आदिकवि भानुभक्त क्याम्पसमा ‘सफलताको कथा अरुलाई पनि सुनाऔं’ कार्यक्रम श्रृंखला सुरु

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले ‘सफलताको कथा अरुलाई पनि सुनाऔं’ कार्यक्रम श्रृंखला सुरु गरेको छ । क्याम्पसले मासिक रूपमा यो कार्यक्रम श्रृंखला सञ्चालन गर्न लागेको हो ।
क्याम्पसबाट अध्ययन सम्पन्न गरेका पूर्व विद्यार्थी, सामाजिक वा व्यावसायिक जीवनमा सफल एवं उदाहरणीय काम गरेका, पेशा व्यवसायमा उच्च दक्षता हासिल गरेका व्यक्तित्वहरुलाई आमन्त्रण गरी यो कार्यक्रम श्रृंखला सञ्चालन गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
उनका अनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनशील र उद्यमशील बन्न थप प्रेरणा र हौसला दिलाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
क्याम्पसले यो श्रृंखलाको पहिलो कार्यक्रम शुक्रबार क्याम्पसमा सम्पन्न गरेको छ । पहिलो श्रृंखलामा क्याम्पसका पूर्व विद्यार्थी एवं त्रिवि व्यवस्थापन संकाय अर्न्तर्गत स्नातक तहमा हालै विविएस तह उत्तीर्ण गरेका कृष्णप्रसाद अधिकारीलाई आमन्त्रण गरिएको थियो ।
स्नातक तहको चौथो वर्षको अन्तिम परीक्षा दिएर नतिजा प्रकाशन नहुँदासम्मको बीचको चार महिनामा लोकसेवा आयोगबाट नागरिक लगानी कोषका लागि लिइएको पाँचौं तहको परीक्षामा प्रथम हुन सफल भएका अधिकारीलाई उक्त अवसरमा उनले क्याम्पसमा अध्ययनरत स्नातक तहका बिआइसिटी कार्यक्रम र विविएस कार्यक्रमका विद्यार्थी र प्राध्यापकहरुलाई आफ्ना परिचय, विगतको संघर्ष, सफलताको रहस्य र भावी योजनाका विषयमा जानकारी गराएका थिए ।

घरको आर्थिक अवस्था कमजोर रहेकै कारण दैलेख जिल्लाको दुर्गम भागको एक गाउँबाट काम गर्दै उच्च शिक्षाको अध्ययन गर्ने अवसरको खोजीमा भारतका सहरहरूमा भौतारिदै स्वदेश फर्केर तनहुँको सदरमुकाम दमौली आइपुगेका अधिकारीले आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्ने क्रममा संघर्षपूर्ण भोगाई सुनाएका थिए ।
सफलताको कथा सुनाउने क्रममा आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ र १२ देखि स्नातक तहको अध्ययन पूरा गर्न क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य इ. ध्रुव पण्डितको परिवारले गरेको सहयोगको प्रति उनले स्मरण गरेका थिए ।
स्थानीय होटल र पूर्वाधार निर्माण क्षेत्रमा श्रमिकको रूपमा काम गरेका उनीले लक्ष्य चुम्नको लागि आफूमाथि आत्मविश्वास र मेहनत जरुरी रहेको बताए । चार महिनाको तयारीमा लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरेको अधिकारीले विद्यार्थीहरूलाई अध्ययनलाई निरन्तरता दिन, आफ्नो अध्ययनका स्रोतहरूलाई विस्तार गर्न, विश्लेषण र लेखन सीपलाई ग्रहण गर्न र समयको महत्वलाई बुझन सुझाएका थिए ।
लेखन सिप र अध्ययनकलाका बारेमा आफूले क्याम्पस भन्दा बाहिरको अनौपचारिक अध्ययनबाट ज्ञान हासिल गरेको बताउँने अधिकारीले हाल आफू आफ्नो भावी लक्ष्य लोकसेवा आयोगबाट अधिकृत स्तरको परीक्षामा नाम निकाल्न अध्ययनमा व्यस्त रहेको सुनाएका थिए ।

क्याम्पसका विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापन समितिका अध्यक्ष बिमल खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमम क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसका तर्फाट अधिकारीलाई स्वागत एवं सम्मान गरेका थिए ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, आन्तरिक गुणस्तर मूल्याङ्कन समिति प्रमुख विश्वेश्वर तिमल्सेना, पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका उपसभापति चिरञ्जीवी बस्नेत, व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख एवं पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकी प्रदेशका संयोजक बिमल गिरी, क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा, क्याम्पसका प्राध्यापक एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो ।










