गीत मार्फत ऋषिङ, अर्चले झिरूबास गाउँको चिनारी
भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिका र स्थानीय अर्चले झिरुवास गाउँलाई गीत मार्फ प्रचार प्रसार गरिएको छ । बसन्ती लालचनको शब्द, रेशम गुरुङको शब्द संयोजन तथा रिमा गुरुङको स्वरमा ‘ऋषिङ अर्चले झिरुवास गाउँ’ बोलको गीत युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मध्य पहाडी भेगका गुरुङ गाउँहरुमा पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षणका लागि सामाजिक स्तरबाट बिभिन प्रयासहरु गरिएको पाइन्छ । समय अनुकुल हुने सांस्कृतिक मेला महोत्सवले यस क्षेत्रमा सदियौंदेखि मनाउदै आएका मौलिक संस्कृतिहरु जस्तै घाँटु, चुड्का अजै पनि जिवितै रहेको पाइन्छ ।
प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक बिबिधता रहेको यस ठाउँमा अन्तरिक तथा बाहय पर्यटक आकर्षण गर्न पूर्बधार बिकास संगसंगै प्रचारप्रसारमा यस्ता सांगितिक प्रस्तुतीले टेवा पुग्ने गीतका शब्द संयोजक रेशम गुरुङ बताउँछन् ।
‘अहिलेको आधुनिक समयमा प्रचार प्रसारको मुख्य हतियार भनेकै श्रव्य दृश्य सामग्री हो’, उनले भने, ‘गाउँ वरपरका पर्यटकीय तथा धार्मिक स्थलतथा मौलिक संस्कृतिहरु समावेश भएका शब्द अनि सुन्न र सुने नाचौ नाचौं बनाउने लय/संगीतमा बनेका सयौं गाउँ चिनारी गीतहरु निर्माण भैसकेका छन् ।’
दुर्गा गुरुङको संगीत/एरेन्ज रहेको गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भेष गुरुङको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन/रङ संयोजन र पर्सन गुरुङले निर्देशन गरेका यस गीतमा ऋषिङ अर्चले झिरूबास क्षेत्रका मनोरम दृश्यहरुसंगै स्थानीय युवातीहरुको मौलिक नृत्य रहेको छ ।










