बन्दिपुरका चाडपर्व र जात्रा

  • मंगल प्रसाद श्रेष्ठ (तनहुँ)

बन्दिपुरमा जातीय भाषा, भेषभुषा सहित, कलासंस्कृति र संस्कार महिना र तिथी मिति अनुसार हुने गर्दछ । चैत्र मशान्तमा वन्दिपुरे नेवारहरुको वर्षको अन्त्यमा चलिरहेको वर्षलाई विदा गरेर नयाँ वर्षलाई स्वागत गर्न विसक्याट पर्वमा नेवारहरुको पारिवारिक भोज भतेर र विन्दवासिनिमा सामुहिक पुजापाठ, भजन कृतन सहितको विसक्याट जात्रा, रथ यात्रा (दौडाउने) हुन्छ । बैशाख महिनाको १ गते नववर्षको उपलक्षमा गाउलेहरु भेला भइ एक आपसमा शुभकामना आदान प्रदान गरी रमाइलो गर्ने गर्दछ । अक्षय तृतीयामा खुदोपानी बनाएर सबैलाई खुवाउनाले पुण्य प्राप्त हुन्छ भनेर आध्यात्मिक आस्था राखेर बाटोमा बसि बटुवाहरुलाई खुदोपानी खुवाउने चलन छ ।

आफुलाई जन्मदिने आमा बुवा भगवान सरह हुने भएको भएर मातातिर्थ औशीमा आमाको मुख हेर्ने र कुशे औशीमा बावुको मुख हेर्ने दिनमा मिठामिठा खानेकुराको परिकारहरु बनाइ नया वस्त्र दिइ मुख हेर्ने चलन छ । वुद्ध जयन्तीमा वुद्धको पुजापाठ गरी घाटु नाच नाच्ने चलन प्रायःजसो गुरुङ्ग जातिले रमाइलो गरी रमाउने गरिन्छ । माग, फागुन, चैत्र, वैशाख महिनामा खेतीपाती गर्नका लागि समय समयमा पानी परोस भनेर देवीदेउतालाई सामुहिक पूजा (खड्गदेवि, चामुन्डा देवी, विन्दवासिनी देवी) गरी बली चढाइ गाउँले सबैले हल वार्ने, काम नगरी वाराना गर्ने चलन छ। लामो समयसम्म पानी नपरेर सुख्खा खडेरी परेमा सामुहिक रुपमा होम रुद्रि गरेर हर हर महादेव भन्दै बजार परिक्रमा गरी महादेवसंग पानि माग्ने चलन छ र रुद्रि होम गरेको दिनको ३-४ बजेबाट घनाघोर पानीको वर्षा भएको बन्दिपुर वासिलाई अनुभव छ र आध्यात्मिक विश्वास पनि छ ।

वैशाख महिनामा महिलाहरुले पुतली बनाइ डोलीमा राखेर पुतलीको बिवाहको गीत गाउँदै खोलामा सेलाउने चलन छ । केटाहरुले पुतलीको बिवाहमा बाटो छेक्ने र केटाहरुलाई पैसा दिएपछि बाटो छोड्ने चलन छ। वैशाख महिनाको पूर्णिमामा हुरीबतास र असिना पानीले बिग्नबाधा नपरोस भनेर बली दिएर भयर पुजा गरिन्छ । खेतीपाती लगाउदा हल गोरुलाई धपाउने लीलाई खेती गरेको चारकिल्लामा पुजा गरी गाड्ने चलन छ । जेष्ठ महिनाको पूर्णीमाको दिन गोठ भित्र पुजा गर्ने र कुखुराको बली दिइ गौडी पुजा गर्ने गरिन्छ । १५ असारमा बाजागाजा सहित असारे गीत गाउँदै रोपाइ गरी दहि चिउरा खाने चलन छ । साउन महिनाको नाग पञ्चमीको तिथिमा घरको नाग पधेराको नाग र गोठको नाग पुजा गर्ने चलन छ । जनैपूर्णीमा बाहुनको हातबाट जनै लगाउने र त्यसवर्ष बितेका पृत्रिहरुको आत्माशान्तिका लागि नसक्नेहरुले गाइ निकाल्ने दुइदिनसम्म घिनताङ्गघिन बजाउने गरिन्छ भने सक्नेहरुले रामायणको कथामा आधारीत भेषभुषामा श्रृंगारियर मृत्यू हुने व्यक्तिको जीवन कहानीमा आधारित गीत लय गुनगान सहित संगितमय भजन बनाइ तवला हार्मोनियम र अन्य बाजामा गाउँदै भगवानको नाम लिदै बजार परिक्रमा र मन्दिर परिक्रमा गरी मृतआत्माको शान्तिको कामना गरिन्छ ।

