माघ ५, ६ र ७ गते बन्दीपुरको टुडिखेलममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा गरेको छ । यही माघ ५, ६ र ७ गते बन्दीपुर टुडिखेलमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको र प्रतियोगितामा नौ वटा विद्यालयहरूको सहभागिता सुनिश्चित गरिएको छ ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भिम प्रसाद लामिछानेको संयोजकत्वमा हुन लागेको सो प्रतियोगितामा तीन वटा संस्थागत विद्यालय (दीपशिखा, मनास्लु र नोट्र डेम) र छ वटा सामुदायिक विद्यालय (बिष्णु, पवित्रा, भानु, शिव, कालिका र अरुण) सहभागी हुने भएका छन् ।
यसपटकको राष्ट्रपति रनिङ शिल्ड–२०८१ का लागि एक नयाँ अभ्यास सुरु गरिने भएको छ । उद्घघाटन समारोहमा, संस्थागत विद्यालयका स्कुल बसहरूले दुरदराजका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ल्याउने व्यवस्था गरिएको छ ।
दीपशिखा विद्यालयको बसले अरुण विद्यालयका विद्यार्थीहरूलाई, मनास्लु विद्यालयको बसले बिष्णु र शिव विद्यालयका विद्यार्थीहरूलाई र पवित्रा माध्यमिक विद्यालयको बसले कालिका विद्यालयका विद्यार्थीहरूलाई यातायात सेवा दिने निर्णय गरिएको शिक्षा शाखाकी प्राविधिक सहायक सृजना अधिकारीले जानकारी गराइन् ।
नौवटा विद्यालयका खेल शिक्षकहरूको सहभागितामा खेलकुद प्रतियोगितालाई अझ भव्य र सफल बनाउन बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र बहादुर थापा, प्रमुख प्रसासकीय अधिकृत यादवराज आचार्य र पालिका उपाध्यक्ष पंचमाया गुरुङले आ–आफ्ना सुझावहरु दिएका छन् ।
यस कार्यक्रमले बन्दस्पुर गाउँपालिका भित्रका विद्यालयहरूबीच मित्रता र सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।