चर्चित लोकगायिका “शिला आले”
देव बस्न्यात

शिला आले नेपाली लोकदोहोरी फाँटको एउटा चर्चित नाम हो । कृष्ण बहादुर आले र ललिमायाँ आलेकी कान्छी छोरी शिलाका दुइ दाजु र दुइ दिदीहरु छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ आँबुमा जन्मेकि शिला तनहुँको ग्रामिण परिवेशमै हुर्किएकी हुन । किशोरी अवस्था अत्यन्त दुःखमय थियो । आँबुको गाउँमा खोलिएको प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेकी शिलालाई ६-१० कक्षासम्म अध्ययन गर्न घरको सम्पूर्ण काम भ्याएर रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीमा पुग्नुपर्थ्यो । त्यैसैले हरेक दिन बिहान ४ बजे उठेर उहाँले गाइभैसीको दूध दुहेर ५/६ माना दूधलाई सात आठ माना बनाएर बजारमा दूध बेच्न लैजाने र बजारबाट घर फर्केर कापी किताव च्यापेर त्यही बाटो डेढघण्टा पैदलै हिंडेर नियमित विद्यालय पुग्नुपर्ने बाध्यता थियो।
विदाका हरेक दिन गाउँ नजिकका वनमा गाई, भैंसी, भेंडा, बाख्रा चराउने र घाँस दाउरा गर्नु पर्दथ्यो । वनमा जाँदा आफ्ना सहेलीहरुसंगै गीतहरु सुसल्ने र त्यही सुसेलीले उहाँलाई अहिले एक सफल गायिकाको रुपमा स्थापित गरेको छ । एक पटक आफु पढी रहेको विद्यालयको वाषिर्कोत्सवमा गीत गाउने र नाँच्ने सुअवसर मिल्यो । उहाँले गाएको गीतले शिक्षक, विद्यार्थी र अभिभावक समेत सबैको मन छोयो । अभिभावक र गुरु वर्ग सबैले गीतको प्रशंसा गरे । सबैबाट प्रशंसा पाउँदा आफ्नो स्वर राम्रो रहेछ भन्ने महसुस भएकाले शिलाले रेडियो नेपालका गीतहरु सुन्ने र आफ्नो गीत गाउने अभियानलाई तिखार्दै गइन ।
रामशाह मा.वि.बाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेपछि शिलालाई काठमाडौं पुगेर उच्च शिक्षा अध्ययन गर्ने मन भयो । काठमाडौं बस्ने दाजुभाइहरुले सहयोग गरेकाले शिला पद्मकन्या क्याम्पसमा बिहानी कक्षामा अध्ययन गर्दै थिइन । वि.सं. २०५७ सालको चैतमा परिशरा थापाले उहाँलाई दोभान दोहोरी साँझमा गीत गाउन जाने निम्ता दिनु भयो र दोहोरी साँझमा पुग्नुभयो ।
त्यही दोहोरी साँझमा गाएको गीतले रेडियो नेपालमा स्वरपरीक्षण दिने प्रसंग उठ्यो । अर्जुन बगाले, बद्री पराजुली, कृष्णसुधा ढुङ्गाना, बमबहादुर थापा, अम्मर विरही दाजुहरुले रेडियो नेपालमा स्वरपरीक्षण दिन जाने काममा उहाँलाई अमूल्य सहयोग गरेका थिए । असार २७ गतेका दिन २०/२० जना सहभागिहरुको स्वर परीक्षा उहाँले १६औं स्थानमा नाम निकाल्न सफल पनि भइन । बिस्तारै बिस्तारै रामथापाको साथ र सहयोगले शिलाले काठमाडौंको ठमेलमा दोहोरी गीत गाउन थालिन । सीता दिदीले नै शिलालाई दोहोरी गीत गाउन उत्प्रेरित गरिरहिन भने बलिसरा र बद्रीले दोहोरी खालमा दिनु पर्ने जवाफी उत्तर पनि सिकाएर दोहोरी गीत गाउन उत्साह थप्ने र भरोसा दिने गर्दथे ।
लगभग दुइ वर्षसम्म गीत संगित क्षेत्रको यात्रामा ललितकला क्याम्पस र अन्य विद्यालयहरुमा पढाउने गुरु शिबराज पौडेलसंग अचानक उहाँको भेट भयो । भेट पश्चात विस्तारै बिस्तारै मायाँको जरो जेलिंदै गयो । दुबैजना एक अर्कासंग छुटि्टन नसक्नेनै भए । अन्ततः साविक पार्वतीपुर गाउँपालिका हाल भरतपुर महानगरपालिका-२१ सीतापुर चितवन निवासी संगीतका साधक गुरु शिवराज पौडेलसंग उहाँले वैवाहिक सम्वन्ध कायम गर्नु भयो । हाल उहाँका परिवारमा श्रीमान शिवराज पौडेल, छोरीहरुमा शिरिका पौडेल र आर्य पौडेल रहेका छन् । घरपरिवारबाट कुनै गुनासो नआएपनि मगरको छोरी भएर बाहुनसंग विवाह गरेको विषयमा मगर समाजले उहाँको चर्कै विरोध गरेको र सो विरोधलाई हालसम्म पनि झेल्दै आइरहनु परेको छ ।
शकुन्तला थापा शिलाजीको अत्यन्त्यै मिल्ने साथी थिइन । क्याम्पस जाँदाहोस वा बजार संगै जाँदा दुबै जना एउटै पहिरानमा हिंड्ने गर्दथे । कृष्णसुधा ढुङ्गाना र भवानी भण्डारीसंग मिलेर उहाँले खैरेनीमा गेट, मौरी फूलमाथि जस्ता एल्वमहरु क्रमशः निकाल्नु भयो। यिनै गीतहरुले उहाँलाई सांगितक उचाईमा पुर्यायो । यस लगतै उहाँले “सुन्तला र स्याउ पिरती लाउने भए अलि वर आउ……” भन्ने गीत गाउनु भयो । सोही गीतले उहाँलाई सबैका दिलदिलमा बास गराउन सफल भयो ।
शिला आले र राजु परियार लोकसांगितिक क्षेत्रमा नाम चलेका जोडी हुन । लोकगायन क्षेत्रका बादशाह मानिने राजु परियार र शिला आलेका नयाँ तथा पुराना सबै गीतहरु अहिले पनि सुपरहिट बनेका छन् । आज पनि दोहोरी फाँटमा यत्रतत्र उगुञ्जायमान छन । रुप, कला र गलाकी धनी शिला आले एकपटक सैनिक कार्यक्रममा भाग लिन जाँदा एक जना पदिक सैनिकले पर्दामा देखिने कलाकार र रियल सोमा देखिने कलाकार धेरै फरक देखिने बताएका थिए रे । पर्दामा देखिएको कला र रियलमा देख्दा चिन्न नसकिएको बताउँदा शिला लाजले रातो भएको भनाई राखेकी थिइन । शिला आले नेपालको बसाइलाई बिट मार्दै अमेरिका पुगिन तर केही समयमै अमेरिकाको बसाइलाई बिटमार्दै आफ्नै जन्मस्थान नेपाल आएकी छन् । नेपाल आएपछि आफैले निकालेको “हिउँ चुलिमा हिउँ लोर्के जोवन भन कसलाई दिउँ” भन्ने झ्याउरे गीत र तनहुँ लमजुङमा औधी रुचाइएको हालसालै मात्र गाइएका ठाडोभाका गीतहरुले अहिले चर्चाको शिखर चुमेका छन् ।
तनहुँ लमजुङका पाखा पखेरा झ्याउरे र ठाडोभाका गीत गाउँदै काठमाडौं पसेकी शिला यस क्षेत्रका सफल पात्रहरु मध्ये एक हुन । ठाडोभाका लोकगीत देश विदेशमा घन्कनु पर्छ भनेर गामवेसी रोदीघर मार्फ नवप्रतिभाहरुलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गरिरहेका शङ्कर परियार, राजु परियार, शिवा आले र उत्तम गुरुङहरुले ठाडोभाका गीत गायनका सुत्रहरु नवप्रतिभाहरुलाई सिकाउँदै आएका छन् । यसरी गीतगायन क्षेत्रका लागेका नवप्रतिभाहरुको नाम लिनु पर्दा डुम्रेकी सुकमाया, सीमा ठकुरी, लक्ष्मी मल्ल, कल्पना जि.सी, विजय परियार लगायतका धैरै जना ठाडोभाका गीत गुनगुनाउँदै आएका छन् । अहिले आएर फेरी पछिल्लो पुस्ताका व्यक्तिहरु पनि ठाडोभाका गीत गाउन उत्सुक हुँदै आएका छन् । उहाँहरुले लोकसुसेलीका भीरपाखा खहरेसम्म बनाएका लोकगीतका तरेली युक्त फाँटहरुमा नव प्रतिभाहरुले पनि संगितक फाँटमा जम्ने सुअवसर बनेको छ ।










