बाग्लुङको पञ्चकोट पुग्नु भयो ?

के.बि. मसाल

फुर्सदको बेला घुमफिरमा निस्कने धेरै नेपालीहरुमा सस्कार बन्दै गएको छ । घुमफिरको सस्कृति बढनु पर्यटन प्रवर्द्धनका लागि राम्रो पक्ष हो । मानिसहरु किन घुमफिर गर्दछन् ? घुमफिरको उद्देश्य फरक हुन सक्दछ । तर सबैको मुख्य उद्देश्य भनेको नयाँ ठाउको घुमफिरबाट अध्यन अवलोकन र मनोरञ्जन गर्नु हो । नेपालमा धेरै ग्रामीण पर्यटकहरु प्राकृतिक सम्पदा संग रमाउछन् । पछिल्ला दिनहरुमा ग्रामीण पर्यटन उद्देश्य फराकिलो हुँदै गएको छ । ग्रामीण पर्यटकहरुको संख्या पनि प्रत्येक वर्ष बृद्धि हुँदै जान थालेको छ । गाउँघरमा पर्यटनको विकास गर्नु पर्दछ भन्ने धारणा विकास भएको छ । गाउँमा पुग्ने पर्यटकहरुलाई बस्न खानको सुविधा दिन होमस्टे सन्चालन हुन थालेका छन् । यी कुरालाई पर्यटन व्यवसायको लागि राम्रो पक्ष मान्नु पर्दछ ।
ग्रामीण पर्यटकहरुका लागि पुग्नै पर्ने स्थान हो बाग्लुङको पञ्चकोट । पञ्चकोट घुमफिरको प्याकेज बनाउन सके राम्रो हुन्छ । गण्डकी प्रदेशमा पर्ने बाग्लुङ ऐतिहासिक जिल्ला हो । इतिहासमा चासो राख्ने पर्यटकहरुलाई बाग्लुङ घुमफिरले धेरै अध्यन अवलोकन गराउछ । बाग्लुङमा घुमफिर गर्ने धेरै ठाउहरु छन् । पञ्चकोट पुग्दा घुमफिरको समय बढाउन सके गल्कोट, विहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट जस्ता ऐतिहासिक कोटहरुमा पुग्न सके राम्रो हुन्छ । यो बाहेक कालीका भगवति मन्दिर, ढोरपाटन, गाजा दह, भकुण्डे धुरी, हाडिकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक, लोङाको धुरी, भैरवस्थान, घोडा बाधे, फागुनेको धुरी, थाप्लेको धुरी र जैमिनेश्वर क्षेत्र जस्ता पर्यटनका गन्तब्यहरु पनि बाग्लुङमा रहेका छन् । पछिल्लो समयमा वाग्लुङको बलेवा र पर्वत जोडिएका केवुल पुल, अग्लो पुल, बन्जी पुल र बाङगे चौर-अदुवाबारी जोडने लामो पुलले पनि पर्यटकहरुलाई आकर्षण गराएको छ ।
पर्वत तिरबाट बाग्लुङ जादा माल ढुङगाको कालिगण्डकीको पुल तर्ना साथ रमणिय सडकको नागबेली उकालो काटने बित्तीकै बाग्लुङ घुमफिर गर्न जाने पर्यटकहरु कालिकाको मन्दिरमा पुग्दछन । बाग्लुङ कालिका भगवती मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । मन्दिरको वरपरको जगंल, प्राकृतिक मनोरम वातावरणले पर्यटकहरुलाई लोभ्याउछ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको कालिका मन्दिरमा पूजा आराधना गर्दा मनोकांक्षा पूजा हुने तीर्थाटन पर्यटकहरुको विश्वास छ । कालिका मन्दिरको चारै दिशामा ढोका रहेका छन्। पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ । मन्दिरको इतिहास खोज्ने हो भने पर्वतका राजा प्रतापी नारायण मल्लले बि.स. १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग बिवाह भएको थियो । विवाहमा छोरीले देवीको मूर्तीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर दुलही राजकुमारीले आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत जादा बाटोमा पर्ने अहिलेको कालिकाको मन्दिर भएको ठाउँमा देवीको मूर्ती राखेको डोली भरियाले बिसाए छन। पछि डोलीलाई उठाउँदा नउठेपछि मन्दिरको स्थापना गरी कालिका देवीको प्राण प्रतिष्ठान गरिएको हो ।
