‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ?

लोकप्रिय ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । वर्षौं बित्दा पनि इमानको मान्छे नभेटिएको भन्दै सामाजिक विसंगती माथि कटाक्ष गरेको छ ।
‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ?
करिव छ वर्षअघि नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यो गीत रचेका थिए । ‘म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो । त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ,’उनले भने,’केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यो रुपमा उभियो ।’
ब्यान्डलाई व्यवस्थापन गर्दै आइरहेको नेपालयको कालिका स्थानस्थित स्टुडियोमा यो गीतको रेकर्डिङ गरिएको हो । साउन्ड इन्जिनियर इमनविक्रम शाहले गीतको रेकर्डिङमा सघाएका हुन् । नेपथ्यकै चर्चित गीत ‘रेशम’ बनाएका नवीन जोशीले यो गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा कन्सर्टमा झैं मञ्चमा उभिएर गुरुङ माइकअघि गाइरहन्छन् ।
मन्त्रपाठसहितको यो गीतको भिडियोमा निर्देशकले पत्रिकाका कटिङलाई पनि नेपथ्यको पूरा गरेको यात्रा सँस्मरणका रुपमा प्रयोग गरेका छन् । नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो गीत सार्वजनिक गरेको हो । गत वर्ष यसै एल्बमको ‘भटभटे’ सार्वजनिक गरेको थियो । ‘पचासै वर्षमा’ले गीतको अन्त्यमा इमानको मान्छे भेटिने कल्पना गरेको छ ।










