तनहुँमा भू तथा जलाधार र वन कार्यालयद्वारा २८ भन्दा बढी प्रजातिका बिरुवा निःशुल्क उपलब्ध

दमौली : तनहुँमा वर्षायामलाई लक्षित गर्दै विभिन्न प्रजातिका डालेघाँस, फलफूल, औषधीय तथा वनजन्य बिरुवाको निःशुल्क वितरण अभियान सुरु गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालय तनहुँले आ–आफ्ना नर्सरीमा उत्पादन गरिएका स्तरीय बिरुवा सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराउने भएका हुन् ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँका प्रमुख वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलका अनुसार कार्यालय परिसरस्थित भूसंरक्षण नर्सरीमा उत्पादन गरिएका राईखन्यु, निमारो, बडहर, किम्बुजस्ता डालेघाँसका बिरुवासँगै अमला, धूपी र रक्तचन्दनका बिरुवा असार १५ गतेदेखि निःशुल्क वितरण भइरहेको छ । उनका अनुसार पशुपालक किसान, व्यावसायिक कृषक, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य इच्छुक नागरिकले कार्यालयमा सम्पर्क गरी निःशुल्क बिरुवा लैजान सक्नेछन्। डालेघाँसका बिरुवाले पशुपालन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै माटो संरक्षण र हरियाली विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस्तै, डिभिजन वन कार्यालय, तनहुँले पनि आज मङ्गलबारदेखि कार्यालय परिसरबाट २८ प्रजातिका बिरुवा निःशुल्क वितरण सुरु गरेको जनाएको छ । वितरण गरिएका बिरुवामा निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शीतलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, बिरिसफूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरङ्गेल रहेका छन् ।
डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउन निःशुल्क बिरुवा वितरण कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनका अनुसार वर्षायाम वृक्षरोपणका लागि सबैभन्दा उपयुक्त समय भएकाले स्थानीय नागरिक, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, संघसंस्था तथा स्थानीय तहलाई वृक्षरोपणमा सहभागी गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । ‘वन क्षेत्रको संरक्षण मात्र पर्याप्त हुँदैन, खुला तथा खाली जमिनमा पनि वृक्षरोपण आवश्यक छ’, श्रेष्ठले भने, ‘वितरण गरिएका बिरुवालाई सही तरिकाले रोपेर संरक्षण गर्न सके वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पुग्नेछ ।’
उनले वितरण गरिएका बिरुवामध्ये केही फलफूल, केही औषधीय तथा केही छायाँ र वातावरणीय महत्वका रहेको जानकारी दिँदै स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार उपयुक्त बिरुवा छनोट गरी रोप्न तथा रोपाइँपछि संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
दुवै सरकारी कार्यालयले वर्षायामको अवसरमा सञ्चालन गरेको निःशुल्क बिरुवा वितरण अभियानले जिल्लामा हरियाली विस्तार, माटो तथा जलाधार संरक्षण, पशुपालन प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।










