भानुभक्त जन्मस्थललाई संघीय सरकार मातहतमा नै राख्न भानुको निर्णय
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका स्थित चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल बिकास समितिलाई संघीय सरकार मातहतमा नै राख्नु पर्ने भानु नगरकार्यपालिकाले निर्णय गरेको छ ।
नेपालीहरुको भाषिक एकताको प्रतिक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल बिकास समितिलाई नेपाल सरकारले नै स्वमित्व ग्रहण गरी संचालन गर्दा वृहत्तर हित देखिने भन्दै बिकास समितिलाई संघीय सरकार मातहतमा नै राख्नु पर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नगर कार्यपालिकाको आईतबार बसेको बैठकमा नेपाल सरकार मन्त्री परिषद्को गत माघ २५ गतेको निर्णय अनुसार आदिकवि भानुभक्त जन्मस्थल बिकास समिति गठन आदेश २०७७ खारेज गरी उक्त आदेश बमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ती, दायीत्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अबिलम्ब स्वमित्व ग्रहण गर्न संघीय सरकार मार्फत पत्र प्राप्त भएको जानकारी गराइएको थियो ।
उक्त निर्णयानुसार स्थानीय तह मातहत राख्द राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल क्षेत्रको महत्व संकुचन हुन जाने भएकाले सो क्षेत्रलाई बृहत्तर सोचका साथ बिकास गर्नका लागि पुनः बिकास समिति ऐन २०१३ बमोजिम गठन र संचालन गर्न संघीय सरकारमा नै अनुरोध गर्ने निर्णय कार्यपालिका बैठकले गरेका नगर प्रमुख त्रिपाठीले बताए ।
यस्तै, बैठकले नगरपालिकामा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी नाप नक्साको कार्य वडा नं. १ मा सम्पन्न भएको अवस्थामा आगामी चैत्र महिनाबाट पुनः सुचारु गरी यथाश्रि्र छिटो जग्गाधनी प्रमाण-पूर्जा उपलब्ध गराउने निर्णय गरेका छन् ।
ग्रीन आर्मी नेपालसंगको साझेदारीमा सञ्चालन गरिने ग्रीन आर्मी विद्यालय कार्यक्रम सञ्चालन गर्न नगरपालिकाका १३ वटै वडामा ग्रीन आर्मी नेपालसंगको सहकार्यमा विद्यालय सुधार कार्यक्रम तथा विद्यार्थीको गुणत्मक वृद्धि एवं मानसिक क्षमता र अनुशासन अभिवृद्धि गर्ने कार्यक्रम आगामी नयाँ शैक्षिक शत्र २०८१ को बैशाखबाट संचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलले बताए ।
यस्तै, बैठकले प्रहरी चौकी भन्सारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन सम्बन्धित निकायबाट पहल थालनी गर्ने निर्णय भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी गराए ।










