पत्रकार काफ्लेको “राष्ट्रिय गीत” म्यूजिक भिडियो विमोचन

पत्रकार प्रदीप काफ्लेद्वारा रचित राष्ट्रिय गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ । भारतीय सांगितिक क्षेत्रका हस्ती प्रसिद्ध संगितकार एवं गायक बप्पी लहरीले स्वर दिएका उक्त गीतको आइतबार एक कार्यक्रमका बीच वरिष्ठ पत्रकार युवराज घिमिरे र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले विमोचन गरेका थिए ।
पत्रकार घिमिरेले राष्ट्रिय गीतले नेपाल र भारत बीचको प्रगाढ सम्बन्ध थप बलियो बनाउन उत्प्रेरित गर्ने बताए । उनले भने, ‘नेपालको मौलिक भाषा, कलासंस्कृति, परम्परागत मूल्य र मान्यता, रीतिरिवाज, जातीय, धार्मिक क्षेत्रलाई गीतमा समेटिएको हुँदा यसले छुट्टै महत्व बोकेको छ ।’ ‘मुलुकले मलाई के दियो भन्नु भन्दा पनि मुलुकलाई मैले के दिए भन्ने सकारात्मक सोचको विकास गर्नुपर्छ’, उनले भने, ‘राष्ट्रभाव, राष्ट्रियता प्रतिको मोह, समाजबाद शैली, राष्ट्रियताको संरक्षण र न्याय बिनाको शान्ति सम्भव छैन।’
यस्तै, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देशको सामाजिक, आर्थिक र साँस्कृतिक पक्ष झलकाउने उक्त गीतले राष्ट्रियता प्रति सकरात्मक सन्देश दिन खोजेको बताए ।
बाराही मिडिया प्रालिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सभापति समेत रहेका काफ्लेद्वारा रचित ‘जहाँ रहे नि, जहाँ भए नि, हामी एउटै धर्तीको सन्तान’ बोलको गीतमा भारतीय गायक बप्पी लहरीले नेपाली गीतमा पहिलो स्वर दिएका हुन् । उक्त म्यूजिक भिडियोको निर्देशन निर्मल शर्मा र बिबि अनुरागिले संगित दिएका छन् ।