कालिको दर्शन गरेपछि तीर्थाटनका पर्यटकहरुलाई लामो पुल अवलोकन गर्ने उत्सुकता हुन्छ । कालिगण्डकीको मालढुङगा माथी निर्माण भएको बागलुङको बाङगेचौर र पर्वतको पाङ अदुवाबारी जोडने पुल अहिले सम्म निर्माण भएको झोलुङे पुलमा लामो मानिन्छ । यो पुलको लम्वाइ ५सय ६७ मिटर रहेको छ भने १ सय ३८ मिटर अग्लो छ । पुलको जिपमा बाग्लुङ तर्फ शहीद पार्क निर्माण भएको छ। पर्यटकहरु पुलमा पुगेपछि कोहि फोटो खिच्न ब्यस्त हुन्छन भने कतिपय लामो पुल तरेर पर्वतको अदुवाबारी तर्फजान्छन । हुनत बाग्लुङ पुग्ने पर्यटकहरुले पर्वत जिल्लामानै धेरै पुलको अवलोकन गरेका हुन्छन । तर पनि लामो पुल तर्न पाउदा पर्यटकहरु रमाउछन् ।
बाग्लुङ पुगेपछि पुग्नै पर्ने ठाउ हो पञ्चकोट । पञ्चकोट विभिन्न पाँचवटा कोटहरुको एकीकृत विकासको रुप हो । यस क्षेत्रमा रहेका ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतीकात्मक रुपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको हो । पाँचैवटा कोटहरुमा जान पर्यटकहरुलाई सहज छैन । संसारकोट निकै टाढा पनि पर्ने भएकाले त्यहाँ सजिलै पुग्न सकिँदैन। अहिले तीर्थाटन गर्नका लागि संरचनाहरु बन्दै गरेको ठाउँ ताराजालकोट हो । धार्मिक हिसाबले यो क्षेत्र मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ मानिन्छ । बाग्लुङ नगरपालिका ६ मा पर्ने पञ्चकोटको अवलोकन एवं तीर्थाटन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । पञ्चकोट बाग्लुङ बजारबाट आठ किलोमिटरको यात्रामा पुग्न सकिन्छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा रहेको पञ्चकोट जादा बाटोमा देखिने दन्ते लहरझैँ खुलेका हिमाल । नागबेली आकारका सुन्दर पहाडी मनोहर भू-बनोट । कालिगण्डकीको सुन्दर दृष्य, खेतीयोग्य खेतबारी, रङ्गीचङ्गी घर देख्न पाउदा सबै पर्यटकहरु आफ्नो यात्रालाई भूस्वर्गनै मान्दछन् ।
पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि, निलगिरिलगायत दर्जन भन्दा बढी हिमश्रृखला पर्यटकहरुले अवलोकन गर्न सक्दछन । पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण भएको छ । करिब एक सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास र कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भएको छ । गण्डकी माताको मन्दिर र गरुडशिलाको निर्माण भएको छ । सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घर समेत निर्माण भएको छ । ५ हजार ५ सय ५५ केजीको महाघन्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटबाट बाग्लुङ बजारको मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ । उच्च स्थानमा पुगेर चारैतिर देख्ने मन कसलाई हुँदैन र – प्रकृतिसंग रम्न पञ्चकोट पुगेपछि पर्यटक रमाउने मात्र होइन प्रकृतिको रोमाञ्च अनुभूती प्राप्त गर्दछन् ।
बाग्लुङको पहाडी भूगोलमा विभिन्न रमणिय प्राकृतिक सम्पदाहरु छन । जहाँबाट भरपुर आनन्द मात्र होइन प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । ती गगनचूम्भी डाडाकाडाहरु आफैमा प्राकृतिक भ्युटावर बनेका छन् । बाग्लुङका डाडाकाडा प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । पञ्चकोट पुगेपछि मनै आनन्दित हुन्छ । पञ्चकोट मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । सर्लक्क माथी उठेको डाडाकाडा गर्मी महिनामा त झन चिसो र शान्त वातावरणले सबै पर्यटकको मन आनन्दित मनाउछ । सूर्योदय र सूर्यास्तको अवलोकन लागि पनि पञ्चकोट एउटा उपयुक्त गन्तव्य स्थल बनेको छ । विहानीको सूर्योदय र पहाडबाट हुने सूर्यास्तको दृश्य पञ्कोटको डाडाबाट रोमाञ्चक देखिन्छ ।
पञ्चकोट अन्तर्गतका सबै कोटको आफ्नै इतिहास रहेको छ । सबै कोटमा बाइसे चौबिसे राजाहरुको पालामा देवीको पूजा आरधना गर्न कोटहरुको स्थापना भएका थिए । पाँचवटा कोटहरु मध्ये अहिले तीर्थाटन पर्यटकहरुका लागि सबैभन्दा धेरै पूर्वाधार निर्माण भएको ताराजालकोट हो । पञ्चकोट जादा पदमार्गमा रमाउने पर्यटकहरुका लागि कारिकोट पनि पुग्न सकिन्छ । ताराजालकोटमा रहेको हनुमानको मूर्तिभन्दा माथिल्लो डाँडाको थुम्कामा कारिकोटको मन्दिर पर्दछ । कारिकोट मन्दिरमा भूरे टाकुरे राजाहरुको पालामा चढाएका तरवार र दाउहरु पनि देख्न पाइन्छ । कारिकोटमा पनि भुरे टाकुरे राजाहरुले निमार्ण्र्ाारेको भगवतीको मन्दिर रहेको छ । डाँडाको थुम्कामा रहेकाले कारिकोट मन्दिरको परिसरबाट पर्यटकहरुले हिमाल र अन्य रमणीय दृश्यहरु अवलोकन गर्न सक्दछन् ।
कारिकोट भन्दा केही मिनेट उकालोको यात्रामा माझकोट रहेको छ । माझकोटबाट करिवन १ घन्टाको पैदल यात्रामा पुगिने रायंरायंकोटमा बाह्रौ र तेह्रौ शताब्दी तिरका राजासंग जोडिएका इतिहास छ । पञ्चकोटको अन्तिम कोट संसारकोट हो । बाग्लुङ जिल्लाको दोश्रो अग्लो पहाड पनि संसारकोट हो । संसारकोटमा भुरे टाकुरे राजा रजौटाका दरबारका केही भग्नावशेष, धान कुटने ढिकी, ओखल जस्ता केही ढुंगाहरु देख्न सकिन्छ । पञ्चकोटबाट करिब डेड घन्टाको उकालो यात्रामा पुगिने संसारकोटको चुचुरो पर्यटकका लागि रमणिय मानिन्छ । संसारकोटको चुचुरोबाट हेर्दा वरिपरी हरिया पहाडहरु, पाखा पखेरा, झरनाहरु र उत्तरमा रहेका धवलागिरी, नीलगिरी, माछापुच्छे, अन्नपूर्ण जस्ता सुन्दर हिमश्रंृखलाहरु अवलोकन गर्न सकिन्छ । संसारकोटबाट पर्यटकको साथमा दुरविन छ भने पर्वतको कार्किनेटा, म्याग्दी, गुल्मीका केही पहाडी थुम्का, कास्की र मुस्ताङका केही गाउँहरुका र कास्कीको फेवाताल, पश्चिमको घुम्टेको लेक र शोलेको धुरी, ढोरपाटनको धुरी र दक्षिणको गाँजाको धुरी समेत देख्न सकिन्छ ।
बाग्लुङ जिल्लाको घुमफिरमा समय भयो भने पुराना खानीहरु पनि अवलोकन गर्न सकिन्छ । गल्कोटका राजाको पालामा ३ वटा तामा र १ वटा फलाम खानी सन्चालन गरी राज्यलाई आर्थिक उत्पादनमा लगाएका थिए । बाग्लुङ जाने ग्रामीण पर्यटकहरु गल्कोट दरबारको बारेमा चासो राख्दछन । कतिपय पर्यटक गलकोट पुग्ने अभिलाषा समेत राख्दछन् । गलकोट दरबार गलकोट नगरपालिकाको हरिचौरमा पर्दछ । बाग्लुङ बजार देखि हरिचौर सम्मको दुरी करिव ४८ किलोमिटर पर्दछ । साना सवारी साधनबाट हरिचौर पुग्न करिव २ घन्टा लाग्दछ । गल्कोटका राजा गर्मीको समयमा ढोरपाटन क्षेत्रमा र जाडोको समयमा ताकममा बसी राज्य चलाउने गर्दथिए । पर्यटकहरुका लागि गल्कोटका खानीका क्षेत्र पुग्न सके धेरै अध्यन अवलोकन हुन्छ ।
