायात व्यवस्था मन्त्रालयलाई विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

समितिले अबदेखि टयाक्सी लगायत यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले गरेका कामकारबाहीको प्रभावकारी अनुगमनसमेत गर्ने सभापति अर्यालले बताउनुभयो । “समितिले सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन मात्र होइन, निर्देशन कार्यान्वयनका लागि दबाव दिन्छ, अनुगमन पनि गर्छ”, उहाँले भन्नुभयो ।

टयाक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले दुइ वर्षअघि समायोजन गरेको भाडादरअनुसार मिटर प्रणालीमा गुड्न तयार भएका टयाक्सी व्यवसायीले सरकारसँग भएको सहमति उल्लङ्घन गर्दै आएका छन् ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यसअघि मिटरमा नचलेका टयाक्सी गत भदौ १ गतेदेखि मिटरमा सञ्चालन गर्ने दुइपक्षीय निर्णय भएको थियो । यातायात व्यवस्था मन्त्रालयसँगको छलफलमा टयाक्सी व्यवसायीले पोखरा उपत्यकाभित्र मिटरमा टयाक्सी गुडाउने प्रतिबद्धता जनाएका थिए ।

उक्त छलफलका क्रममा पोखरेली टयाक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको तर सरकारले टयाक्सी व्यवसायीको मर्का बुझिदिनुपर्ने बताउनुभएको थियो । टयाक्सी व्यवसायीले बजार महँगी र इन्धनको मूल्यवृद्धिका आधारमा नयाँ भाडादर समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।

दुइ वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमिको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुइ सय मिटरको रु १० तोकिएको छ । पन्ध्र किमिभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई टयाक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा मिटर प्रणालीमा नचलेको पाइएका ट्याक्सी चालकलाई कारबाहीसमेत गरिएको बताउनुभयो । ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिरहेको गुनासो अहिले पनि आइरहेको महाशाखा प्रमुख पौडेलको भनाइ थियो । प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजन लगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, टयाक्सीमा जिपिएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत उल्लेख छ । यी कुनै पनि शर्त टयाक्सी व्यवसायीले लागू गर्न सकेका छैनन् । मिटर प्रणालीमा नचल्ने टयाक्सीको जरिवाना रकमसमेत पहिलेको तुलनामा बढाइएको यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

सुरुमा न्यूनतम रु दुइ हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा पछिल्लो समय न्यूनतम जरिवाना रु पाँच हजार पुर्‍याउने निर्णय गरिएको छ । मिटर प्रणालीमा चलाउने टयाक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker