राणा शासन अन्त्य र प्रजातन्त्र

के.बि. मसाल

नेपाली समाजमा अहिले बोलीचालीमा सबैभन्दा बढी प्रयोग हुने शब्द प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएको छ । विक्रम संवत २००७ देखि अहिलेसम्म आउँदा विभिन्न राजनैतिक उतारचढावसँगै यी शब्दहरुको काँचुली क्रमशः फेरिदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र आम मानव समुदायको प्राथमिक चाहनाको विषय हो । यो राजनीतिक, आर्थिक, सामाजिक र शासकीय पक्षलाई सकारात्मक प्रभाव पार्ने सामर्थ्य राख्ने आवश्यकीय तत्व पनि हो । ग्रीक शब्द डेमोस र क्रेटस हुँदै अग्रेजी शब्द डेमोक्रेसीको नेपाली शव्दार्थ प्रजातन्त्र बनेको हो । प्रजातन्त्र मूलतः जनता मुखी वा जनमुखी शासनको प्रतिरुप हो । प्रजातन्त्र भन्ने शब्दावलीले सरकारको सम्पूर्ण प्रयास सार्वभौम जनता प्रति समर्पित रहनुपर्दछ भन्ने जनाउँछ । प्रजातन्त्र र स्वतन्त्रता यी दुइ शब्दहरु एक आपसमा सँगसँगै आउने शब्दावलीहरु हुन्। । प्रजातन्त्र स्वतन्त्रता प्राप्तिमा सहयोग पुर्‍याउने विचार र सिद्धान्त हो भने प्रजातन्त्र स्वतन्त्रताको संस्थागत स्वरुप पनि हो । प्रजातन्त्र व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशिला हो ।

फागुन ७ अर्थात प्रजातन्त्र दिवस । जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिन । तर परिवर्तनका लागि बलिदानी दिने महान सहिदहरुले देखाएको बाटोमा न सरकार हिँडेको छ, न त कुनै दलले नै यसको मार्ग पहिल्याउन सकेको छ । प्रजातन्त्र के उद्देश्यले ल्याइएको थियो ? प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य के थियो ? जनताले प्रजातन्त्रको अनुभूति किन गर्न सकेका छैनन ? यस्ता सवालहरु खडा हुँदै आएका छन । दलहरुका अकर्मण्यता, अदूरदर्शी सोच र आपसी खिचातानीले गर्दा जनक्रान्तिबाट प्राप्त उपलब्धिहरु खोसिँदै आएका छन । राणा शासनविरुद्ध २००७ सालको क्रान्तिदेखि सशस्त्र विद्रोहहुँदै २०६२/०६३ को जनआन्दोलनसम्म अधिकार तथा पहिचानका लागि थुप्रै आन्दोलन भए । तर, ति सबै आन्दोलन सत्ता चढने भर्‍याङ मात्र बनेका छन । खै त प्रजातन्त्र र लोकतन्त्रमा जनतालाई राहत हुने कुरा – प्रत्येक वर्ष मनाइने प्रजातन्त्र दिवसको समयमा यीनै कुराको चर्चा परिचर्चा हुने गर्दछ ।

इतिहासमा १०४ वर्ष नेपालमा राणाहरुले शासन गरे । राज परिवार बीचको गुटबन्दिका कारण भीमसेन थापाको पतन पछि बि.सं. १९०३ मा शासन गरिरहेकी रानीकी सेनानायक जगबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घटन पुग्यो । हतियारधारी सेना र रानीप्रति वफादार भाइ भारदारहरुबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरु र रजौटाहरुको हत्या भयो । जुन नेपालको रक्तरन्जित इतिहासमा कोतपर्वले चिनिन्छ । शक्तिशाली भारदारहरु काटिए र मारिएपछि जंगबहादुर कुँवर शक्तिशाली भए । त्यसपछि उनले राजालाई आफ्नो शक्तिभित्र परी शासनभार हत्याउन सफल भए । त्यो विभत्स पर्वपछि दरबार शक्तिहीन बन्यो । त्यसपछि राजा सुरेन्द्र वीरविक्रम शाहले १९०३ मा आफ्नो र आफ्ना उत्तराधिकारीको तर्फाट मुलुकको शासनभार श्री ३ महाराज जंगबहादुर कुँवरलाई सुम्पिन बाध्य भए । त्यसपछि जंगबहादुरले आफूलाई शक्तिशाली देखाउन कुँवरबाट श्री ३ महाराज र राणा लेख्न थालेका हुन । राणाहरुको पारिवारिक शासन विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ सालसम्म रहन गयो । राणाकालमा प्रधानमन्त्रीका भाईमा पद र्सदै जाने नियम थियो । देशका मुख्य मुख्य शक्तिशाली पदहरुमा पनि राणा खानदानका नै मानिसहरु नियुक्त हुन्थे । आम जनाहरुमा मौलिक अधिकार हुँदैनथ्यो । राणाले जे बोले पनि कानुन सरह लागु हुन्थ्यो । राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरिएको थियो ।

२००७ सालको क्रान्तिलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ । देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरुद्ध सुरु भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको न्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो । क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरुले भाग लिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरुले आत्मसमर्पण गर्दै आए । ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको संयोजकत्वमा नयाँ दिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो । लामो समयदेखि परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आएर ७ गते प्रजातन्त्रको घोषणा गरिएको थियो । प्रजातन्त्र, लोकतन्त्र र अग्रगामी परिबर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन ससस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एबम शहिदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु पर्दछ ।

देशको शासन सञ्चालन व्यक्तिमा नभई बहुसंख्यक जनतामा रहन्छ भने त्यसलाई प्रजातन्त्र भनिन्छ । विशेषतः जनताको महत्व रहेको शासन व्यवस्थालाई नै प्रजातन्त्र हो । मानिसलाई खान, लगाउन, भौतिक सुख-सुविधाले मात्र पुग्दैन । उसलाई यसको अलवा वैयक्तिक स्वतन्त्रता पनि चाहिन्छ, जुन प्रजातन्त्रमा मात्र सम्भव छ । विश्वमा विभिन्न युग आए गए, जस्तै आदिम साम्यवादी युग, दास युग, सामन्त युग, पुँजीवादी युग, समाजवादी युग जनताको सामु टिक्न सकेनन। तर, अहिले विश्वमा प्रजातान्त्रिक युग भने सफलताको साथ चलिरहेको छ । त्यसो त प्रजातन्त्रको विरुद्धमा पनि विभन्न मुलुकहरुमा विद्रोह पनि भै रहेका छन । प्रजातन्त्रमा पनि भ्रष्ट र तस्करहरु उच्च ओहोदामा पुग्ने हुनाले जनतामा नकारात्मक असर परेको हुन्छ । प्रजातन्त्रमा कुनै पनि व्यक्तिलाई बोल्ने, लेख्ने र सभा-संगठन गर्ने, मुलुकका जुनुसुकै क्षेत्रमा आवतजावत गर्न पाउने स्वतन्त्रता हुन्छ । जनतामा प्रेस स्वतन्त्रता हुन्छ र उनीहरुमा सरकारको पनि आलोचना गर्ने अधिकार हुन्छ । प्रजातन्त्रको नामबाट नेपालमा अनेकौं राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तन त भए तर राजनीतिक दल र दलका नेताहरुको चिन्तन, सोच र व्यवहारमा कुनै परिवर्तन आउन सकेन । राजनीतिक संस्कारको विकास हुन सकेन । उनीहरुमा प्रजातान्त्रिक आचरण अनुसार गतिविधिहरु हुन सकेन ।

राणा र शाही शासनकालको अन्त्यपश्चात पनि दलहरुले मुलुकलाई सही गन्तव्य र विकासको मार्गमा अघि बढाउन सकेका छैनन । यो हामी सबै नेपालीहरुका लागि दुर्भाग्य हो । २००७ सालमा स्थापित प्रजातन्त्र एकदशक पूरा नहुँदै राजा महेन्द्रको चरम महत्वाकांक्षा र दलहरुको बेमेलका कारण कू हुन गयो र लामो समयसम्म निरंकुश पञ्चायती व्यवस्था लागू भयो । लामो संघर्ष पश्चात ०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना भएपनि आन्दोलनका सहयात्रीमा सत्ता स्वार्थको खिचातानी र दूरदर्शिताको अभावले प्रजातन्त्रकै उपहास हुन पुग्यो । सत्तापक्षमा जितको दम्भ र प्रतिपक्षको अधैर्य व्यवहारले अस्थिर राजनीतिक अवस्था उत्पन्न भयो । संयुक्त संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नभन्दा दलहरुबीच तिक्ततापूर्ण सम्बन्धले जनतालाई निराश बनायो । यतिसम्म कि सत्ता स्वार्थका लागि एउटै पार्टीभित्र गुटउपगुट खडा भए । फलस्वरुप बहुमतको सरकार विघटन गर्नेदेखि आफ्नै पार्टीको सरकार गिराउनेसम्मका निकृष्ट खेलहरु भए । संसदीय राजनीतिको विकृत रुपले अन्ततः मुलुकलाई दसवर्षे हिंसात्मक द्वन्द्वमा धकेल्ने काम भयो । १७ हजारभन्दा बढी मानिस मारिए, हजारौं अंगभंग भए । दरवार हत्याकाण्ड पनि त्यहिबेला भयो । देशमा गृहयुद्ध बढेको बहानामा फेरि निरंकुशतन्त्रले मुन्टो उठाउने चेस्टा गर्‍यो । अन्ततः प्रजातन्त्रकै घाँटी निमोठियो । राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि संसदीय फोहोरी खेलमा लिप्त भएका दलहरु र दसवर्षे सशस्त्र युद्धमा होमिएको माओवादी पुनः निरंकुशताविरुद्धको आन्दोलनमा सडकमा ओर्लिए ।

२०६२/०६३ को १९ दिने शान्तिपूर्ण जनआन्दोलनमार्फत २०६३ वैशाख ११ गते २३७ वर्ष लामो राजतन्त्र अन्त्य भै लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । राजा ज्ञानेन्द्रले बाध्य भएर जनताको नासो जनतालाई नै फिर्ता गर्न बाध्य भए । २०६२/०६३ कै आन्दोलनको जगमा लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा गरेर नेपाल नयाँ युगमा प्रवेश गर्‍यो । विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्दछन । प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँडन भने तयार देखिँदैनन । त्यसैले त उतिबेला प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरुको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ ।

२००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरेपनि त्यसलगत्तै दलहरुमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । मुलकमा राजनीतिक परिवर्तनको ऐतिहासिक दिन मानिन्छ प्रजातन्त्र दिवस । विसं २०४६ र २०६२/२०६३ सालमा भएका आन्दोलनका तुलनामा २००७ सालको क्रान्तिलाई मुलुकको युगान्तकारी राजनीतिक घटनाका रुपमा लिइन्छ । जनतालाई जहानियाँ शासनबाट मुक्त गर्ने महत्वपूर्ण संघर्षमा होमिएका ज्यूँदा शहीदहरु अझै पनि हाम्रो समाजमा धेरै छन । वास्तवमा २००७ सालको क्रान्ति मुलुक परिवर्तनको एउटा महत्वपूर्ण परिघटना हो तर आधुनिक समाजले सात सालको त्यस ऐतिहासिक क्रान्ति र त्यसका प्रभावलाई बिर्सन थालेको छ । सरकारले पनि औपचारिकतामा मात्र केन्द्रित गर्दा यो दिन इतिहासकै पानाबाट हराउने हो कि भन्ने चिन्ता पुरानो पुस्तामा छ ।

नेपालको प्रजातान्त्रिक, राजनीतिक विकासक्रमलाई केलाएर हेर्ने हो भने समाजिक तथा राजनीतिक आन्दोलन राज्यसत्ताको संरचनात्मक स्वरुप परिवर्तन गर्न धेरै सफल मानिन्छ । २००७ साल फागुन ७ राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातान्त्रिक कालखण्डको शुत्रपात भएको दिन हो । यही परिवर्तनले नेपाली जनतालाई रैतीबाट नागरिक बनायो । झण्डै सात दशक लामो प्रजातान्त्रिक आन्दोलनमा थुप्रै उतार-चढाव पार गर्दै आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा पदारोहण गरेको छ । यद्यपि हाम्रो दैनिक जीवनशैली, प्रजातान्त्रिक अभ्यास, व्यवहार र संस्कृति अझै यसमा प्रतिविम्वित हुन सकेको छैन । प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिका लागि आन्दोलनको नेतृत्व गर्ने राजनैतिक नेतृत्व गणको आफ्नो व्यवहार तथा जीवनशैली र लोकतान्त्रिक संस्कृतिलाई अझै आत्मसाथ गर्न नसक्दा र जनतालाई प्रजातान्त्रिक राजनीतिक अभ्यासमा प्रशिक्षित गर्न नसक्दा उनीहरुको शैली व्यक्तिगत र दलीय गुटको संस्कृतिको पक्षपोषणमा मात्र लिप्त भएको देखिन्छ। जसले गर्दा लोकतन्त्र प्राप्तिको लागि संर्घष्ा गर्ने नेपाली जनतामा केही नैराश्यता भएको देखिन्छ ।

आम जनताले प्रजातन्त्रबाट लोकतन्त्रमा फेरवदल शब्दकोषमा मात्र खोजेका थिएनन । उनीहरुले देशको आर्थिक राजनीतिक सामाजिक र सांस्कृतिक रुपान्तरण सँगसँगै नयाँ नेपालको निर्माण गर्ने परिकल्पना पनि गरेका थिए । तर नेपाली जनताले आफूले सोचेजस्तो अनुभूत हुनेगरी केही कुरामा पनि महसुस गर्न पाएका छैनन । देश लोकतन्त्रमय भयो । तर, निरंकुशताबाट पिल्सिएका पार्टीहरु अझै लोकतान्त्रिक बन्न सकेनन । पार्टीभित्र थुप्रै योग्य र दक्ष कार्यकर्तालाई व्यवस्थित गर्न सकेको देखिँदैन । आन्दोलनमा सडक तताउने युवाको भावना बुझन सकेको देखिँदैन । लोकतन्त्रमा जनताको जीत हुनर्ुपर्छ । तर, आज देशको ठूलो हिस्सा गरिवीबाट पीडित छ। लाखौं मानिसहरु घरबारविहीन छन । हजारौं बालबालिका विद्यालयजना वञ्चित छन । दशौं लाख मानिसहरु रोजगारीका लागि विदेशिएका छन । शिक्षामा पर्याप्त अवसर छैन । देश निर्माणको प्राथमिकता निश्चित मानिसको स्वार्थमा केन्द्रित छ। साँचो अर्थमा भन्नु पर्दा नागरिक राज्यबाट प्रताडीत छन । जनताको दैनिक जीवन परिवर्तन हुने गरी खासै केही राम्रो काम गर्न नसकेको स्थिति छ ।

लोकतन्त्र वा प्रजातन्त्रको मूल विषेशतामध्ये कानुनको शासन पनि पर्दछ । त्यससँगै व्यक्तिको स्वतन्त्रता, सत्तामा जनताको भागिदारी, राज्यका तीन अगंहरुका बीच शक्तिसन्तुलन तथा शक्तिको पृथकीकरण पनि पर्दछ । प्रजातन्त्रमा कोही पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन । कानुनको आखामा सबै समान हुनुपर्छ । तर, यहाँ ठूलालाई चैन र सानालाई ऐन लागेको देखिन्छ । प्रजातन्त्रमा निर्धारित कानुनद्वारा नै नागरिक र सरकार सबै समानरुपमा शासित हुने मान्यता नै कानुनी शासन हो । निरंकुशता र स्वेच्छाचारिताको अन्त्य, कानूनका अगाडि सबै समान, संवैधानिक सर्वोच्चता आदि नै लोकतान्त्रिक मूल्य मान्यता हुन । प्रजातन्त्रमा यी सबै विशेषता भएमा मात्र पूर्ण प्रजातन्त्र हुन्छ र त्यो प्रजातन्त्रमा मात्र जनताको सुन्दर भविष्य निर्माण हुन्छ । त्यसैले लोकतन्त्रमा कानुनी शासन र मानव अधिकारको अति आवश्यकता रहेको हुन्छ । यो कुरा राज्य चलाउनेले आफ्नो आचरण र संस्कार देखाउन सके मात्र २००७ सालको प्रजातन्त्रले निरंकुशताबाट पाएको मुक्ति अनि लोकतन्त्रबाट जनताले गरेको अपेक्षाले सार्थक रुप लिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker