मुग्लिन-पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, ११ वटा निर्माणाधीन

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पुल निर्माण धमाधम भइरहेको छ । आँबुखैरेनी-पोखरा खण्डलाई दुइ भागमा विभाजन गरी बिस्तारको काम भइरहेको छ। आँबुखैरेनी-जामुनेलाई पूर्वी खण्ड र जामुने-पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तार कार्य भइरहेको छ ।
पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।
तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्डमा ४१.७ किलोमिटर र पश्चिम खण्डको ३८.८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले बताए। उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ । यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ । यस खण्डमा हालसम्म १८ किमी चार लेन र ९ किमी दुइ लेन सडक कालोपत्र भइसकेको छ ।
यस्तै, पश्चिम खण्डमा करिब २ हजार २ सय विद्युत् पोल हटाउनु पर्नेमा करिब ५० प्रतिशत हटाइएको छ । यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ । यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताए । उनले भने, ‘राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ, तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ ।’










