ऋषिङ क्षेत्रको लोकभाकालाई समेटिएको ‘दिल बस्यो साइँली ऋषिङ कोटैमा’ गीत सार्वजनिक

तनहुँ । विशेष गरी गुरुङ मगर समुदायको लोकसंस्कृतिमा आधारित कौरा÷चुड्का गीतको उद्गमस्थल तनहुँको ऋषिङ क्षेत्रको लोकभाकालाई समेटिएको ‘दिल बस्यो साईली ऋषिङ कोटैमा’ बोलको दोहोरीगीत सार्वजनिक गरिएको छ ।
चर्चित गायिका निता गुरुङले उक्त लोकदोहोरी गीत बजारमा ल्याएकी हुन् । ‘गोरखाली लोक भाका’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा नितासँगै राजु गुरुङ र विरु लामाको स्वर रहेको छ ।
गीतको शब्द गणेश गुरुङ तथा संगीत रेशम गुरुङ र हरि महतको रहेको छ । भिमु गुरुङ, रेजिना परियार र गणेश गुरुङले पनि लोकदोहोरी गीतको आवाजमा साथ दिएका छन् ।

ऋषिङ गाउँपालिकाका सुन्दर पर्यटकीय क्षेत्रलाई गीतको म्युजिक भिडियोमा समेटिएको छ । भिडियोमा मनोज गुरुङ र पवित्र गुरुङको अभिनय रहेको छ ।
निर्देशन÷कोरियोग्राफर मनाङ गुरुङ तथा असिस्टेन्ट कोरियोग्राफर सन्तोषी गुरुङ रहेका छन् भने सिनेमाटोग्राफर खेम थापामगर र सम्पादन मेकबहादुर थापाले गरेका छन् ।
सुमधुर आवाजकी धनी निताका यसअघि ‘माया भए सानु कुरा’, ‘माछी खोलीमा’, ‘बेँसी बेलघारी’, ‘सुनकोसी पूर्व पर्यो कि’, ‘पानीमाथि सकिन तैरिन’ लगायतका लोकदोहोरी तथा झ्याउरे गीतहरू बजारमा ल्याएकी छन् ।









