प्रथम राष्ट्रिय दरै कप : पाँच खेल सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

दरै समाज तनहुँद्वारा आयोजित प्रथम राष्ट्रिय दरै कप २०८० सेभेन ए साइड नकाउट फुटबल प्रतियोगितामा बुधबार पाँच खेल सम्पन्न भएका छन् । व्यास-३ बिपी वनवाटिका खेलमैदानमा नौरङे र खकौली बीच भएको खेलमा पेनाल्टी सुटआउटमा ४-३ को अन्तरले नौरङे युवा क्लब विजयी भएको छ ।
त्यस्तै सेवर डिहिगाउँ र अत्रौली युवा क्लब बीच भएको खेलमा ०-१ को अन्तरमा अत्रौली विजयी भएको हो । खकौली युवा क्लब र आयोजक दरै समाज तनहुँ बीच भएको खेलमा ०-३ को अन्तरमा आयोजक विजयी भएको हो । मंगलपुर र बेलानी बीच रहेको खेलमा बेलानी अनुपस्थित भएपछि मंगलपुरलाई विजयी घोषणा गरिएको दरै समाज तनहुँका सचिव विजय दरैले जानकारी दिए ।
यस्तै गैडाकोट र धादिङ बीच रहेको प्रतियोगितामा गैडाकोट अनुपस्थित भएपछि धादिङ विजयी घोषणा गरिएको थियो । प्रतियोगितामा छ वटा जिल्लाका २३ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको छ ।
नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसंख्या छ । प्रतियोगितामा विजेतालाई नगद रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५१ हजार एक सय ५१ नगद पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिए ।
भोलि विहान धादिङ र दुम्सी ए बीच पहिलो खेल हुने भएको छ । त्यस्तै पतेनी र भादगाँउ बीच रहेको छ भने दिउँसो कलेस्ती र मंगलपुर बीच र साँझ नौरङे र अत्रौली बीच खेल रहेको आयोजकले जनाएको छ ।