पर्यटकहरु बाग्लुङ घुमफिरमा जादा घुम्टेको लेक पुगेनन् भने घुमफिर अधुरो जस्तै हुन्छ । बाग्लुङको मध्यभागको पहिचान हो घुम्टेको लेक । जुन लेकलाई पृष्ठभूमिमा राखेर कयौं कलाकारले गीत बनाएका छन् । गलकोट नगरपालिकामा पर्ने घुम्टे लेक समुद्री सतहदेखि १ हजार ३ सय ९३ फिट उचाईमा रहेको छ । बाग्लुङ सदरमुकामदेखि करिब ५०.किलो मिटरको दुरीमा पर्ने घुम्टे लेक जान खास गरि ३ वटा बाटाहरु प्रयोग गर्न सकिन्छ । गलकोट पाण्डवखानी, हरिचौर र ताराखोलाबाट घुम्टेको लेक जान सकिन्छ । घुम्टेबाट देखिने सुन्दर हिमश्रृंखला, विभिन्न प्रजातिका लालिगुराँस पर्यटकहरुले देख्न सक्दछन् । घुम्टेको शिरमा सिद्ध र भैरवको मन्दिर पनि छ ।
वाग्लुङ जिल्लाको अधिकांश भू-भाग पूर्वी भागमा ढल्केको छ । पूर्वी भेगको सिमाना पवित्र कालीगण्डकीले दिएको छ । म्याग्दी, पर्वत र वाग्लुङको विचमा कालीगण्डकी वहने हुदा वातावरणिय हिसावले पनि वाग्लुङ राम्रो ठाउँ मानिन्छ । बाग्लुङ जिल्लामा घुमफिर गर्दा प्राय सबै ठाउमा कच्ची भएपनि सडक मार्ग पुगेको छ । कुन पनि गाउँमा खाना बस्न पर्यटकहरुलाई असुबिधा हुँदैन । बाग्लुङमा मध्यपहाडी लोकमार्ग १४० किलोमिटर पर्दछ । बाग्लुङ पर्वतको सिमाना कालिगण्डकी किनारको मालढुङगा देखि लोकमार्गले जोडिन्छ । मध्यपहाडी लोकमार्गले बाग्लुङ जिल्लामा बाग्लुङ बजार, अक्षेते, विरुको रिजालचोक, गलकोट हटिया बजार, नरेठाटी, खर्वाङ बजार, न्वारा खौलार, खाराबजार, भिमघाट, बुर्तिवाङ बजार भएर पुर्वि रुकुमको सिमाना पातिहाल्ने स्थान पार भएपछि लोकमार्गले लुम्विनी प्रदेशमा जोडिन्छ । लोकमार्गमा बाग्लुङमा बाग्लुङ-बेनी सडक, बाग्लुङ नगरपालिकाको बिभिन्न वाडका सडक, अक्षेते र ताराखोलाको ग्रमीण सडक, दुलियामाटी, नरेठाटी, हरिचौर, मल्मपाण्डखानी, रिघा, खर्वाङ सिसाखानीका ग्रामणि सडक पनि जोडिएका छन् । त्यसैगरी ज्याङना, ग्वालीचौर, भिमगिठे दर्लिङ र ढोरपाटनको सडक समेत जोडिएको छ । बुर्तिवाङ भन्दा अगाडी तमानको ग्रामणि सडक र देविस्थानमा सालझुण्डी-ढोरपाटनको सडक पनि मध्यपहाडी लोकमार्गमा जोडिएपछि प्रदेशको सिमाना पातिहाल्ने पुग्दछ ।
ग्रामीण पर्यटकहरुको लागि वाग्लुङ जिल्ला घुमफिरको लागि राम्रो मानिन्छ । प्राय सवै जाती जनजातीहरुको वसोवास भएको जिल्ला हो वाग्लुङ । ग्रामीण क्षेत्रमा बोलीने मिठो स्थानीय भाषाको माध्यमबाट पाहुनाहरुको स्वागत गर्नमा पछि पर्दैनन बाग्लुङका दुर दराज बस्तीका मानिस । वाग्लुङ पुग्ने पर्यटकहरुले अहिल्य नसुनेको स्थानीय भाषाको स्वर भैच्च, खाइच्च, भनिच्च, हनत, भन्ने जस्ता धेरै नया स्थानीय भाषाको अनुभुत गर्न पाउछन । आजभोली वाग्लुङमा ग्रामीणक्षेत्रमा समेत ब्यापारी केन्द्रहरुको सख्या बढेको छ । पुरानो वुर्तिवाङ बजार बिस्तार भएको छ । सडक यातायातले छोएका दुर दराजका वस्तीमा समेत व्यापारी कारोवार बढदै गएको छ । खर्वाङ वजार, शेरा वजार र खार वजारले ग्रामीण बस्तीमा पुग्ने पर्यटकहरुलाई आवस्यक सामान किनमेल र खानाबस्न सहज भएको छ । त्यसैगरी हटिया वजार, हरिचौर, रिजालचोक विहूं वरेङ वजार हुम्दीशिर, खाल वजार भिमगिठेले पनि ग्रामिण बजारको बिस्तार भएको छ।
बाग्लुङ जिल्लाबाट धौरागिरी, माछापुच्छ्र्रे जस्ता प्राकृतीक दृष्यले मनमोहक बनाउने हिमाल देखिए पनि वाग्लुङ जिल्लामा भने हिमाल छैन । तर पनि हिमाली हावापानी, हिमाली भेगमा पाइने वन्यजन्तुको बारेमा अध्ययन गर्न र दृष्यावलोकन गर्नलाई भने ढोरपाटन छ । वाग्लुङ, म्याग्दी, रुकुम र डोल्पा जिल्लाको बिचमा पर्ने ढोरपाटनमा पार्मी ताल, उत्तर गंगा नदीको उदगम क्षेत्र र शिकार आरक्ष पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker