नयाँ वर्षमा दमौलीमा सांगितिक साँझ
होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षको अवसरमा सांगितिक साँझ गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी नेपाली नयाँ वर्षको अवसरमा सांगितिक साँझ आयोजना गर्न लागेको जनाएको छ ।
चैत्र ३० गते दिउँसोबाट सुरु हुने साँस्कृतिक साँझको कार्यक्रम सञ्चालन गरिने संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराइले बताए । उनले भने, ‘नेपाली नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।’
उनले भने, ‘थोरै पैसामा दमौलीमै रमाउन सक्ने वातावरण सिर्जना गर्न कार्यक्रम गर्न लागेका हौ । विगतका वर्षमा लाइभ कन्सर्ट हुने गरेकामा अहिले भने लाइभ कन्सर्ट हुँदैन ।’ कार्यक्रममा चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने छ ।
त्यस्तै कार्यक्रममा स्थानीय कलाकारलाई पनि अवसर दिइने भट्टराइले बताए । कार्यक्रमका लागि २ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
संघका अध्यक्ष गिरबहादुर थापाले नयाँ वर्ष मनाउन अन्यत्र जाने वातावरण रहेकामा स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न कार्यक्रम गरिएको बताए । सोही अवसरमा संघको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।