कालिमर्याङमा माघे संक्रान्ति कप पुरुष भलिबल प्रतियोगिता शुरु

- राजकुमार आले (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी-३ कालिमर्याङ्गमा माघे संक्रान्ति कप पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । होमस्टेको प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई चलायमान बनाई विकास गर्ने उद्देश्यले आयोजित साविक गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलोदिन दुइ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा वनकेवा युनाइटेड र फिर्दी युनाइटेड युथ क्बल ढोरफिर्दीबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त खेल वनकेवाले २५-१८ र २५-२२ को सोझो सेटमा आफ्नो पक्षमा पार्यो । त्यस्तै दोस्रो खेलमा भैरव युवा क्लब भुजिकोटलाई जनचेतना युवा क्लब कोलम्फेले सोझो सेटमा हरायो । जनचेतनाले २५-१६ र २९-२७ ले पराजित गरेको हो । उक्त प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार र सान्त्वनाले ५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका मुल आयोजक समितिका संयोजक विष्णु रानाले जानकारी दिए । प्रतियोगितामा आइतबारसम्म करिब २० समुहको सहभागीता हुने खेल संयोजक इन्द्र वि.कले बताए । प्रतियोगिता आगामी ७ गतेसम्म चल्ने छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ नगर परिषद्का अध्यक्ष विमल जिसी भुजेलले खेलकुद व्यक्तिको क्षमता, गाउँ र राष्ट्र चिनाउने चिनारी भएको बताए । उनले खेल स्वास्थ्यका लागि मात्र नभएर व्यक्ति, ठाउँ र देशका लागि समेत अपरिहार्य रहेको उल्लेख गरे ।
उनले भने हामी छोराछोरीलाई पढेर बस्दा र घरभित्रै बसेर काम गर्दा खुसी हुन्छौँ, तर खेल्न जान लाग्यो भने कति खेलेको भनेर गाली गछौँ, अहिले जमना फेरिएको छ, काम गर्ने बेला काम गर्ने, पढ्ने बेलामा पढ्ने हो तर खेल्ने बेलामा खेल्नु पनि पर्छ । उनले काम र पढाइसंगै खेलकुदलाई पनि समय दिनुपर्ने बताए । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर आलेले युवा तथा जनजातिहरुलाई लक्षित गरेर वडाले विभिन्न कार्यक्रमहरु ल्याएको बताए। वडाले ल्याउने योजना तथा कार्यक्रमहरुबारे वडावासीले चासो राख्नु पर्ने बताउँदै कार्यक्रमका लागि वडाबाट सक्दो सहयोग गर्ने गरी पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी प्रतिष्ठानका सदस्य सचिन भुजेलले वडाले युवाहरुलाई समेट्ने गरी कार्यक्रम ल्याउन नसकेको बताए । उनले खेलकुदमा समेत वडाले प्रभावकारी बजेट विनियोजन गर्न नसकेको भन्दै वडाले भवन निर्माण र बाटोलाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्दै बाटो खन्दैमा र भवन बनाउँदैमा मात्र समृद्धि नआउने र गाउँवासीको आर्थिक उन्नति नहुने बताएका थिए ।
क्लबका अध्यक्ष राजकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा कालिमर्याङ्ग जाम्दीवेंशी टोल विकास संस्थाका अध्यक्ष धनबहादुर थापा, ठुलो पाखा तीन पोखरी सामुदायिक वनका अध्यक्ष केशर थापा, जल्पाबराह आमा समुहकी अध्यक्ष केशकुमारी थापा लगायतले माघे संक्रान्ति कप वडाकै सबैभन्दा ठुलो र नियमित कार्यक्रम भएकाले वडाले यस कार्यक्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा क्लबका कोषाध्यक्ष विरेन्द्र थापाले स्वागत मन्त्व्य र सदस्य सुविना थापाले कार्यक्रमको संचालन गरेकी थिइन् ।










