दोस्रो व्यास नगर महिला हाफ म्याराथनको उपाधि कान्छीमायालाई
भञ्ज्याङन्युज/दमौली
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको महिला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् ।
व्यास-३ व्यासगुफादेखि व्यास-११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा पार गर्दै नेपालकी किर्तिमानी धाविका कोजुले उपाधि जितेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) की खेलाडी कोजु राष्ट्रिय स्तरका दौड प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।

प्रतियोगितामा नेपाल प्रहरीकी रेखा बम विष्ट द्वितीय भएकी छन् । उनले उक्त दूरी दुइ घण्टा चार मिनेट ४२ सेकेण्डमा पार गरिन् । प्रतियोगितामा व्यास-१० निवासी नम्रता गुरुङ तृतीय भइन् । उनले उक्त दूरी दुइ घण्टा ११ मिनेट २३ सेकेण्डमा पूरा गरिन् ।
तृतीय भएकी गुरुङ व्यास नगर खेलकुद विकास समितिका सदस्य हुन् । खेलकुदमा प्रोत्साहन गर्ने उद्धेश्य सहित खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले गुरुङलाई सदस्यमा मनोनित गरेका थिए।

प्रतियोगितामा ५१ धावकको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८ र तृतीय हुनेलाई रु २१ हजार ७८ प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड गरिएको थियो ।