साउन महिनामा बन्दिपुरका मानिसहरु दिनभरि खेतवारीमा खेतीपाती गर्ने गर्दछन । व्यापारिहरुले व्यापार गर्दछन । जागिर खानेहरु दिनभरी जागिरमा व्यस्त हुन्छन । पहिला अहिले जस्तो मनोरञ्जन गर्ने माध्यम केही थिएन । दिनभरिको थकान मेटाइ मनोरञ्जन लिनको लागि डोको नाच गरेर नाचगान गर्ने, लाखे नाच हेरेर ढल्की बजाएर मनोरञ्जन लिने चलन थियो । पहिला पहिला बन्दिपुरमा बाघले गाइवस्तु, वाख्रा, कुखुरा बजारमै आएर दुःख दिने गरेको थियो । बाघले यस्तो दुःख नदियोस भनेर साउनको द्धितीया तिथिका दिनमा बाघ जात्रा निकाल्ने र त्रतीयाका दिनमा बाघलाई मारी बाघजात्रा समापन गरिन्छ । साउन महिनामा सत्यनारायण पुजामा रुद्रि होमन गरी ग्रह शान्ति घरको दोष शान्ति गर्ने चलन छ ।

त्यस्तै साउन महिनाको हरिशयनी एकादशीमा व्रत बसि तुलसी र्सार्ने गरिन्छ । यहि हरिशयनी एकादशी देखिनै बेलुकादेखि सामुहिक भजन क्रतन गर्न सुरु हुन्छ । भजन पुजा आउनु भन्दा १५ दिन अगाडिदेखि भजन पुजासम्म विभिन्न देवि देउताको मन्दिरमा विहान ४ बजेनै गएर भजन गाउने गर्दथे । कात्तिकको भजन पूर्णिमा वा मकै सुकाउने पूर्णिमामा भजन पुजा -नास पुजा)को दिन गाउँलेहरु सबै मिलि सबैले चामलको पिठो, घ्यूको संकलन गरिन्छ पिठोलाई घ्यूमा मात्र मुछिन्छ । सबै मिलि विभिन्न परिकारका नाङ्गलो जत्रो चार पाँच फन्को लगाइ घ्यूमानै विशेष प्रकारको रङ्गनि रोटी पोलीन्छ । यसको साथसाथै गेडागुडीमा मकै, भट्टमास, बोडी, मास, चना, केराउ, कटुस भुटेर रातभरि चन्द्रमाको पुजा गरी रातभर सुकाउने र भजन कृतन गरिन्छ । भोली पल्ट सबै जना मिलि विशेष प्रकारको रोटीलाई बराबर भाग लगाई तुलोले जोखी बाढ्ने गरिन्थ्यो। कृष्ण अष्टमी तिथीमा रोपाई जात्रा निकाल्नको लागि रफ सिङ्गार पटार गरी बाजा सहित उखान टुक्का गर्दै गाउँलेहरुलाई निम्तो गर्ने र सामुहिक सानो तिनो भोज हुन्छ । दिउसो ४ बजेबाट बाजागाजा सहित राजारानी सुरक्षा गार्ड, भार भरदारहरु श्रीकृष्ण भगवान ब्रहृमा विष्णु महेश्वरको प्रतिक बनेर बसेका हुन्छन । हलगोरु हलि, वाक्से वियाडे, रोपारमा गोलिनेहरु, तामझामका साथ असारे गित गाउँदै बजार परिक्रमा गर्दै रोपाइ जात्रा गरिन्छ ।

रातको १२ बजे कृष्ण जिको जन्म दिन मनाउदै भकारी हाल्ने चलन छ । नवमीको दिन बेलुका श्रीकृष्ण भगवान व्रहृमा विष्णु महेश्वर र ऋषिहरुको प्रतिकमा श्रृंगारिएर भजन कृतन सहित श्रीकृष्णको रथ यात्रा सुरु हुन्छ । रथ यात्रामा घर-घरबाट पुजा पाठ गरी दहिले छ्यापेर दहि जात्रा (कृष्ण जात्रा) मनाउने गर्दछ । हरितालिकाको दिन तीजको दर खानलाई महिलाहरु माइत जाने गर्दछन । परिवारको सुख शान्तिको कामना गर्दै निराहार व्रत बसी नाचगान गर्ने, गीत मार्फत आफ्नो पीडा व्यथा पोख्ने गरिन्छ । गणेश चौथीको दिन नेवारहरुले गणेशको पुजापाठ गरेर भोज भतेर गर्ने चलन छ । सोह्र श्राद्धमा आफ्नो पित्रृहरुलाई तिथि अनुसारको श्राद्ध गर्ने चलन छ । घटस्थापना देखि नौरथासम्म पुजापाठ र वीजया दशमीको टिकाको दिनदेखि पूर्णिमासम्म मान्यजनहरुको हातबाट टीका थापि आशिष लिने र पाहुनाहरुसगँ भोज भतेर गरी रमाइलोसंग दशै मनाइने गरिन्छ । कोजागत पूर्णिमामा तोप पड्काएर खड्ग देविलाई भित्राउने गरिन्छ ।

तिहार पर्वमा कागतिहारमा काग पुजा, कुकुर तिहारमा कुकुरको पुजा, गाइ तिहारमा गाइको पुजा गरी गाइलाई द्दौ, पराल, कुँडो खुवाएर अघाउने गरिन्छ भने भाइ टिकाको अघिल्लो दिनमा घरको सबै परिवार बसेर म्हाँ पुजा गरी भोज खाने गरिन्छ । भाइ टिकाको दिनमा दिदी वहिनिहरुले दाजुभाईलाई दीर्घायूको कामना गर्दै आशिष दिइ टिका लगाइदिन्छन । मिठामिठा खानेकुरा र वस्त्रहरु दिन्छन र दाजुभाइले दिदी बहिनिलाई टिका लगाई दक्षिणा दिने चलन छ । तिहार भरि देउसी भैलो खेलेर रमाइलो गरी उठाएको पैसाले सामाजिक काममा लगाउने गर्दछन । कात्तिकको हरिवोदनि एकादशीको अघिल्लो दिन सत्यनारायणको पुजा गर्ने र सबै गाउँलेहरु मिलि बाबियोको डोरो बाटी सयपत्रिको फूलको माला बनाइ डोरीलाइ श्रृङ्गार पटार गरी विभिन्न किसीमका सामग्रीहरु झुन्डाइ एकादशीको दिनमा मन्दिरमा वा नदिको वारपार टाँगि फूल तार्न भजन क्रतन सहित जाने चलन थियो ।

कात्तिक महिनाको पञ्चमी तिथीमा रानी वनमा गएर धनुषवाण बनाएर वासको ढुङग्रोमा गाईको दुध राखेर पुजा सरजाम सहित सिकारी पुजा गरिन्थ्यो । कात्तिक महिनामा अमलाको बोटमा बसेर सामुहिक खिर पकाइ खाने चलन छ । मंसिर महिनाको पहिलो आइतवार गाउँलेहरु सबै मिलि आ-आफ्नो घरबाट एक जोर कुखुरा लिएर रानी वन आमडाँडामा गइ आइतवारे पुजा गर्ने चलन थियो। सोहि महिनामा खेतमा दाइँ हालिसकेपछि नयाँ चामलमा दहि र चिनी मिसाइ सबै भगवानलाई केराको पातमा भोग लगाई न्वाइ चामल खाने चलन छ । मंसिर महिनाको कृष्णपक्षको वालाचतुर्दशीमा बुवाआमा नहुनेहरुले मन्दिरमा गएर शतविज र्छने काम हुन्छ । मंसिर महिनाको शुक्लपक्षको चतुर्दशीमा गुठियारा दाजुभाई सबै मिलि राँगो, बोका भिमसेन मन्दिरमा पुजा गरी गुठी पुजा गरिन्छ । दिनभरि वर्षभरिको दुल्ख सुखमा काम गर्दाको कमिकमजोरी औलाइ निती नियमहरु सच्चाउने गरिन्छ । वचत संकलन भएको रकम र अघिल्लो वर्षमा व्याजीमा दिएको रकमको एक मुष्ट रकम व्याज बढिबढाउ गरी बाडफाड गर्ने गरिन्छ । नेवारी गुठिले परमपरादेखि बैंकको व्यवस्था नभए पनि गुठिले साह्रो गाह्रो पर्दा बैंकको काम गर्दै आएको थियो ।

१५ पुषमा खुदो, चिनी, घ्यूमा अनदिको चामल पकाएर लट्टे भात खाने चलन छ । पुषको मसान्तमा मासको रोटी, चामलको रोटी, सखरखण्डा, तरुल पकाएर भोली पल्ट विहान नुहाइ धुवाइ गरी पुसमा पाक्के माघमा खाक्के भनेझै अगिल्लो दिनमा पकाएको विभिन्न खानेकुराहरु र भजनपूर्णिमाको दिन सुकाएको रोटी विभिन्न जातको गेडागुडी समेत मिलाई खाने चलन छ । माघ शुक्लपक्षको पञ्चमी तिथिमा बारिमा हलो जोतेर हलो पुजा गर्ने चलन छ । विद्यालयमा श्रीपञ्चमीका दिन सरस्वतीको पुजा गर्ने गरिन्छ । पुषको पुर्णीमाको दिनदेखि चोखो भइ श्रीस्वस्थानीको व्रत कथा सुरु गरिन्छ र स्वस्थानी पाठ गर्ने गरिन्छ । माघको पूर्णिमाको दिन विधि पुर्‍याएर पुजा गरी समापन गर्ने चलन छ । फागुपूर्णिमाको दिन सबै रिसराग भुलेर आफ्ना साथीभाइसंग रङ्ग खेल्ने रमाइलो गर्ने चलन छ । महा शिवरात्रिको दिन विशेष गरी शिव भगवानको पुजा आरधाना गरी निरहार वर्त बस्ने धुनी बाल्ने रातभर जाग्राम बस्ने चलन छ । चैत्रे दशैको दिन दुर्गा भगवानी, कालिका मन्दिरमा पुजा आजा गरी मिठो मसिनो खाने चलन छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker